• १३ साउन २०८१, आइतबार

प्रदेश १ नामकरण

विरोध प्रदर्शनलाई ध्यान दिँदै निषेधाज्ञा जारी

blog

प्रदेश १ प्रदेश सभा । फाइल तस्बिर

काठमाडौं, फागुन १७ गते । प्रदेश १ प्रदेश सभाले प्रदेशको नामकरण गर्ने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेश सभा आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले निषेधाज्ञा सम्बन्धी सूचना जारी गर्नुहुँदै प्रदेशको नामाकरण आजै गर्ने तयारी गरेपछि प्रदेश सभा आसपासको क्षेत्रमा धर्ना, जुलुस तथा प्रदर्शनलाई निषेध गरेको जानकारी दिनुभयो ।

प्रजिअ भट्टराईले जारी गर्नुभएको सूचनामा प्रदेश १ को प्रदेश सभा नामकरणको प्रक्रिया प्रारम्भ भई टुङ्गो नलागेसम्म तथा नामाकरण भएपश्चात् पनि असहमत पक्ष (विभिन्न राजनीतिक दल, समूह, जातीय सङ्घसंस्था) बाट सम्भावित विरोध, धर्ना, जुलुस, झडप हुनसक्ने भएकाले निषेधाज्ञा गरेको उल्लेख छ ।

सूचनामा भनिएको छ, ‘सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सुरक्षा स्थितिलाई सहज एवम् सामान्य तुल्याई राख्न विराटनगरस्थित देवकोटा चोकदेखि कोसी अस्पताल चोकसम्म, जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र माननीय मुख्यमन्त्रीज्यूको निवास वरपर मिति २०७९/११/१७ गते दिउँसो ३ बजेदेखि अर्को आदेश नभएसम्म कुनै किसिमका सभा, जुलुस, भेला, र्‍याली, धर्ना जस्ता कार्यहरू गर्न स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) (क) बमोजिम निषेध गरिएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । यो आदेश उल्लङ्घन गरी उल्लेखित कार्यहरू गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने ब्यहोरा जानकारी गराइन्छ ।’