• १४ वैशाख २०८१, शुक्रबार

आमाको दशदान हुँदा मेरो अपरेसन !

क्यान्सरपीडितको हाँसो र रुवाइ

blog

पोस्ट डाक्टरल अनुसन्धानका लागि जर्मनी गएको तीन महिना भइसकेको थियो। प्रा.डा. टङ्कनाथ धमला तथा म्याडम भवानी धमलासँग म गएकी थिएँ। उहाँहरूको फर्किने दिन आइसकेको थियो म भने दुई वर्ष बस्नु थियो। नेपालमा गरेको मेरो स्तनको अपरेसनको घाउ निको भइसकेको थिएन। जर्मनी जानुअघि नेपालमा अपरेसन गरेकै डाक्टरलाई पनि देखाएकी थिएँ। उहाँले अलि हल्का रूपमा “घाउ पाकिहाल्छ नि” भन्दिनुभयो। दिनदिनै ड्रेसिङ गर्नु ठिक हुन्छ भन्नुभएकाले भवानी म्याडमले नै जर्मनी गएपछि पनि ड्रेसिङ गरिदिनुहुन्थ्यो। केही दिन ठिक भए जस्तो हुन्थ्यो र फेरि रगत र पिप आइहाल्थ्यो। हामीले त्यहाँ अस्पतालमा जाने कोसिस पनि गर्‍यौ तर त्यहाँको सिस्टम अलि सजिलो छैन। हाउस डाक्टर खोज्नुपर्ने। खोज्दा खोज्दै समय निकै बित्यो। डाक्टर भेटेर अब त्यसको उपचार गर्न पाइने भयो भन्ने बेलामा धमला सर र म्याडमको नेपाल फर्किने बेला भइसकेको थियो। म जर्मन भाषा नि जान्दिनथें। मभित्र अन्योल छाउँदै आएको थियो। 

धमला सर र म्याडम नेपाल फर्किने दिन बिहान मैले डाक्टरको अपोइन्टमेन्ट पाएँ। क्रेइस्कर्नकेनहउस अस्पताल फ्राइबर्कअन्तर्गतकै एउटा प्राइभेट क्लिनिकमा डा. स्यान्डीलाई मैले देखाउने भएँ र भेट्न गएँ। उहाँ अङ्ग्रेजी बोल्नुहुन्थ्यो त्यसैले अलि सजिलो भयो। म एक्लै गएकी थिएँ किनकि कोठामा खाना बनाउने, कोठाको सम्झौता अनुसार अन्तिममा अफिसियल काम त्यही बिहान थियो सर म्याडमको। अनि फेरि बाँकी यात्रा एक्लै तय गर्नुपर्ने भएकोले मभित्र कन्फिडेन्ट पनि आउनुपर्छ भनेर म एक्लै गएँ। डा. स्यान्डिले मेरो घाउ हेर्नुभयो र त्यो राम्रो नहुन सक्ने कुरा बताउनु भयो। नराम्रो भन्नुको मतलब क्यान्सरको शङ्का थियो। स्तनको फेरि अपरेसन गर्नुपर्ने र बायप्सी गरेर हेर्नुपर्ने बताउनुभयो। म चुपचाप टाउको हल्लाएर जे जे भन्नुहुन्छ “ठिक छ” भन्न विवश थिएँ। उहाँले अपरेसनको मिति तोकिदिनुभयो पाँच दिन पछिलाई। 

म भने घरी रुन्थेँ; घरी चुप लाग्थेँ; कहिले अन्धकार लाग्थ्यो अगाडिको यात्रा त कहिले म गर्न सकिहाल्छु नि; भन्ने झिनो आशा र हिम्मत पलाउँथ्यो; मनको कुना-कन्दराबाट !

