सुजन काफ्ले
चरीकोट, फागुन १९ गते । नेपाल सरकारका उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले व्यापार घाटा घटाउनलाई उत्पादनमा वृद्धि गर्नुपर्ने बताउनुभएको छ । दोलखा चेम्बर अफ कमर्सको आयोजना दोलखा सदरमुकाम चरीकोटमा सुरु भएको दोलखा महोत्सवको उदघाटन गर्दै मन्त्री श्रेष्ठले सो कुरा बताउनुभएको हो ।
आर्थिक चलायमान बनाउन आयोजना गरिएको महोत्सव सफलताको शुभकामना दिंदै उहाँले दोलखाली जनताको बीचमा सामाजिक आर्थिक गतिविधिलाई चलायमान बनाउनुपर्ने आजको आवश्यकता रहेको बताउनुभयो ।
मन्त्री श्रेष्ठले देशका लागि दोलखा सबै कोणबाट महत्वपूर्ण जिल्ला रहेकाले यो जिल्लाको विकासले देशको आर्थिक विकासमा सहयोग पुग्ने उहाँको भनाइ छ । सम्बोधनको क्रममा उहाँले संबिधान माथिको उपलब्धिलाई कमजोर पार्न लागिएकाले संविधानको रक्षा गर्नु आजको आवश्यकता रहेको उहाँले बताउनुभयो ।
नेपाली जनताले अपेक्षा गरेको सामाजिक आर्थिक विकासको काम उल्लेखनीय रुपमा गर्न नसकिएको बताउँदै मन्त्री श्रेष्ठले आगामी दिनमा सबै राजनीतिक दल मिलेर देश विकासमा लाग्ने बताउनुभयो । आजबाट सुरु भएको दोलखा महोत्सव २७ गतेसम्म चल्ने आयोजकले जनाएका छन् ।