• १३ साउन २०८१, आइतबार

राष्ट्रपतिमा सर्वसम्मति भए राम्रो हुन्छ : प्रधानमन्त्री प्रचण्ड

blog

गोरखामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : नरेन्द्र ढकाल

नरेन्द्र ढकाल

गोरखा, (बारपाक सुलिकोट) फागुन १४ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपतिका लागि सर्वसम्मतिको प्रयास भइरहेको बताउनुभएको छ। गोरखाको बारपाक सुलिकोटमा आयोजित माओवादी जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृति दिवस तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै उहाँले सर्वसम्मतिका लागि २५ गतेसम्म कोसिस गर्ने बताउनुभयो। ‘‘हाम्रो प्रयास छ कि २५ गतेसम्म जाँदा राष्ट्रपतिमा सर्वसम्मति भए धेरै राम्रो हुन्छ। त्यो प्रयास पनि हामी गरिराखेका छौँ,’’ उहाँले भन्नुभयो, ‘‘नभए पनि नयाँ यात्रा, स्थायित्व र विकासका निम्ति अझ सहयोगी हुने मैले विश्वास लिएको छु।’’  

निर्वाचन अघि गठबन्धन बनाएर होमिएका दल फेरि एकठाउँमा आइपुगेको उहाँले बताउनुभयो। यसले नयाँ राजनीतिक यात्राको सुरु भएको उहाँको भनाइ छ। ‘‘जुनजुन राजनीतिक दल मिलेर जनतामा भोट माग्न गएका थियौँ।  परिस्थिति नयाँ बन्यो म प्रधानमन्त्री भिन्न तरिकाले बनेँ,’’ उहाँले भन्नुभयो,‘‘हिजो मात्र फेरि (शनिबार) राष्ट्रपतिको चुनावका सन्दर्भमा आउँदा आठ राजनीतिक दल एक ठाउँमा भएका छौँ।  नेकपा (एमाले)सँग पनि लगातार हाम्रो कुरा भइरहेको छ।’’ 

आफ्नो बाँकी जीवन विकास समृद्धिका लागि खर्च गर्ने यसअघि नै घोषणा गरेको बताउनुहुँदै उहाँले सरकारलाई जनमुखी र प्रतिफलयुक्त बनाउने दाबी गर्नुभयो। देश आर्थिक समस्यामा रहेको भन्दै त्यसको सुधारका लागि सरकार लागिपरेको उहाँको भनाइ छ। 

नेकपा (माओवादीका केन्द्र)का अध्यक्षसमेत रहनुभएका उहाँले सरकारले जनयुद्ध र जनआन्दोलनका शहीदलाई सम्मान दिन लागेको बताउनुभयो। ‘‘मैले आज बिहान मात्र मुख्य सचिवलाई बोलाएर जनयुद्ध र जनआन्दोलनका सम्पूर्ण शहीदलाई राष्ट्रिय शहीदको रूपमा राजपत्रमा नाम प्रकाशित गर्ने सोच बनाएको छु,’’ उहाँले भन्नुभयो, "यो निर्णयले परिवर्तनका पक्षमा बलि दिनेहरूप्रति सम्मान हुनेछ।"

नेपाली सेनाको हेलिकप्टरमार्फत आउनुभएका प्रधानमन्त्री प्रचण्डले शहीद परिवारलाई सम्मान गर्नुभएको थियो। उहाँले दिलबहादुर रम्तेलका बुबा सेते रम्तेल र आमा सरिमायाँ रम्तेललगायत माओवादी जनयुद्धमा ज्यान गुमाएकाको परिवार र आफन्तलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो। प्रधानमन्त्री प्रचण्डले पालुङटारमा आयोजित एक कार्यक्रमलाई पनि सम्बोधन गर्नुभएको छ। 

कार्यक्रममा माओवादी केन्द्रका सचिव एवं प्रमुख सचेतक हितराज पाण्डे, बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्ट, उपाध्यक्ष सनमाया गुरुङ, पूर्व निर्वाचन आयुक्त दोलखबहादुर गुरुङलगायतले गोरखा दुईको विकासका लागि विशेष जोड दिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गर्नुभएको थियो। गोरखा २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएका उहाँले जिल्लाको विकासका लागि प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।