त्यसबेला मलाई खुब डर लाग्यो किनकि म एक्लै हुन्थेँ। सर-म्याडम हिँडेपछि कसरी म्यानेज गर्ने होला ? मलाई भाषा पनि आउँदैनथ्यो। अरू नेपाली पनि नजिक थिएनन्। म कोठामा फर्केँ, चिन्ताले शरीर तातिरहेको थियो। सर-म्याडमलाई भनेँ डाक्टरको कुरा। मभन्दा बढी चिन्तित उहाँहरू देखिनुभयो। एक घण्टापछि उहाँहरूको ट्रेन थियो एयरपोर्टका लागि। त्यो अन्तिम अवस्थामा अब के गर्ने ? हामीसँग धैर्य गर्नु र जे पर्छ त्यसको सामना गर्नुको विकल्प रहेन। धमला सरले त्यही हुने नेपाली भाइ आशिषलाई फोन गरेर मेरो अवस्था बताउनुभयो र सहयोग गर्न अनुरोध गर्नुभयो। भाइले पनि हुन्छ भन्नुभयो। अलिकति हिम्मत पलायो।

सर-म्याडमलाई छोड्न म ट्रेन स्टेसनसम्म गएँ। उहाँहरू दुबैका आँखा रसाएका थिए तर आफूलाई बलियो बनाउँदै मलाई हिम्मत दिँदै हुनुहुन्थ्यो। उहाँहरूको ट्रेन आइनपुग्दै मलाई फर्काइदिनु भयो। फर्किने बेला आँसु थाम्न सकिन, रुँदै फर्किएँ। जताततै हिउँले सेताम्मे थियो। चिसो निकै थियो। त्यो अन्जान सहरमा म एक्लै भएँ, टुहुरो जस्तै भएँ जहाँ अगाडि पहाड जस्तै चुनौती थपिएको थियो। मनभित्र डर-चिन्ताको तुफान चलेको थियो।

मेरा पाइला त्यसै लर्बराएछन्। झन्नै बीस मिनेट हिँडिसकेंछु र युनिभर्सिटी पुगिसकेंछु। आशिष् युनिभर्सिटी नजिकै बस्नुहुन्थ्यो। म आफ्नो अफिसमा गएँ। त्यहाँ कोही थिएनन्। मेरो टेबुलको अर्कोपट्टि धमला सरको टेबुल थियो। उहाँ गइहाल्नु भयो। म एकछिन बिनारोकावट रोइरहेँ। कसैले देख्लान् अथवा सुन्लान् भन्ने थिएन। मनभित्रको त्यो पीडालाई आँसुमा बगाइरहेँ। केही बेरमा सायद सकियो त्यो पीडा र रोकियो आँसु पनि ! आँसु पुछेँ अनि योजना बनाउन थालेँ अब कसरी एक्लै अपरेसनको तयारी गर्ने भनेर। 

 ध्यान गर्दा-गर्दै मैँले आफैँलाई ऊर्जाशील बनाएँ, हिम्मतिलो बनाएँ। मैँले मेरो अगाडिको समस्यालाई सानो आकारमा ढालेँ र जुरुक्क उठेँ कहिल्यै नथाक्ने गरी !

नेपालमा बिरामी हुँदा एक्लै हुने वा छाड्ने हाम्रो बानी छैन, एक जना बिरामी हुँदा परिवार नै बिरामीको साथमा हुन्छ। बिरामीलाई अरू कुराको केही चिन्ता हुँदैन। तर परेपछि हिम्मत पनि सँगसँगै आउँदोरहेछ। मलाई भाषा नआउने हुनाले सुरुमा भर्ना गर्ने बेला आशिषले सहयोग गर्नुहुन्छ भन्नेमा ढुक्क थिएँ। त्यसपछि अरू कुराको व्यवस्था म आफैँले गर्नुपर्छ भनेर अपरेसनपछि मलाई चाहिने खाना, पानी, अरू आवश्यक सामान अगाडि नै जम्मा गर्ने निर्णय गरेँ। सधैँ अरू आएर पकाएर खाना दिने सम्भावना हुँदैन किनकि सबै आ-आफ्नो काममा हुनुहुन्छ। यसरी ससाना योजना बनाउँदै म आशिषको समक्ष पुगेँ। आशिषले "नआत्तिनु हामी छौँ", भन्नुभयो। त्यो बेला धेरै ढाडस मिल्यो। म युनिभर्सिटीमा एकछिन बसेँ रिसर्चमा मन थिएन,घर फर्केँ। कोठा सुनसान थियो। तीन महिनासम्म धमला सर-म्याडम भएकाले विदेशमा छु, घर छोडेर आएकी छु भन्ने कुनै महसुस भएको थिएन। बुबा-आमासँग छु जस्तै भएको थियो। तर एक्लै हुँदा त्यो पनि छुट्टै आपत् आइलागेको बेला निकै आतेस लाग्दोरहेछ। एक छिन सुतेँ। सरहरू ट्रेनबाट पनि अनलाइन आएर मलाई हिम्मत दिइरहनुभएको थियो। म भने घरी रुन्थेँ; घरी चुप लाग्थेँ; कहिले अन्धकार लाग्थ्यो अगाडिको यात्रा त कहिले म गर्न सकिहाल्छु नि; भन्ने झिनो आशा र हिम्मत पलाउँथ्यो; मनको कुना-कन्दराबाट ! 

