• २८ वैशाख २०८२, आइतबार

शिक्षा र स्वास्थ्य क्षेत्रमा ठूलो लगानी भएकाे छ : कार्यवहाक अध्यक्ष डा. फुँयाल

blog

काठमाडौ, फागुन १९ गते । राष्ट्रिय योजना आयोगका कार्यवहाक अध्यक्ष डा. रामकुमार फुँयालले नेपालको अर्थतन्त्रलाई रुपान्तरण गर्ने गरी अगाडि बढेको बताउनुभयो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सहकार्यमा तराई विकास तथा सञ्चार केन्द्र नेपालले आज राजधानीमा गरेको “नेपालमा प्राविधिक शिक्षाको अवस्था, रोजगार सृजनामा सञ्चार क्षेत्रले खेल्न सक्ने भूमिका” विषयक कार्यक्रममा बोल्दै कावा उपाध्यक्ष फुँयालले सो कुरा बताउनुभएको हो ।

उहाँले नेपाल सरकार सामाजिक–आर्थिक रुपान्तरणसहित समतामूलक, लोककल्याणकारी, न्यायपूर्ण र समावेशी समाज निर्माणको अभियानमा जुटेको जिकिर गर्नुभयो ।

‘राज्यले केही गर्दै नगरेको र केही हुँदै नभएको होइन शिक्षा र स्वास्थ्य क्षेत्रमा ठुलो लगानी भइरहेको छ । जसअन्तर्गत मानव संशाधनको विकास गर्ने, त्यसको सही ढँगबाट परिचालन गर्ने र पूर्णरुपमा व्यवस्थापन गर्दै मुलुकलाई समृद्धितर्फ अगाडि बढाउने राष्ट्रिय सोँच रहेको छ । अहिले भएकै चीजहरुबाट धेरै कुराको समाधान गर्न सकिन्छ ।’

नेपाली जनतालाई सुख र खुसी प्रदान गर्नकै लागि नेपाल सरकार केन्द्रित भएर काम गरिरहेको बताउँदै अबको अर्थनीति उत्पादन, रोजगारी सिर्जना र उद्यमशीलता बढाउनेतर्फ केन्द्रित रहने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि बजेट सिलिङ तयार गरेका छौं, जसमा बजेटको आकार घटाइएको भए पनि आगामी आर्थिक वर्ष २०८०र८१ लागि तयार भएको बजेटमा उत्पादन, रोजगारी सिर्जना र उद्यमशिलतालाई फोकस गरिएको छ ।’’

कार्यवहाक उपाध्यक्ष फुयाँलले राष्ट्रिय योजना आयोग एउटा थिङ्क ट्यांक भएको बताउनुभयो । ‘राष्ट्रिय योजना आयोगले बजेट बनाउने, नीति बनाउने र नीतिहरु तर्जुमा गर्ने र आवधिक योजनाहरु निर्माण गरेर त्यसलाई स्वीकृत्तिपश्चात् कार्यान्वयनमा पठाउने गर्दछ । समग्रमा भन्नुपर्दा देशको भोलीको भविष्य कस्तो हुन्छ भन्ने पिक्चर तयार गर्दछ’ उहाँले भन्नुभयो ।


राष्ट्रिय योजना आयोगले कार्यान्वयनमा गएका महत्वपूर्ण योजनाहरु कार्यान्वयनमा गयो गएन भनेर अनुगमन र समन्वयको काम समेत गरिररहेको छ । 

श्रम बजारमा हरेक वर्ष ५ लाख मानिस बाहिर आइरहेका छन् ती मानिसहलाई कसरी व्यवस्था गर्ने ? यस विषयमा सही सूचना राख्नुपर्नेमा उहाँको जोड थियो ।

‘राज्यको तर्फबाट कति रोजगारी सिर्जना भयो रर निजी क्षेत्रमा कति रोजगारी सिर्जना भए र?’ भन्ने विषयमा स्पष्ट सूचना हुनुपर्दछ ।’ यद्यपि नेपालमा सरकारी स्तरबाट भन्दा बाहिरबाट बढी रोजगारीको सिर्जना हुने गरेको उहाँको बुझाई रहेको थियो ।

श्रम तथा रोजगार क्षेत्रलाई व्यवस्थित गराउन सरकारका अन्तर मन्त्रालयबीच समन्वयकारी भूमिका प्रभावकारी रहनुपर्नेमा उहाँको जोड थियो । 

