• १० मंसिर २०८१, सोमबार

त्यो समय यो समय

blog

अकस्मात हुनु र फलदायी हुनु सृष्टिको सबैभन्दा सुन्दर पक्ष हो भन्ठान्छु म । कल्पनातीत हुनु र कालो बादलमा चाँदीको घेरा भेटिनु समयले सिर्जना गरेको मानवोचित मूल्य हो भन्ठान्छु म । सबै काम योजनाबद्ध हुँदा रहेनछन् । सबै काम सोचेअनुसार पनि हुँदा रहेनछन् ।

नसोचेको हुनु र सोचेअनुसार नहुनु पनि मानव मात्रका नियति र प्रकृति हुन्जस्तो लाग्छ । यसो नभएको भए एउटा विवाह महोत्सवमा तीर्थयात्राको कुरा किन उठ्थ्यो र निर्णायक रूप लिन्थ्यो ? यो नसोचेको र कल्पना नगरेको कुरा त थियो । 

तीर्थयात्राको प्रसङ्गले मस्तिष्कमा तरङ्ग उत्पन्न हुनु र त्यस तरङ्गलाई निर्णायक बनाएर मनलाई शान्त जलाशयमा परिणत गराउन सक्नु पनि मेरो आत्मनिर्णय थियो तर निर्णयहरू सबै सकारात्मक हुन्छन् भन्ने छैन । कहिले गलत निर्णय गर्न पुगिन्छ र दुःख पाइन्छ तर एउटा अध्यात्मवादीले ईश्वरको अस्तित्वप्रति आस्था जगाएर जुन निर्णय गर्छ, त्यो निस्फल हुँदैन । 

मैले जानेर वा नजानेर जुन निर्णय गरेँ, त्यस निर्णयले मलाई सकारात्मक मार्गतिर डो-यायो । हो, एउटा बिहे भोजमा केही तीर्थयात्रा र केही अवलोकन यात्राको प्रसङ्ग नउठेको भए मैले यति लेख्ने सौभाग्य पाउने थिइनँ ।

मलाई अहिले लाग्दै छ, मैले सही निर्णय गरेँ र ५० वर्षअघि देखेका दृश्यलाई पुनरवलोकन गर्ने मौका पाएँ । ५० वर्ष भनेको मानवले पाएको उमेरको आधा जीवन हो । ५० वर्षअघि देखेको वस्तु र भोगेका अनुभवलाई ताजा बनाउनु र यस कालखण्डमा भएका परिवर्तनलाई आत्मसात् गर्न पाउनु भनेको मानवले पाउने दुर्लभ उपलब्धि हुन् । म अहिले ती दृश्य र घटनाक्रमलाई एक–एक गरेर नियालिरहेछु र संस्मरण गरिरहेछु । म अहिले भारतको ऋषिकेश, हरिद्वार र देहरादुनको परिभ्रमणमा छु । देहरादुनबाट ऋषिकेशतिर लाग्दै गर्दा म ५० वर्षअघिका दृश्य खोज्छु तर केही पनि पाउँदिनँ । ठाउँको नाम सम्झना हुन्छ तर खहरे खोलाबाहेक अन्य संरचनाको पहिचान हुन सक्तैन । उखुका डिहीहरू देखिन्छन्, बारीको डिलमा लहरै रुख उभिएका देखिन्छन्, तिनीहरू उस्तै उस्तै लाग्छन् तर बाटोको विस्तारले गर्दा म कहाँनेरका दृश्यहरू अवलोकन गर्दै छु, अत्तोपत्तो हुँदैन ।

वाराणसी विश्वविद्यालयको सम्बन्धन प्राप्त विद्यालयमा पढ्दा म ऋषिकेशबाट परीक्षा दिन कम्तीमा पनि पाँच वर्षमा पाँच पटक हिँडेको दुई लेनको बाटो । त्यस बाटोमा कहाँ कस्तो मोड थियो, कहाँ कस्तो पुल थियो, कण्ठस्थै भन्न सक्थेँ म तर अहिले भने कतै छ लेन र कतै चार लेनको बाटो छ । विरलै गुड्ने त्यसबेलाका बस मोटर अहिले बाटै ढाकेर निर्वाध कुदिरहेका छन्, म जिल्ल परेर हेरिरहेको छु । ढोइवालाबाट हरिद्वार ऋषिकेशको बाटो छुट्टिएपछि बाटो साँघुरिँदै जान्छ, अलि अलि थाहा पाउन थाल्छु तर रेलवे स्टेसन कहाँनेर हो ? मुख्य सहर छिचोलियो कि छिचोलिन पाएको छैन ? मेरो मस्तिष्कले खुट्याउन सक्तैन ।

म एकाएक कैलाश आश्रम पुग्छु । त्यो आश्रम, म ऋषिकेश बजारबाट लक्ष्मण झुला जाँदा बीचमा भेटिने महामण्डलेश्वरद्वारा संरक्षित शिवानन्द आश्रम । अब पो मेरा आँखा खुल्छन्, सहरको बाटो भएर त कहाँ आउन मिल्दो रहेछ र ? अहिले त सहरबाहिरबाट अर्को सडक बनेको रहेछ, काठमाडौँ उपत्यकाको बाह्य चक्रपथजस्तो ! मानौँ, बिजुली अड्डाको बसस्टप गोङ्गबुमा सरेजस्तै सरेछ, ऋषिकेशको सक्रिय बसपार्क शिवानन्द आश्रम ।