घरमा फोन गरेँ आमालाई ! हरेक दिन मेरो फोन नआएसम्म उहाँले हातमा मोबाइल बोकेर कुरिरहनु हुन्थ्यो। म एउटै समयमा फोन गर्थेँ। त्यो दिन निकै ढिलो भएको थियो। आमा उता साह्रै बिरामी हुनुहुन्थ्यो। ठुली दिदी बितेको छ महिना भएको थियो। कान्छो दाजु बितेको एक महिना पनि भएको थिएन। आमाले यी पीडालाई सहन सक्नुभएन। उहाँको अवस्था एक्कासि बिग्रियो। मेरो फोन उठाउँदै उहाँले भन्नुभयो"आज के भयो छोरी ? किन यति ढिलोसम्म फोन नगरेको ? कता गएकी थियौ ? बिरामी भयौ कि भन्ने चिन्ता लागिरह्यो ! फोन बोकेको बोकेकै छु।"

मैँले आमाको कुरा एकोहोरो सुनिरहेँ तर मेरो बारेमा केही पनि भनिनँ। काम परेकाेले ढिलो भयो फोन गर्न भनेर झुट बोलेँ। त्यो बेला उहाँलाई चिन्तामा पार्नुहुँदैन भन्ने सोचेँ। दाइ-भाइहरुलाई चाहिँ भनेँ"मेरो अपरेसन छ" भनेर ! कसरी गर्न सकिएला एक्लै भन्ने सबैको चिन्ताको विषय बन्यो। आमा जतिबेला फोन गर्दा पनि "मेराबारे चिन्ता नगर छोरी आफ्नो ख्याल गर" भन्नुहुन्थ्यो। उहाँलाई गाह्रो भइरहेको थियो। मैले आफूलाई बलियो बनाएँ त्यो दिन ! भएभरको हिम्मत जुटाएँ। सोचेँ "जसरी पनि सामना मैले नै गर्नुपर्छ अर्को उपाय नै छैन।" आमासँग कुरा गरेर फोन राखेँ। पहिलो पटक जीवनमा त्यति धेरै अन्धकार महसुस भएको थियो मलाई ! 

बिस्तारै मैले आफूलाई सम्झाएँ। सायद जीवन भनेकै यस्तै परिस्थितिहरूसँग जुध्दै अगाडि बढ्नु हो। सजिलो यात्रा त जसले पनि गर्छन् नि ! जे जे पर्छ म सामना गर्छु भनेर आफूलाई बलियो बनाएँ। एक छिन ध्यान गरेँ। "जीवनमा सबैभन्दा अन्तिम बिन्दु भनेको मृत्यु हो। आखिर सबै मर्ने हो। कोसिस गर्दा-गर्दै केही लागेन भने मरिन्छ। भोलि क्यान्सर होला ! त्यससँग एक्लै लड्नु पर्न पनि सक्छ। अझ ठूला-ठूला समस्याका पहाड अगाडि छन्। बिस्तारै चढ्ने कोसिस गर्नै पर्नेछ। हारेर मर्नु त भएन। अहिलेसम्म मैले कहिल्यै पनि हार्न जानेकी छैन, कुनै समस्यासँग डराएर भाग्न जानेकी छैन। खडा उत्रिएर हर समस्याको सामना गरेकी छु र जितेकी पनि छु। यसपालि पनि म सजिलै जित्नेछु।" ध्यान गर्दा-गर्दै मैँले आफैँलाई ऊर्जाशील बनाएँ, हिम्मतिलो बनाएँ। मैँले मेरो अगाडिको समस्यालाई सानो आकारमा ढालेँ र जुरुक्क उठेँ कहिल्यै नथाक्ने गरी !

