• १३ साउन २०८१, आइतबार

सञ्चारमाध्यम सम्बन्धी विधेयकलाई अघि बढाउन तयार छु : सभामुख घिमिरे

blog

नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) ले इञ्जा डेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सभामुख देवराज घिमिरे । तस्बिर : केशब गुरुङ

काठमाडौं, फागुन १७ गते । सभामुख देवराज घिमिरेले सञ्चारमाध्यमसम्बन्धी विधेयकलाई अघि बढाउन आफू तयार रहेको बताउनुभएको छ । बुधबार नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) ले इञ्जा डेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सभामुख घिमिरेले यस्तो बताउनुभएको हो ।

सभामुख घिमिरेले सञ्चारकर्मीहरूको हक अधिकार र व्यवसायिक दक्षताका लागि नीति र व्यवहारबाट सहयोग गर्नुपर्ने कतिपय विधेयकहरू अल्झिरहेका, विवादमा रहेर रोकिएकाले तिनीहरूलाई अघि बढाउन आफू तयार रहेको जानकारी दिनुभयो ।

तस्बिर:  कविता थापा 

सभामुख घिमिरेले भन्नुभयो, ‘‘पत्रकारितालाई हेर्दा हाम्रो विगतको लक्ष्य खास गरेर व्यवस्थालाई परिवर्तन गर्नुथियो । विरोध गर्नु थियो, ढाल्नु थियो । बहुदलीय व्यवस्था वा लोकतान्त्रिक गणतन्त्रको संविधान र संविधानबाट निर्वाचित निकायहरू बनिसकेपछि कसरी जानुपर्छ भन्ने विषयमा खोजमूलक ढङ्गबाट जानुपर्छ, अनुसन्धानात्मक ढङ्गबाट जानुपर्छ । गाउँको वास्तविकतालाई पनि उजागर गर्नुपर्छ । जनताको जीवनसँग गाँसिएका समाचारहरू लिएर आउने काममा लाग्नुपर्छ । बहुदलीय व्यवस्था आइसकेपछि हामीले व्यवस्थामा परिवर्तन गरेपनि हामीले अब अवस्थामा खासै परिवर्तन गर्न सकेको छैनौँ ।


उहाँले रोकिएका विधेयकहरूमा सञ्चारमाध्यमसँग बसेर छलफल गर्न र संसदमा अघि बढाउने प्रक्रियामा पुग्न आवश्यक रहेको धारणा औँल्याउनुभयो । सभामुख घिमिरेले सञ्चारमाध्यमहरूले खोजमूलक र जनतामुखी समाचार सम्प्रेषण प्रसारण गर्नुपर्ने बताउनुभयो । सभामुख घिमिरेले अवस्था परिवर्तनका लागि पत्रकारिताको भूमिका महत्त्वपूर्ण उल्लेख गर्दै समृद्ध समाज बनाउन र प्रजातन्त्रलाई बलियो बनाइ राज्य सञ्चालनका अङ्गहरू व्यवस्थापिका र कार्यपालिकालाई प्रभावकारी बनाउन सञ्चारमाध्यमहरूको भूमिका उल्लेखनीय रहेको बताउनु भयो ।

‘‘सञ्चारकर्मीहरूको हक अधिकार र व्यवसायिक दक्षताका लागि नीति र व्यवहारबाट सहयोग गर्नुपर्ने कतिपय विधेयकहरू अल्झिरहेका, विवादमा रहेर रोकिएका यी कुराहरूलाई सभामुख भएको नाताले अघि बढाइयोस् भन्ने चाहना आकाङ्क्षा जायज छ । यस क्षेत्रका समस्या के हुन्, आउन लागेको विधेयको विरोध गर्नुको कारण के हो ? रोकिएको विधेयक अघि बढाउन मेरो ठाउँबाट अघि बढाउन म तयार छु ।,’’ सभामुख घिमिरेले भन्नुभयो, ‘‘अवस्था परिवर्तनका लागि पत्रकारिताको भूमिका महत्त्वपूर्ण छ । समृद्ध समाज बनाउन, प्रजातन्त्रलाई बलियो बनाउन र राज्य सञ्चालनका अङ्गहरू व्यवस्थापिकालाई प्रभावकारी बनाउन, संसद्को भूमिका गरिमायुक्त बनाउन, संसद्ले खेलेको भूमिका कार्यान्वयन गर्न कार्यपालिकालाई सशक्त बनाउन सञ्चारमाध्यमहरूको भूमिका महत्त्वपूर्ण छ ।’’

इञ्जाले इञ्जा बौद्धिक पत्रकारिता पुरस्कारबाट जगत नेपाल र माधवप्रसाद तिवारीलाई सम्मान गरेको छ भने इञ्जा खोजी पत्रकारिता पुरस्कार, २०७९ बाट मात्रिका दाहाल र तारा वाग्लेलाई सम्मान गरेको छ ।

त्यस्तै, ग्रामीण पत्रकारिता पुरस्कार, २०७९ बाट सरिता चलाउनेलाई सम्मान गरिएको छ भने फोटो पत्रकारिता पुरस्कार, २०७९ मा इञ्जाले सुरेशकुमार श्रेष्ठ र नरेन्द्र श्रेष्ठलाई सम्मान गरेको छ ।