• २८ वैशाख २०८२, आइतबार

विद्यार्थीले पाएनन् खाजाको रकम

blog

चरीकोट समाचारदाता

चरीकोट, फागुन २१ गते । सामुदायिक विद्यालयमा अध्ययरत बालबालिकालाई दिवा खाजाका लागि प्रदान गरिने रकम अझै पनि दोलखाको तामाकोशी गाउँपालिकाभित्रका सरकारी विद्यालयले पाउन सकेका छैनन् । 

गाउँपालिकाका सामुदायिक विद्यालयमा अध्ययरत बालबालिकालाई खाजाबापत दैनिक १५ रुपियाँका दरले रकम केन्द्रबाट पठाइए पनि आठ महिना बितिसक्दा पनि हालसम्म उपलब्ध हुन सकेको छैन ।

बाल विकासदेखि कक्षा ६ सम्मका विद्यार्थीले दिवा खाजाबापतको रकम नपाएको विद्यालयका प्रधानाध्यापकले गुनासो गर्नुभएको छ । विगतका वर्षमा चौमासिक रूपमा खाजाबापतको रकम आउने गरेकोमा यो वर्ष अहिलेसम्म नआएको अभिभावक राजकुमार माझीले बताउनुभयो । आफ्ना दुई बच्चाको खाजाबापत आउने रकमबाट छोराछोरीलाई विद्यालयमा खाजा पठाउने गरेकोमा यो वर्ष समयमा रकम नआउँदा समस्या भएको उहाँको भनाइ छ । 

तामाकोशी गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत करिब एक हजार पाँच सयभन्दा बढी विद्यार्थीले खाजाबापतको रकम पाउने गरेका छन् । विद्यालयमा विद्यार्थी आकर्षित गर्न प्रारम्भिक बाल विकासदेखि कक्षा ६ सम्म सरकारले दिवा खाजा कार्यक्रम लागू गरेको छ तर व्यवहारमा अधिकांश विद्यालयले दिवा खाजाको सट्टा अभिभावकलाई नगद वितरण गर्ने गरेका छन् ।

तामाकोशी गाउँपालिकाका शिक्षा शाखा प्रमुख मेनुका बास्कोटाले प्रमुख प्रशासकीय अधिकृत नभएका कारण खाजाबापतको रकम निकासा नभएको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत आएपछि निकासा गरिने उहाँले बताउनुभयो ।