• १३ साउन २०८१, आइतबार

नेपाल यू–१९ विश्वकपमा छनोट

blog

फाइल तस्बिर ।

काठमाडौं, फागुन १८ गते । नेपाल सन् २०२४ मा श्रीलङ्कामा आयोजना हुने आईसीसी यू–१९ विश्वकपमा छनोट भएको छ । युएईस्थित आजमान इडेन गार्डेन ओभल क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले आयोजक यूएईलाई सात रनले हरायो ।

युएईलाई हराउनैपर्ने फाइनल सरह अन्तिम खेलमा नेपालले रोमाञ्चक जित निकाल्दै विश्वकपमा स्थान बनाएको हो । यसअघि नेपालले सन् २०१६ को विश्वकप खेलेको थियो । 

जितका लागि नेपालले दिएको एक सय ९२ रनको लक्ष्य पछ्याएको युएई ४८ ओभरमा सवै विकेटको क्षतिमा एक सय ८४ रनमा समेटिएको थियो । युएईका लागि इथान काल्लले सर्वाधिक ५० रन बनाउनुभयो ।

आर्यान सक्सेनाले ३४, आर्याश शर्माले ३२ र अम्मर बदामीले १९ रन बनाउनुभयो । बलिङमा नेपालका दीपेश कँडेलले पाँच विकेट लिनुभयो । सुवास भण्डारी र हेमन्त धामीले दुई दुई विकेट झार्नुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८.५ ओभरमा सबै विकेटको क्षतिमा एक सय ९१ रन बनाएको थियो । नेपालका लागि कप्तान देव खनालले अर्धशतकीय पारी खेल्नुभयो । उहाँले ५१ रन बनाउनुभयो ।

विशाल विक्रम केसीले ३८, उत्तम थापामगरले ३६, दिपेश कँडेलले १५, हेमन्त धामीले १३ र मिलन बोहराले १० रन बनाउनुभयो । अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । 

बलिङमा युएईका ध्रुव परासरले तीन, कप्तान आयन खान र हरितहर्ष सिट्ठीले दुई दुई तथा हर्षित सेठ र अम्मर बदामीले एक एक विकेट लिनुभयो ।

यस छनोट खेलमा आयोजक युएईसहित नेपाल, हङकङ, कुवेत, मलेसिया र सिङ्गापुर सहभागी थिए । नेपालले सबै खेलमा अपराजित रह्यो ।