आमा भन्दै हुनुहुन्थ्यो “छोरो मलाई छोडेर कता गएका थियौँ ? मलाई नछोड है !” आमाले म रोएको देख्नुभयो र भन्नुभयो “छोरी रुँदैछे। के गर्नु ? भेट नहुने भयो। उसलाई कति गाह्रो भएको छ, एक्लै छ उता !” फेरि पनि भन्नु भयो “अब पिर नमान। तिमी आफ्नो ख्याल राख !” मैँले आमाको कुरा सुन्न सकिनँ र फोन राखिदिएँ।  

चार बजेतिर नै साँझ पर्ने बेला भएकोले बाहिर हल्का अँध्यारो भइसकेको थियो। त्यस दिन बाहिर निस्कने जाँगर चलेन। खाना बिहानकै बाँकी थियो म्याडमले पकाउनुभएको। त्यस दिन हामी तिनैजनाले नै राम्रोसँग खाना खाएका थिएनौँ। भोक लागिरहेको थियो। त्यही तताएर खाएँ। अब अपरेसन पछाडि मलाई चाहिने सामानको सूची बनाएँ। भोलिपल्टदेखि नै अलि-अलि गरेर सामान जोहो गर्न थालेँ। कम्तीमा पनि १५-२० दिनलाई पुग्ने गरी नबिग्रने खाने कुरा मैले ल्याउन थालेँ। बिग्रने तरकारी-फलफूल, दूध, माछा-मासुचाहिँ अपरेसनकै अघिल्लो दिन किनेँ एक हप्ताका लागि ! 

अपरेसनको अघिल्लो दिन आशिष् र म अस्पताल गयौँ। त्यहाँको सबै कागजी काम सम्पन्न गरियो। आशिषले जर्मन भाषामा सबैकुरा मिलाउनुभयो। एक घण्टा लाग्ने कुरा गरे अपरेसन गर्न। पहिलेको अपरेसन गरेको ठाउँ पुरै काटेर फेरि सिलाउनुपर्ने रहेछ। भोलिपल्ट बिहानै भर्ना हुनु भनेर हामीलाई त्यस दिन घर पठाइदिए। त्यो दिन अलि खुसी थिएँ म। मलाई धेरै गाह्रो हुन्न होला भन्ने कुरामा विश्वास बढ्यो। तर घरमा आएपछि अर्को दुखको कुरा सुनेँ। 

भोलिपल्ट नै आमाको दश दानको पूजा राखेको रे ! त्यो सुन्दा पहाड नै खसेर थिचे जस्तो भयो ! निकै रोएँ म, एक्लै रोएँ। भिडियो कल गरेँ। आमा बाहिर तुलसाको मोठ नजिकै सुत्नुभएको थियो तर उहाँ राम्रोसँग कुराकानी गर्न सक्नु हुन्थ्यो। सबै दाइ-भाउजू, दिदीहरू, भाइ-बहिनीहरू वरिपरि थिए। मेरा आँसु अडिएका थिएनन्। ठूलो दाइ कतै गएर आउनु भएको थियो। आमा भन्दै हुनुहुन्थ्यो “छोरो मलाई छोडेर कता गएका थियौँ ? मलाई नछोड है !” आमाले म रोएको देख्नुभयो र भन्नुभयो “छोरी रुँदै छे। के गर्नु ? भेट नहुने भयो। उसलाई कति गाह्रो भएको छ, एक्लै छ उता !” फेरि पनि भन्नुभयो “अब पिर नमान। तिमी आफ्नो ख्याल राख !” मैँले आमाको कुरा सुन्न सकिनँ र फोन राखिदिएँ।  

