• १९ असार २०८१, बुधबार

अस्पताल निर्माणको काम अलपत्र

blog

रामेछाप समाचारदाता

रामेछाप, फागुन २१ गते । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–२, दोरम्बामा निर्माणाधीन १५ शय्या दोरम्बा अस्पतालको निर्माण काम एक वर्षदेखि रोकिएको छ । निर्माण कम्पनीले १५ प्रतिशत पनि काम नसक्दै गत फागुन महिनादेखि अस्पतालको निर्माण काम छाडेपछि अलपत्र बनेको हो । 

अस्पताल निर्माणका लागि आरोग्य सुवेदी जेभीले २०७८ को चैत १६ गतेसम्ममा भ्याटसहित ११ करोड ३० लाख ११ हजार ४६० रुपियाँको लागतमा काम सम्पन्न गर्ने गरी २०७७ चैत १७ गते ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीले दुई करोड २६ लाख रुपियाँ पेस्की र त्यस्तै पहिलो बिलको ८२ लाख ४७ हजार ४५१ रुपियाँ भुक्तानी लिइसकेको छ भने दोस्रो अन्तिम बिल ४६ लाख १३ हजार रुपियाँ भुक्तानीको तयारी गरेको थियो । 

निर्धारित समयमा काम सम्पन्न नगरेपछि दोरम्बा शैलुङ गाउँ कार्यपालिका बैठकले पहिलो पटक २०७८ असोज १६ गतेसम्म म्याद थप गरेको थियो । त्यो अवधिमा पनि काममा कुनै प्रगति 

नभएको अवस्थामा गाउँ कार्यपालिकाले एकै पटक आगामी २०८० असार २४ गते सम्मका लागि म्याद थप गरेको छ । 

अहिले निर्माण कम्पनी सो स्थानको निर्माण सामग्रीसमेत उठाएर अन्यत्रै लगेको छ । भवनको जग राखेर केही पिल्लर उठाउने बाहेकको काम नभएको र लामो समयदेखि त्यत्तिकै छाडेको फलाम खियाले खाएर काम नलाग्ने अवस्थामा पुगेको गैरसरकारी संस्था महासङ्घ नेपाल रामेछापका अध्यक्ष रत्नप्रसाद कँडेलले बताउनुभयो । 

निर्माण कम्पनीको काम गर्ने नियत देखिएन, त्यसैले यसका विरुद्ध सम्बन्धित निकायमा निवेदन गर्छौँ, उहाँले भन्नुभयो । रकम अभाव भएको भन्दै निर्माण कम्पनीले गत फागुन महिनादेखि 

अस्पताल निर्माणको काम रोकेर अलपत्र बनाएको दोरम्बा शैलुङ गाउँपालिका अध्यक्ष मैनकुमार मोक्तानले बताउनुभयो ।

“जति ताकेता गरे पनि निर्माण कम्पनीले टेरेन, अब प्रमुख जिल्ला अधिकारीको रोहबरमा निर्माण व्यवसायीलाई झिकाएर कुरा गर्ने तयारी भइरहेको छ, यसका लागि गाउँपालिकाले आवश्यक प्रक्रियाको थालनी गरिसकेको छ,” उहाँले भन्नुभयो ।