• ६ जेठ २०८१, आइतबार

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन

बुधबारदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

blog

निर्वाचन आयोग ।

काठमाडौं, फागुन १६ गते । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको आचारसंहिता बुधबारदेखि लागू हुने भएको छ ।

निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौड्यालले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि भोलि (बुधबार) देखि चैत ५ गतेसम्म आचारसंहिता लागू हुने जानकारी दिनुभयो ।

उक्त आचारसंहिता, भदौ १३ गते नै नेपाल राजपत्रमा प्रकाशन भइसकेको आयोगले जनाएको छ । यही फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ ।

‘‘दुवै पदको निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गर्ने निर्णय गरेको छ ।,’’ आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘‘उक्त आचारसंहिता, २०७९ मिति २०७९ भदौ १३ गतेको नेपाल राजपत्र खण्ड—७२, सङ्ख्या ३२ मा प्रकाशन भइसकेको छ ।’’

आयोगका अनुसार उम्मेदवारको अन्तिम नामावली आज (मङ्गलबार) प्रकाशन गर्ने कार्यक्रम रहेको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि राष्ट्रपति र उपराष्ट्रपति पदको उम्मेदवारहरूले प्रचारप्रसार गर्न पाउने आयोगले जनाएको छ ।

संवैधानिक व्यवस्था अनुसार उक्त निर्वाचनका लागि सङ्घीय संसद्मा हाल कायम रहेका ३३२ र प्रदेशसभाका ५५० गरी कूल ८८२ मतदाता रहेको निर्वाचक मण्डल रहने छ ।