म देख्दै छु, त्यसै बसपार्कसँगै जोडिएर गङ्गा पारिपट्टि स्वर्गाश्रम जाने विशाल पक्की पुल बनेछ । दुई वर्षअघि मात्र निर्माण भएको त्यो पुलको नाम जानकी पुल । त्यहाँभन्दा अलिकति माथि सन् १९८५ (मैले ऋषिकेश छोड्नुभन्दा १० वर्षपछि)मा बनेको रहेछ– अर्को झोलुङ्गे (रामझुला) पुल । म त अहिले नेपाली तीर्थयात्रीसँग जोडिएर ५० वर्षपछि ऋषिकेश पुगेको मानिस । आफू पाँच वर्ष बसेको ठाउँमा म आफैँ बिरानो हुन्छु । ऊ बेला मेरा पिता बद्रीनाथ जाने क्रममा ऋषिकेश पुग्दा गाइड बनेर पितालाई घुमाएको ठाउँमा म अहिले गाइडको सहारा लिँदै छु । 

जानकी पुलबाट हाम्रो समूह गाइडकै निर्देशनमा परमार्थ निकेतन पुग्छ । म तुलसीदासकृत रामायणका दोहाले भरिएका भित्तामा दृष्टि प्रक्षेपण गर्छु । गीता आश्रम पुग्छु, अठार अध्याय गीताका श्लोकले भरिएका भित्ता त्यसैगरी अवलोकन गर्छु । वेद निकेतन पुग्छु, वेद र उपनिषद्का केही मन्त्र पढेर मन शुद्धि गर्छु । ५० वर्षअघिका केही संरचनामा र केही नवनिर्मित संरचनामा मेरा दृष्टि फनफनी घुम्छन् । ठाडो टुप्पी बनाएर मिठाई पसलअघि बसेका ५० वर्षअघिका चोटीवाला अहिले पनि त्यसैगरी ठाडो टुप्पी बनाएर बसेका देखिन्छन् तर पहिले देख्न नपाएका विशालकाय हनुमान अहिले गङ्गाको तटमै छाती फारेर राम र सीतालाई छातीभित्र देखाएर उभिएका रहेछन् । देखेर गौरव लाग्छ ।

हामी लक्ष्मणझुला पुग्दैनौँ । म ऊ बेला पुगेको १२ किलोमिटरमाथि नीलकण्ठ महादेवको दर्शन गर्न पुग्ने कल्पना पनि गर्न सक्तैनौँ । ५० वर्षअघि भागीरथी गङ्गा वारिपारि गर्ने एक मात्र साधन लक्ष्मणझुला पुल र केही इन्जिनयुक्त मोटरबोट भएकामा अहिले लक्ष्मणझुला (पुल) जीर्ण भएको रहेछ । जानकी पुल र मोटरबोटबाट यात्रीलाई वारिपारि गर्न असुविधा रहेनछ । हामी पनि त्यहाँका अन्य आकर्षक स्थलमा सरर घुमेर रामझुलासमीपमा रहेको गङ्गाआरती स्थलमा ध्यानमुद्रामा बसेका शिवजीलाई दर्शन गर्दै वारि आयौँ ।

हरिद्वारतर्फ फर्कंदा मलाई चार किलोमिटर वरको ऋषिकेश बजार छिर्ने मन छ । पाँच वर्ष बसेको विवेक आश्रम र पाँचै वर्ष पढेको भजनाश्रम विद्यालय हेर्ने मन छ । मैले प्रत्येक दिन बिहान नुहाउने गरेको त्रिवेणीघाट पुग्ने मन छ । मैले दर्शन गर्ने गरेको मायाकुण्डको हनुमान मन्दिर र भारतमाताको मन्दिरमा गएर देवदेवीको दर्शन गर्ने मन छ तर विवश छु, त्यो इच्छा पूर्ति गर्न मैले साथीको साथ 

छोड्नुपर्दछ । बेलुकाको हाम्रो विश्रामस्थल हरिद्वार लक्षित भएकाले हामी हरिद्वारतर्फ प्रस्थान गर्र्छाैं । पहाड र जङ्गलको साँघुरो बाटो मेरो स्मृतिमा झल्झली आइरहन्छ तर त्यस बाटोको तत्कालीन प्रतिविम्ब केही पनि भेटिँदैन । जङ्गल पनि देखिँदैन र सडकलाई अवरोध गर्ने थुम्के पहाड पनि भेटिँदैनन् । खेलकुद र शैक्षिक प्रतियोगितामा भाग लिन बारम्बार हरिद्वार र ऋषिकेश गरेको मानिस, कुम्भ मेला र पर्वमा सम्मिलित हुन दुई सहरको यात्रा गरिरहेको मानिस, म आफैँलाई नौलो नौलो महसुस हुन्छ । सहभागी सोध्छन् तर म केही भन्न सक्तिनँ ।

