कालीकोट समाचारदाता
कालीकोट, फागुन १४ गते । कालीकोट जिल्लाको तिलागुफा नगरपालिका छ वर्षसम्म वडाकै भवनमा आफ्नो कार्यालय सञ्चालन गरिरहेको छ। २०७४ यता नगरपालिकाले आफ्नो भवन बनाउन नसकेर वडा नं. ६ को वडा कार्यालयको भवनमा बसेर कामकाज गरिरहेको छ।
नगरपालिका केन्द्र विवाद जग्गा अभावलगायतका विषयले नगरपालिकाले आफ्नो भवन बनाउन नसकेका कारणले वडा पालिकाकै भवनमा बस्न बाध्य भएको छ। तिलागुफा नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणप्रसाद चौलागाईले नगरपालिकाको केन्द्रको विवाद कायमै रहेकाले सबै काम ठप्प भएको बताउनुभयो। उहाँले नगरसभाले वडा नं. ९ को चिल्खायाको तल्लो क्षेत्रमा केन्द्र तोकेको थियो तर दुई पक्षबीचको विवादका कारणले उच्च अदालन जुम्लामा मुद्दा प-यो। उच्च अदालत जुम्लाले नगर सभाको निर्णय बदर गरेका कारणले मुद्दा सर्वोच्च अदालतसम्म पुगेको छ। निमित्त प्रमुख प्रशासकीय अधिकृत चौलागाईले मुद्दाको अन्तिम किनारा नलाग्दासम्म भवन बनाउने योजना अलपत्र परेकाले वडा पालिकाकै भवनमा बसेर कामकाज गरिरहेको जानकारी दिनुभयो।
यता २०७६ सालमा बसेको नगरसभाले बहुमतको निर्णय भन्दै केन्द्रको टुङ्गो लगाएको थियो तर गणपुरक सङ्ख्या नपुगेको भन्दै हाल नगरपालिका रहेको साबिकको जुबिथा गाल्जे क्षेत्रका नागरिकले उच्च अदालतमा मुद्दा हालेका कारणले नगरपालिका भवन मात्र होइन, केन्द्रको विषय पनि अलपत्र परेको छ। वडा नं. ९ का अध्यक्ष नरेन्द्र रोकायाले आफूहरूले नगरपालिकालाई चाहिने जति जग्गा पास गरेको तर मुद्दा जारी रहेकाले अहिले के हुने भन्ने विषयमा यकिन भएको बताउनुभयो।