मलाई होस हराउन थाल्यो कुन कुराको चिन्ता लिने ? के कुरामा पिर लिने ? म बेहोस जस्तै बनिरहेँ। लामो स्वास तान्थेँ। भित्र कता-कता पोलिरहन्थ्यो। बाहिर हिउँ परेर पूरा चिसो थियो। ढोकाबाट निस्कन गाह्रो थियो। तर म बाहिर निस्किएँ चिसोमा। दुई किलोमिटर हिँडेर आएँ। आफूलाई बलियो बनाउन कोसिस गरिरहेँ। त्यति हिँडेपछि अलि हल्का भयो। डाक्टरले मलाई क्यान्सरको शङ्का गरिसकेका थिए। रिपोर्टमा साँच्चै क्यान्सर आयो भने अब के गर्ने ? भन्ने मेरो चिन्ता थियो। आमालाई गाह्रो हुन्छ त्यतिबेला भन्ने सोचेको थिइन। साेचेँ – 'जेपर्ला पर्ला। मैले अब गर्ने सक्ने केही छैन। क्यान्सर भए पनि, आमा बित्नु भए पनि मेरो हातमा केही छैन। मैँले रोएर-चिन्ता गरेर बस्ने हैन, मेरो हातमा भएको मैँले सबै सहन र सामना गर्न हिम्मत गर्ने हो' भनेर चित्त बुझाएँ। 

डाक्टर आउनुभयो; आँसु खसाल्दै मलाई अँगालो हाल्नुभयो र भन्नुभयो “सरी उर्मिला !” उहाँले मलाई हेर्नै सक्नुभएन। मलाई रुनु कि हाँस्नु भयो। के गर्ने केही सोच्नै सकिनँ। तर म हाँसेरै बसेँ; कुनै शब्द नै थिएन बोल्ने। बस ! म हाँसिदिएँ उहाँका लागि। लगत्तै अर्को डाक्टर आउनुभयो र सोध्नुभयो “हाउ आर य' फिलिङ उर्मिला !?”  मैँले भनेँ “नाउ, आई एम फिलिङ गुड”। मेरो उत्तर सुनेर उहाँ चकित हुनुभयो। “आर यु गुड ?!” उहाँले फेरी दोहोर्‍याउनु भयो। मैले हाँसिदिएँ।

बेलुकीपख पसल गएँ। बाँकी खाने कुरा त जोहो गर्नुपर्‍यो। हिउँ छ, अपरेसन गरेपछि बाहिर चिसोमा हिँड्न झन् गाह्रो होला ! खाना गतिलो खाएन भने त उठ्न सकिन्न भनेर मैँले माछा तथा फलफूल तरकारी किनेर फर्किएँ। "बेलुका ६ बजे अगाडि नै खाना खानू अनि केही नखानू" भनेका थिए अस्पतालमा। मैँले त्यसै गरेँ र आनन्दले सुतेँ त्यस रात। 

