• १३ साउन २०८१, आइतबार

तरकारी परीक्षण गरेर ल्याउनुपर्ने अनेरास्ववियूको माग

blog

तरकारी परीक्षण गरेर ल्याउनुपर्ने माग गर्दै प्रदर्शनमा अनेरास्ववियुका विद्यार्थी ।

गोरखापत्र अनलाइन

काठमाडौं, फागुन १७ गते । नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले भारतबाट आउने हरियो तरकारी परीक्षण गरेर मात्र ल्याउनुपर्ने माग गरेको छ । भारतबाट हरियो तरकारी विनापरीक्षण ल्याउन सरकारले अनुमति दिएको भन्दै विद्यार्थी सङ्गठनले विरोध गरेका हुन् ।

विषादीयुक्त तरकारी विनापरीक्षण ल्याउँदा नेपाली जनताको स्वास्थ्यमा गम्भीर असर पुग्नेभन्दै विद्यार्थी नेताहरुले परीक्षणको व्यवस्था गर्न माग गरेको अनेरास्ववियुका अध्यक्ष समीक बडालले बताए । यसअघिको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले परीक्षण गरेर मात्र भारतबाट हरियो तरकारी ल्याउने व्यवस्था गरेको भन्दै त्यसलाई निरन्तरता दिनुपर्ने माग विद्यार्थीहरुको छ । 

सरकारको पछिल्लो निर्णयविरुद्ध अनेरास्ववियुले बुधबार यहाँ विरोध प्रदर्शन पनि गरेको छ । नेपाली जनताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने विषय भएकाले विनापरीक्षण भारतबाट हरियो तरकारी ल्याउन नहुने माग अनेरास्ववियुको छ । सरकारले निर्णय नसच्याए कडा आन्दोलन गर्ने चेतावनी पनि सो सङ्गठनले दिएको छ ।