नेपालको सञ्चार क्षेत्रको विषयमा कुरा गर्दै कावा उपाध्यक्ष फुयालले मुलुकको समृद्धिका लागि सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले डिजिटल प्लेटफर्म रोजगार बैंकको स्थापना गरी रोजगारदाता र श्रमिकलाई जोड्ने काममा मन्त्रालय लागि परेको बताउनुभयो ।

पछिल्लो समय रोजगारदाता र श्रमिकबीच सम्पर्क हुन नसक्दा श्रमिकले काम पाउन नसकेको र रोजगारदाताले श्रमिक पाउन नसकेको अवस्था विद्यमान रहेको भन्दै रोजगार बैंकको स्थापनासँगै यो समस्या समाधान हुने सचिव अर्यालले दाबी गर्नुभयो ।

सचिव अर्यालका अनुसार दैनिक २ हजार ५ सयको हाराहारीमा मानिसहरु विदेशिइरहेका छन् । त्यो बाध्यता हो । विदेशिने बाध्यता न स्वयम् व्यक्तिको हो न राज्यको । तर मानिसहरु बढी अवसरको खोजीमा हुन्छ । बढी आम्दानीको आशामा मानिसहरु विदेशिने उहाँको भनाइ छ ।

उहाँले मन्त्रालयले सञ्चालनमा ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारिताको बारेमा जानकारी गराउनुभएको थियो ।

सचिव अर्यालले बेलायत सरकारले दसौं हजार दक्ष नर्सिङ जनशक्तिको माग गरिरहेको छ तर हाम्रो नर्सिङ कलेजहरु बन्द छन् यो राम्रो होइन तत्काल नै बन्द नर्सिङ कलेजहरु सुचारु गर्ने वातावरण बनाउन जोड दिनुपर्‍यो भन्नुभयो ।

शिक्षा सचिव रामकृष्ण सुवेदीले स्वदेशमा भएका प्राविधिक जनशक्तिलाई नेपालमै रोजगारी दिनुपर्नेमा जोड दिनुभयो । नेपाल सरकारले लगानी गरेर उत्पादन गरेका जनशक्तिलाई हामीले विदेश जान उत्प्रेरित गरिरहेका छौं । यो किन भईरहेको छ भन्ने गम्भीर प्रश्न गर्नुभयो ।

त्यसैगरी, कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले उत्पादन भएका जनशक्तिलाई समेत नेपालमै रोजगारी दिन नसकिएको बताउनुभयो । ‘नेपालमा जनशक्तिको आवश्यकता भएपनि ती जनशक्तिलाई स्वदेशमै रोजगारी दिन सकिएको छैन’ उहाँले भन्नुभयो, ‘नेपालमा पारिश्रमिकको विषयमा पुनर्विचार गर्नुपर्दछ ।’

कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चारमाध्यमहरुलाई सत्य, तथ्यमा आधारित भई पत्रकारिता गर्न आग्रह गर्नुभयो ।

अन्य क्षेत्रमा अटाउन वा प्रवेश गर्न नसकेपछि सञ्चारकर्मी बन्ने गरेको भन्दै अब त्यस्ता कार्य निरुत्साहित हुने जिकिर गर्नुभयो । ‘पत्रकारिताको प थाहा नभएका व्यक्ति पत्रकार बन्ने, अन्य पेशामा नटिकेकाहरु पत्रकार बन्ने कामलाई प्रेस काउन्सिलले निरुत्साहित गर्दछ ।’

सिटिईभिटीका सदस्यसचिव जीवनारायण काफ्लेले कानुनले निर्दिष्ट गरेका विषयहरुमा प्रतिवद्ध भई सिटिईभिटीले काम कारबाही अगाडि बढाएको बताउनुभयो । 

कार्यक्रममा सूचना तथा प्रविधि मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदी, उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारी, बैदेशिक रोजगार विभागका महानिर्देशक, उमाकान्त आचार्य राष्ट्रिय चिकित्सा शिक्षा आयोगका सदस्य सचिव भोजराज काफ्ले लगायतले मन्तव्य राख्नुभएको थियो ।

साथै फोरम फर हेल्ड एण्ड टेक्निकल साइन्सका महासचिव निर्मल सापकोटाले विषयबस्तुमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव गोविन्द प्रसाद चौलागाईंले गर्नुभएको थियो ।