• १० मंसिर २०८१, सोमबार

पुल्चोक क्याम्पसमा ‘अल नेपाल ह्याकाथुन’ हुने

blog

अल नेपाल ह्याकाथुन बारे जानकारी दिँदै आयोजक । तस्बिर : गोरखापत्र

काठमाडौं, फागुन १३ गते । नेपाल विद्यार्थी सङ्घ केन्द्रीय समितिको आयोजना र नेपाल विद्यार्थी सङ्घ पुल्चोक क्याम्पस इकाई समितिको सहआयोजनामा फागुन १६, १७ र १८ गते ह्याकाथुन कार्यक्रमको आयोजना हुने भएको छ । 

पुल्चोक क्याम्पसमा हुने ह्याकाथुन कार्यक्रममा पछिल्लो समय आम नागरिकले भोग्दै आएका समस्याहरूलाई कसरी उजागर गर्न सकिन्छ भन्नेबारे चर्चा परिचर्चा सँगै समाधानको प्रयास थालिने बताइएको छ ।

विशेषगरी सरकारी कार्यालयहरू जस्तै–मालपोत कार्यालय, अध्यागमन विभाग, राहदानी विभाग, यातायात कार्यालयमा हुने गरेका सर्भर डाउनको समयमा, महिनौ सम्म सेवाग्राहीले सेवन लिन नसकेका समस्याहरूलाई कसरी समाधान गर्न सकिन्छ भन्नेबारे र उक्त कार्यालयबाट सेवाग्राहीले सेवा सुविधालाई प्रविधिको विकास र प्रयोगबाट कसरी छिटो, छरितो र चुस्त बनाउनन्छ भन्नेबारे चर्चा र प्रयोगहरू गरिनेछ ।

त्यस्तैगरी नेपाल स्टक एक्सचेन्ज (नेप्से), मोबाइल बैङ्किङ लगायतका क्षेत्रको सिस्टममा हुने त्रुटि र प्राविधिक समस्यालाई समाधान गर्न विद्यार्थीहरूले कोडिङको मद्दतले सफ्टवेयरको विकास गर्नेछन् । 

त्यस्तै, त्रिभुवन विश्व विद्यालयले लिएका परीक्षाको परीक्षाफल निकाल्न एक वर्षभन्दा बढी समय लाग्दै आएकोमा शैक्षिक प्रविधिको विकासमार्फत परीक्षा दिएको १५ दिन भित्र नतिजा सार्वजनिक गर्न प्राविधिक ज्ञान, सिपको प्रयोगबाट सहज र छिटो कसरी नतिजा सार्वजनिक गर्न सकिन्छ भन्नेबारे सिस्टमको विकास गरिनेछ ।

यस ह्याकाथुन कार्यक्रममार्फत काठमाडौं लगायत देशभरका सहरहरूमा बढ्दो प्रदूषण र फोहर व्यवस्थापनलाई प्राविधिक साहायतामा कसरी समाधान समाधान गरेर सफा र सुन्दर बनाउन सकिन्छ भन्नेबारे वैज्ञानिक प्रयोगका विषयमा सिस्टम तयार पारिनेछ ।

त्यस्तै सरकारी कार्यालयमा दस्ताबेजको रूपमा राखिने कागजातहरू खोज्दा नभेटिने अवस्थाको अन्त्य गर्न सरकारी संयन्त्रलाई कसरी चुस्त र तन्दुरुस्त राख्न सकिन्छ भन्नेबारे विद्यार्थीहरूले राउन्ड टेबलमा बसेर कोडिङको मद्दतले सफ्टवेयरको विकास गर्ने आयोजकले जनाएको छ ।