अमरगढी समाचारदाता
डडेल्धुरा, फागुन १४ गते । सडक नहुँदा पैदल यात्राका लागि बनाइएका कट्या बाटा (सबलको प्रयोग गरेर हातले काटेर बनाइएका बाटा)मा बास बस्न बनाइएका ढुङ्गे धर्मशालाहरू मासिँदै र नासिँदै गएका छन्।
सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा बजार नहुँदा वर्षभरि खानलाई पुग्ने गरेर नुन, गुँड, तेललगायतका दैनिक उपभोग्य वस्तु खरिद गर्न स्थानीय एक हप्तासम्म पैदल हिँडेर नेपाल–भारतका सीमा बजार ब्रह्मदेव र टनकपुर पुग्थे। करिब तीन दशक अघिसम्म पनि यो क्रम चलिरहेको थियो।
बटुवाहरूलाई बास बस्न त्यो बेलाका दयालु एवं परोपकारीहरूले ठाउँठाउँमा ढुङ्गाले निर्माण गरेर धर्मशालाहरू बनाउनुभएको थियो। धर्मशालासँगै पानी खान नाउला र शीतलताका लागि पीपल पनि लगाउने गर्नुहुन्थ्यो। घरपालुवा जनावरहरूसहित स–परिवार तराई पहाड गर्नेहरू पनि धर्मशालामा बास बस्नुहुन्थ्यो।
यहाँ भएर ओहोर–दोहोर गर्दा धर्मशालामा कैयौँ पटक बास बसेको ७८ वर्षीय सरुदेवी भण्डारीको सम्झना ताजै छ। धर्मशाला, पानीका नाउला र चौताराहरूका उदाहरण डडेल्धुराका थुप्रै स्थानमा देख्न सकिन्छ। महाभारत पर्वत क्षेत्र हालको अमरगढी नगरपालिका–३ र आलिताल गाउँपालिका–२ तेले लेक क्षेत्रमा दर्जनौँ धर्मशाला छन् भने नाउला र चौताराहरू पनि छन्।
यस्तै अमरगढी नगरपालिका–७ पोखरा बजारको पूर्व र दक्षिणतर्फ थोरै दूरीमा दुईवटा ढुङ्गे धर्मशालाहरू छन्। जोशीगाउँ नजिक कट्याबाटोमा धर्मशालासँगै पीपल चौतारो पनि छ तर अहिले पीपलको रुख भने सुकिसक्यो। तत्कालीन अवस्थामा यस क्षेत्रमा सेट्टी जातिले बसोबास गर्ने गरेको स्थानीय जयप्रसाद जोशीले बताउनुभयो। सेट्टीहरूले धर्मशाला बनाउनुका साथै पीपल चौतारो बनाएको बूढापाकाहरूबाट सुन्नमा आउने उहाँले बताउनुभयो। अमरगढी नगरपालिका–५ बाघखोरको रानीधारा नजिक रहेको धर्मशाला र अमरगढी नगरपालिका–८ किर्मडेमा रहेका तीनवटा धर्मशाला भने नासिएका छन्। सडक विस्तारसँगै जमिनको मूल्य बढेपछि स्थानीयले धर्मशाला नासेर घर बनाएर हुन्। पोखरा क्षेत्र र महाभारत पर्वत क्षेत्रमा रहेका धर्मशाला भने जीर्ण बन्दै गएका छन् तर संरक्षण भने हुन सकेको छैन।
ठूला–ठूला ढुङ्गाले मात्रै बनेका धर्मशालाहरू ऐतिहासिकसँगै पूर्खाहरूको रहनसहनसँग सम्बन्धित छन्। पूर्खाहरूको जीवनशैली र परोपकारी भावनाको विकास एवं अध्ययन गर्न पनि धर्मशालाहरूको संरक्षण गर्नुपर्ने स्थानीय मनोज ओझाले बताउनुभयो। ढुङ्गे धर्मशालाहरूलाई पुरातात्त्विक सम्पदामा राखेर संरक्षण गर्न पर्ने भए पनि स्थानीयलगायत प्रदेश र सङ्घीय सरकारसँग कुनै योजना नभएको उहाँले गुनासो गर्नुभयो। ढुङ्गे धर्मशालाहरूको संरक्षण गरेर पर्यटकीय क्षेत्रको विकास गर्नसकिने पर्यटन व्यवसायी गणेशबहादुर थापाले बताउनुभयो। बेलाबेला संरक्षणको आवाज उठान गरे पनि जिम्मेवार निकाय स्थानीय सरकारले अहिलेसम्म कुनै चासो नदिएको उहाँको गुनासो छ।
“हाम्रा पुर्खाहरूले धर्म कमाइन्छ भनेर धर्मशालाहरू बनाउनुभयो,” उहाँले भन्नुभयो, “तर अहिले हाम्रो पुस्ताले पुर्खाले बनाएका धर्मशालाहरू पनि मासिरहेका छन् भने तीन तहका कुनै पनि सरकारले सम्पदाको संरक्षणमा चासो दिन सकेको छैन।” यसले समाज, धर्मकर्म, परोपकारभन्दा व्यवसायीकतातर्फ उन्मुख भइरहेको प्रस्ट हुने उहाँले बताउनुभयो तर ऐतिहासिक ढुङ्गे धर्मशालाहरूको संरक्षण गर्न आवश्यक उहाँले बताउनुभयो।