मैँले सबै कुरा स्वीकारेँ 'जे पर्छ भगवानको मर्जी हो अब' भनेर ! खै कसरी मलाई त्यस रात दिन निद्रा लाग्यो; मन शान्त भएर आयो।सबैभन्दा ठुलो कुरा मैले त्यस दिन मैले आमाको निकट-भविष्यमा हुने मृत्युलाई स्वीकारेँ। आमा त कहिले पनि मर्नु हुन्न भन्ने लाग्थ्यो तर अब बाँच्नुहुन्न भन्ने स्वीकारेपछि मलाई हल्का भयो। सत्यलाई स्वीकार्न गाह्रो ! सत्य त सत्य नै हुन्छ हामीले बदल्न सक्दैनौँ। मैँले सोचेँ 'ठिकै भयो म आफू पनि बिरामी भएकाले आमाभन्दा अगाडि मरेँ भने उहाँलाई कति गाह्रो हुन्थ्यो होला।' २ ओटी छोरी क्यान्सरबाट गुमाएको धेरै भएकै छैन। कान्छो दाइ गुमाएको एक महिना हुँदै थियो ! म आफू पनि क्यान्सरबाटै मर्न सक्छु। त्यसैले अब चिन्ता लिने कुरा नै छैन ! आमालाई धेरै गाह्रो नहोस् भनेर कामना गरेँ ! जति बिरामी भएपनि बुबा-आमाभन्दा अगाडि मर्न नपरोस् भनेर भगवान् सम्झिएँ ! 

सन् २०१८ फेब्रुअरी ५ का दिन बिहान ५ बजे उठेँ। अस्पतालका लागि झोला मिलाएँ अनि निस्किएँ। सात बजे पुगिसक्नुपर्ने थियो। आशिषलाई अस्पतालमा नै भेट्ने निर्णय भएको थियो। म पुग्दा आशिष् आइसक्नु भएको थियो ! मलाई भर्ना गरियो। अब त्यहाँ आशिषको काम थिएन र युनिभर्सिटी जानुभयो। मलाई केही समयपछि अपरेसन थिएटरमा लगियो। मलाई बेहोस बनाउने डाक्टर आउनुभयो पहिले। नेपाल घुमेर जानुभएको रहेछ उहाँले नेपालको कुरा गर्नुभयो। हौसला बढाउनुभयो मेरो। निकै खुसी व्यक्त गर्नुभयो नेपाली यहाँ आएको भनेर। अलिकति अङ्ग्रेजी बोलेर दुख साट्न पाएँ मैँले उहाँसँग। 'अपरेसन सफल होस्' भनेर कामना गर्नुभयो। मैँले धन्यवाद दिएँ। त्यसपछि शरीरमा मेसिन फिट गर्दै,क्यानोला लगाइदिनुभयो। अनि के के मेडिसिन राख्दै हुनुहुन्थ्यो म निदाइसकेछु। बिउँझँदा मलाई धेरै दुखी रहेको थियो। मेरो बेड गुडिरहेको थियो। म डाक्टरको नाम लिएर मलाई दुख्यो भनिरहेको आफ्नै आवाज कानमा गुन्जिरहेको थियो। आइसियुमा पुगेपछि नर्सहरूले नदुख्ने मेडिसिन इन्जेक्सनबाट दिनुभयो। झन्डै आधा घण्टा मलाई धेरै दुख्यो अनि बिस्तारै दुख्न हरायो। ३ घण्टा जति आइसियुमा राखेपछि मलाई नर्मल बेडमा सारियो। त्यहाँ अर्को एक जना बिरामी थिइन्। हामी २ जना थियौँ। उनको पनि पाठेघरमा सानो अपरेसन रहेछ। सानो सिस्ट निकाल्ने भन्थिन्। उनी अङ्ग्रेजी बोल्न सक्ने थिइन्, त्यसैले अलि साथी भयो। उनी शरणार्थी थिइन्। उनको परिवार ठूलो थियो। मान्छेहरू आइरहन्थे। त्यो अस्पतालमा अङ्ग्रेजी बोल्ने मान्छे थिएनन्। एक जना डाक्टर हुनुहुन्थ्यो ! उहाँ पनि नेपाल आएर २१ दिनको अन्नपूर्ण ट्रेकिङ जानुभएको रहेछ। मलाई केही भन्नुपर्ने हुँदा अरू डाक्टर नर्सहरूले उहाँलाई बोलाई दिनुहुन्थ्यो। उहाँ निकै सहयोगी र माया गर्ने हुनुहुन्थ्यो ! 

