काठमाडौं, फागुन १७ गते । मापसे गरेर स्कुल बस चलाउने ८७ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । बुधबार काठमाडौं उपत्यकामा गरिएको विशेष चेकिङका क्रममा मापसे गरेर स्कुल बस चलाउने एक जनासहित ८७ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो ।
ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज बिहान गरेको विशेष चेकिङका क्रममा विविध कसुरमा ८७ जना चालकहरू कारबाहीमा परेका हुन् । चेकिङकै क्रममा मापसे गरी सवारी साधन चलाउँदै गरेका एक जना स्कुल बसका चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुङमति स्थित त्रिरत्न माध्यमिक विद्यालयको बागमती प्रदेश (०१(००६ ख ४६ २९ नम्बरका बसका चालक काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका ११ का २७ वर्षीय बुद्ध लामालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । कोटेश्वरमा भइरहेको चेकिङमा लामाले मदिरा पिएर स्कुल बस चलाएको पाइएपछि उहाँलाई नियन्त्रणमा लिएर प्रहरी प्रभाग कोटेश्वरमा बुझाइएको छ । त्यसैगरी, अवस्था ठिक नभएका स्कुल बस चलाउँदै गरेका दुई जना चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
विशेष चेकिङकै क्रममा कागजपत्र साथमा नराख्ने, सवारी साधनको अवस्था ठिक नराख्ने लगायत विविध कसुरमा २३ जना पानी ट्याङकरका चालकहरू पनि कारबाहीमा परेका छन् । नयाँ पार्कमा १५, कीर्तिपुरमा तीन, कलङ्की र काँडाघारीमा दुई दुई र न्यूरोड क्षेत्रमा एक जना गरी २३ जना ट्याङ्कर चालक कारबाहीमा परेका छन् । यसका साथै अन्य विविध कसुरमा पनि ६१ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
उपत्यकाको ट्राफिक आवागमनलाई सहजीकरण गर्न, सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक नियम पालना गराउने उद्देश्यका साथ ट्राफिक प्रहरीले नियमित तथा विशेष चेकिङ गर्दै आएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभएको छ । सवारी दुर्घटनामा कमी ल्याउन र नियम कानुनको परिपालना गर्ने कार्यमा ट्राफिक प्रहरीले चालेको अभियानमा सम्बन्धित सबैको सहकार्य आवश्यक रहेको पनि प्रवक्ता भट्टले बताउनुभयो ।