ऋषिकेशमा बाह्य रोड निर्माण भएजस्तै हरिद्वार रोड पनि नितान्त फरक चार लेनको बनेको रहेछ । बीच–बीचमा ठूलाठूला आश्रम, विद्यालय र विश्वविद्यालय स्थापित भएका रहेछन् । बीचको जङ्गल नै मासिएर ऋषिकेश हरिद्वार सहर नै झन्डै जोडिन लागेछ ।

हरिद्वार पुग्छु, हरिद्वारजस्तो देखिन्न । म ऋषिकेशबाट बस चढेर हरिद्वार जाँदा ‘हर की पौडी’ देखेरै सहर प्रवेश गर्थें । अहिले कुन्नि कताकताबाट बाटो बनेछ । म कहाँ पुगेर अडिएँ, चिन्दै नचिनेको कुन होटलमा बसेँ र बजारको बाटो झन्डै दुई किलोमिटर हिँडेर हर की पौडी पुगेँ, मेरो मस्तिष्कले भेउ पाएन । कति विस्तार भएको बजार ! कति घना भएको बजार ?

हर की पौडीमा एउटा घण्टाघर उभिएको थियो । मानिस त्यही घाटमा नुहाउँथे । पूजापाठ गर्थे र श्राद्धकर्ममा जुट्थे । कुम्भमेला हुँदा काठेपुल बनाइन्थे र तीर्थालु वारिपारि भएर मेलाको रौनकता थप्थे । अहिले भने पुलैपुल । तल पुल, माथि पुल, सवारीसाधन गुड्ने पक्की पुल, मानिस हिँड्ने पुल । ऋषिकेशमा बस्दा म पनि एक पटक हरिद्वारको बाह्रवर्षे कुम्भमेलामा सम्मिलित भएको थिएँ र समूहबाट छुट्टिएर एक्लै ऋषिकेश फर्केको थिएँ ।अहिले झन्डै त्यही कुम्भमेला सम्झाउने भीड गङ्गाआरतीमा हुँदो रहेछ । पहिले आरती गर्ने चलन थिएन । कहिलेदेखि सुरु भयो कुन्नि यो चलन ? यहाँ मात्र हो र ! ऋषिकेशको रामझुलामा, बनारसको दशाश्वमेघघाटमा र त्यही सिको गरेर हाम्रै पशुपतिमा ।

म त महाआश्चर्यमा त्यस बेला परेँ, जब हाम्रो समूहलाई पण्डाले व्यवस्थित घाट भएको, शान्त र सीधा भएर जलप्रवाह भएको नदीमा पु-याए ।

“कहाँ आयौँ हामी ? कुन नदी हो यो ?”

“भागीरथी गङ्गा ।”

अहिले त गङ्गाको पानी नहरमा हालेर अर्काे गङ्गा बगाइएछ र त्यसै गङ्गारूपी नहरका तीरमा घाटैघाट बनाइएछ । सुविधासम्पन्न र व्यवस्थित बनाइएको कुरालाई सकारात्मक रूपमा लिने एउटा कुरा, नदीको स्वाभाविक प्रवाहलाई अवरुद्ध गरेर कृत्रिम नदी र घाटको निर्माण गरिनु अर्कै कुरा । म भने यो वैज्ञानिक एवं आधुनिक पद्धतिसँग पटक्कै सहमत हुन सक्तिनँ । मलाई त गङ्गामा नुहाएजस्तो पनि लागेन र श्राद्धको सार्थकतामाथि पनि विश्वास जागेन ।

त्यो समय र यो समय ! म आश्चर्यमा परेँ, आधा शताब्दीको अन्तरालमा यति ठूलो परिवर्तन ? आफूले देखिरहेको परिवर्तन र चिरकालपछि एकैचोटि देखेको परिवर्तन तुलना गर्न नसकिँदो रहेछ तर विकासको यति ठूलो फड्को म नेपालमा भएको देख्दिनँ । घरैघरले उर्वरा जमिन सकियो, यो त परिवर्तन भएन नि !

५० वर्षअघि घुमेको बिहार, उत्तर प्रदेश, दिल्ली र हरियाणाको फेरो मार्दै म अहिले उत्तराखण्डमा आइपुगेको छु । दुई लेनभन्दा फराकिला बाटा नदेखेको मैले भारतका प्रान्त–प्रान्त जोड्ने चार, छ, आठ लेनका बाटा निर्माण भएको देख्दै छु । हाम्रो चुरे पहाड मरुभूमि भएको रहस्य त अहिले पो बुझ्दै छु । मैले त्यस्ता सडक त नेपालमा एक सय किलोमिटर पनि बनेको देखेको छैन र पूर्वपश्चिम महापथ पनि आजसम्म चार लेन देख्ने सौभाग्य पाएको छैन । 

यो सबै देख्दा मलाई प्रश्न गर्न मन लाग्यो– त्यो समय र यो समय, नेपाल र भारतले भोग गरेको एउटै समय होइन ?