हिजो ६ बजे अगाडि खाना खाएको। मलाई भोक लागिरहेको थियो। खाना छिटो दिए हुन्थ्यो नि जस्तो लागेको थियो। तर अपरेसन गरेकाले खाना दिँदैन थिए। म चुपचाप सुतिरहेँ। आमालाई कस्तो भयो होला भनेर मनमा कुरा खेलिरहेको थियो। दिन ढल्किँदै गयो। बेलुकी पख ६ बजे खाना आइपुग्यो। २ ओटा पाउरोटीका टुक्रा, चिज, बटर, ससेस, अनि कफी। यही थियो बेलुकाको खाना। मनमनै सोचेँ यस्तो खाना त मैँले कहिले खाएको थिइन बेलुका, त्यो पनि अपरेसन गरेको दिन ! हामी नेपाली जाउलो, भात, दाल खानुपर्ने। त्यति बेला नै आशिष् आइपुग्नु भयो। आशिषले अङ्गुर ल्याउनु भएको थियो त्यही खाएँ अलिकति। ससेस आशिषलाई खाना भने किनकि त्यो मैले कहिले नखाएको कुरा थियो। त्यो हाँसको थियो। पाउरोटीमा बटर चिज राखेर मैँले खाइदिएँ। तर मेरो भोक मेटिएको थिएन। त्यो दिन मलाई जाउलो, दाल, भातको धेरै नै सम्झना आयो। अनौठो खाना भएर होला रातभरि पेट करायो। अर्की बिरामी मुसुमुसु हाँस्थिन्। मेरो कन्ट्रोलमा थिएन त्यो। भित्र केही जनावर कराएको जस्तै कराउँथ्यो पेट। अलिअलि लाज पनि लाग्यो। त्यही खाना खाएकी उनीलाई केही भएको थिएन। तर उनको समस्या चाहिँ ग्यास छोड्ने थियो। जे होस् हामी २ जनाका आ-आफ्नै समस्या थिए। 

बल्ल बल्ल रात काटियो। कहिले डिस्चार्ज होला भनेर म कुरिरहेँ। आशिष् डिस्चार्ज गर्ने बेला आउने कुरा थियो तर आउन भ्याउनुभएन। आशिषकी श्रीमती रेश्मा आउने कुरा भयो तर उहाँ पनि आउन ढिलो भयो। बिहानको ११ बजे मेरो डिस्चार्ज भयो। म सकिनकी झोला बोकेर गेटतिर गएँ र रेश्मालाई कुर्न थालेँ। भोकले मलाई धेरै सताएको थियो। अलिकति दाल या जाउलो खाना पाए आँखा देख्थेँ जस्तो भइरहेको थियो। रेश्मा आएर ट्याक्सी बोलाउनुभयो ! मैँले सोचेकी थिएँ उहाँ मसँग कोठामा जानु होला भन्ने तर काम रहेछ अन्तै, म एक्लै गएँ। ट्याक्सी घर अगाडि गएर रोकियो। हिउँले हिँड्न नसक्ने थियो। मैँले झोला उचाल्नै सकिन ! ड्राइभरले सहयोग गरिदिनुभयो, ढोका अगाडि लागेर राखिदिनु भयो झोला। जर्मनीमा नसकेको बेलामा सोधी-सोधी सहयोग गर्ने मनहरू भेटिन्छन्। मलाई अन्जान मान्छेहरूले निकै पटक सहयोग गर्नुभएको छ। 

