नारायण काफ्ले / अशोक अधिकारी
काठमाडौँ, फागुन १६ गते । तत्कालीन सत्ता गठबन्धनका प्रमुख साझेदार नेपाल कम्युनिस्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको बहिर्गमनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि संवैधानिक दायित्व थपिएका छन्। उहाँले प्रतिनिधि सभामा फेरि विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ।
त्यसका साथै उहाँले नयाँ गठबन्धनका दलहरूलाई मिलाएर मन्त्रिमण्डल पुनर्गठन पनि गर्नुपर्ने हुन्छ। एमाले, राप्रपा र रास्वपाले लिएका मन्त्रालयसमेत गरी अहिले प्रधानमन्त्रीको जिम्मेवारीमा १६ वटा मन्त्रालयको कार्यभार रहेको छ।
संविधानको धारा १००(२) अनुसार सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।
नयाँ गठबन्धनमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र अघिल्लो गठबन्धनमा रहेका जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी छन्। सरकारलाई विश्वासको मत नदिएको राष्ट्रिय जनमोर्चा पनि गठबन्धनमा सामेल भएको छ।
सरकार विस्तारको सम्भावना
नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद् विस्तार गर्ने सम्भावना रहेको बताउनुभएको छ। उहाँले भन्नुभयो, “सरकार विस्तार राष्ट्रपति निर्वाचनपछि हुनसक्छ जस्तो लाग्छ मलाई। तयारी भएको छैन। अब ८–१० दिनको कुरा हो। राष्ट्रपति निर्वाचनलगत्तै गर्ने तयारीमा प्रधानमन्त्रीज्यू हुनुहुन्छ भन्ने बुझेकी छु।”
उहाँले संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्रीले विश्वासको मत लिने बताउनुभयो। उहाँले भन्नुभयो, “संविधानले किटान गरेको जे व्यवस्था छ, त्यो व्यवस्थाअनुसार विश्वासको मत लिने हो। कुन दिन भन्नेचाहिँ निर्णय भएको छैन।”
सरकारलाई विश्वासको मत नदिएको राष्ट्रिय जनमोर्चा पनि गठबन्धनमा सामेल
सञ्चारमन्त्री शर्माका अनुसार राष्ट्रपति निर्वाचनभन्दा अघि नै विश्वासको मत लिने सन्दर्भमा कुनै छलफल र निर्णय भएको छैन। उहाँले भन्नुभयो, “संसद् बसेको दिन विश्वासको मत लिने हो तर अहिलेसम्म टुङ्गो लागिसकेको छैन।”
संवैधानिक व्यवस्थाअनुसार अब प्रधानमन्त्रीले चैत १२ गतेभित्र विश्वासको मत लिनुपर्नेछ। राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएकै दिनबाट उक्त दिनको गणना सुरु भएको छ। संविधानको धारा १००(२) अनुसार सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था छ। यसअघि स्वतन्त्र पार्टी सरकारबाट बाहिरिए पनि समर्थन कायम रहेकाले विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता प्रधानमन्त्रीलाई थिएन। धारा १००(२)मा भनिएको छ, “प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभासमक्ष प्रस्ताव राख्नुपर्नेछ।”
संवैधानिक कानुनका जानकार डा. चन्द्रकान्त ज्ञवाली विश्वासको मत लिने समयावधि प्रधानमन्त्रीको हकमा सुरु भइसकेको बताउनुहुन्छ। ज्ञवाली भन्नुहुन्छ, “सरकारमा भएका दलहरूले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएका छन्। यस्तो अवस्थामा अब प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक दायित्व नै हो। यसअघि मत दिएका दल गठबन्धनमै छन् भनेर उम्कने अवस्था प्रधानमन्त्रीलाई हुन्न।”
एमाले, राप्रपा र रास्वपाले लिएका मन्त्रालयसमेत गरी अहिले प्रधानमन्त्रीको जिम्मेवारीमा १६ वटा मन्त्रालयको कार्यभार
प्रधानमन्त्रीलाई कति सहज
प्रधानमन्त्री कायम रहन सदनमा तत्काल कायम रहेका सदस्य सङ्ख्याको बहुमत आवश्यक पर्नेछ। २७५ सदस्यीय प्रतिनिधि सभामा अहिले २७३ सदस्य मात्र छन्। चितवन–२ मा उपनिर्वाचनको मिति तोकिएको छ भने जनता समाजवादी पार्टीकी सांसद शहनाज रहमानको निधनका कारण स्थान रिक्त छ। जसअनुसार प्रधानमन्त्रीलाई १३७ सदस्यले बहुमत पुग्ने अवस्था छ।
नयाँ गठबन्धनअनुसार प्रधानमन्त्रीलाई आफ्नो दल माओवादी केन्द्रको ३२ मतसँगै सदनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको ८८ मत हुनेछ। ८९ सदस्यमा एक जनाको मताधिकार छैन। यस्तै गठबन्धनमा रहेका जनता समाजवादीको १२, एकीकृत समाजवादीको १०, जनमत पार्टीको छ, लोकतान्त्रिक समाजवादी पार्टीको चार, नागरिक उन्मुक्ति पार्टीको चार र राष्ट्रिय जनमोर्चाको एक मत छ। मताधिकार प्राप्त सबैको मत सङ्ख्या १५७ हुनेछ। अघिल्लो गठबन्धनमा रहेका एमालेको ७८, स्वतन्त्र पार्टीको २० र राप्रपाको १४ मत छ।