• १९ असार २०८१, बुधबार

किसानलाई अनुदानमा मिनिटिलर

blog

कबिराज घिमिरे 

हिले, फागुन १४ गते । कृषि ज्ञान केन्द्र धनकुटाले किसानलाई मिनिटिलर, टनेल, मल र बीउ वितरण गरेको छ । केन्द्रले मुख्य राजमार्ग लक्षित कार्यक्रमअन्तर्गत गुराँसे गाईपालन कृषक समूहलाई ५० प्रतिशत अनुदानमा मिनिटिलर र शतप्रतिशत अनुदानमा टनेल र बीउ वितरण गरेको हो । 

कृषि ज्ञान केन्द्र धनकुटाले धनकुटा नगरपालिका वडा नं. २ को गुराँसे गाइपालन कृषक समूहका १० जना कृषकलाई ५० प्रतिशत अनुदानमा मिनिटिलर उपलब्ध गराएको छ । यस्तै केन्द्रले समूहमा रहेका किसानलाई प्लाटिक टनेल, बीउ र मल शतप्रतिशत अनुदानमा वितरण गरेको छ । 

मुख्य राजमार्ग लक्षित कार्यक्रममा पर्ने सडक, विद्युतको पहुँच लगायतका मापदण्डमा गुराँसे गाइपालन कृषक समूह छनाेट भएको हो । खेती कार्यलाई यान्त्रीकरण गरी छिटोछरितो र लागत घटाउने उद्देश्यले मिनिटिलर सहयोग गरिएको कार्यालयका प्रमुख नगेन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

मिनिटिलरका लागि ज्ञान केन्द्रले पाँच लाख रुपियाँ अनुदान उपलब्ध गराएको थियो भने किसानको पाँच लाख रुपियाँ लागत सहभागिता छ । ज्ञान केन्द्रले ७५ प्रतिशत अनुदान दिने र किसानको लागत सहभागिता २५ प्रतिशत हुनुपर्ने कार्यक्रम भए पनि सबै किसानलाई मिनिटिलर नआउने भएपछि आफूहरुले पाँच लाखको लागत सहभागिता रहेको गुराँसे गाइपालन कृषक समुहका अध्यक्ष भीम रानाले बताउनुभयो । उहाँका अनुसार ज्ञान केन्द्रले पाँच लाख अनुदान दिएको र किसानको दुई लाख ५० हजार लागत सहभागिता रहनेमा पाँच लाखको लागत सहभागिता छ । 

गुराँसे गाइपालन कृषक समूह रहेको स्थान तरकारीबालीका लागि उर्बर र गापालनका लागि प्रख्यात मानिन्छ । कृषि ज्ञान केन्द्र धनकुटाले पाख्रिबास नगरपालिकाको लिसिम्बु, धनकुटा नगरपालिकाको बेलहारामा पनि मिनिटिलर वितरणको तयारी गरिरहेको जनाएको छ ।