म भोकले रन्थनिएकी थिएँ। कोठामा पस्ने बित्तिकै मैँले खाना बसालेँ। देब्रेहात चल्दैन थियो। शरीरमा करेन्ट लागेको जस्तै भएको थियो। दाहिने हातले मात्र एकातिर भात र अर्कोतिर सुप हालेर सालमनफिस पकाएँ बस्दै नबसी। २०-२५ मिनेटमा खाने कुरा तयारी गरेँ अनि बसेर पहिले खाना खाएँ। खाना खाएपछि शरीरमा निकै आराम मिल्यो। त्यसपछि मात्र अस्पतालबाट आएको कपडा फेरेँ र सुतेँ। रातभरि निद्रा लागेको थिएन। २, ३ घण्टा निदाएँ। नेपालबाट धमला सरले फोन गर्नुभयो। सबै बताएँ अनि फेरि सुतेँ। घरमा फोन गर्ने आँट आएको थिएन। आफ्नो बिरामी अनुहार आमालाई देखाउने मन पनि थिएन। शरीर अलि फ्रेस भएपछि बेलुकीपख घरमा फोन गरेँ। आमाको हिजोको दश दानको पूजापछि अलि उठेर बस्नुभएको थियो। सुनाउँदै हुनुहुन्थ्यो "मेरो पूजा भयो तिमी अस्तिदेखि मसँग बोल्दै बोलिनौ। म दिनभरि कुरिरहेकी थिएँ। कहाँ गयौँ तिमी ? बिरामी भयौ कि भनेर चिन्ता लागि रह्यो !" आमाको मन ! आफू मर्न लाग्दा पनि छोराछोरीकै चिन्ता हुने रहेछ। अब चाहिँ ढाँट्न सकिनँ अनि भनेँ“म अस्पताल गएकी थिएँ। सानो अपरेसन थियो। मलाई ठीक भइसक्यो अहिले।" आमा भन्दै हुनुहुन्थ्यो "एक्लै छ्यौ कसरी पो गर्छ्यौ?" जति बेला पनि "मेरो पिर नमान, आफ्नो ख्याल गर, राम्रो गर" भन्नुहुन्थ्यो। आमालाई थाहा थियो मेरो अपरेसन गरेको घाउ पाकेको पाकेकै भयो भन्ने। अब चाहिँ निको होला कि भनेर आशा गर्नुभयो। 

अब यो पालि त बाँचेँ भनेर ढुक्क भएँ म। बेलुका पनि दिउँसो बनाएकै खाना खाएँ र सुतेँ बेलैमा। शरीर कमजोर त भएको थियो। तर कसैलाई म कमजोर भएँ भनेर सुनाउने ठाउँ नभएपछि आफैँ बलियो भइँदो रहेछ। बिरामी छु भन्ने पनि बिर्सिँदो रहेछ। त्यो नौलो अनुभूति भयो मलाई। बिहान राति नै धमला सर-म्याडमले फोन गर्नुभयो। कुराकानी भयो। मलाई ठीक छ भनेँ। उहाँहरूले धेरै हिम्मत थपिरहनुभयो। दिनमा ३, ४ पटक फोन गर्नुहुन्थ्यो। खाने कुरा के खायो, कति खायो सबै सुनाउनुपर्थ्यो। कति घण्टा सुतेँ, दुखेको छ कि छैन सबै सुनाउँथेँ। अनि बल्ल सर-म्याडमलाई पनि शान्ति भएको थियो। हामीहरुबीचमा शान्त रहनुबाहेक अर्को उपाय पनि थिएन। त्यति बेला मेरा जर्मनीका प्रोफेसर घुम्न जानु भएको थियो जर्मनीबाहिर। त्यसैले उहाँको सहयोग लिन पनि सकिएन। दिन काट्न मुस्किल थियो। शान्तसँग बस्थेँ। ध्यान गर्थेँ। एक्लै खुसी हुन कोसिस गरिरहन्थेँ। बाहिर हिँड्न सक्दिन थिएँ हिउँका कारण। बोल्ने मान्छे थिएनन्। बिस्तारै बसेर अलिअलि पढ्न थालेँ। घरमा आमालाई पनि अलि आराम भएको थियो। दिनदिनै कुरा गर्थेँ। 

मेरो रिपोर्ट आयो। त्यहाँ क्यान्सर थिएन तर नेपालमा अपरेसन गर्दा धागो छुटेको रहेछ। त्यसैले गर्दा मेरो घाउ थाक्न नसकेको रहेछ। मन खुसी थियो। म दैनिक काममा लागेँ। आमालाई पनि निकै आराम थियो। डेड महिना बित्यो। मेरो शरीरमा फेरि असजिलो हुन थाल्यो। हिँड्दा थाक्ने, तल्लो पेटमा बेलुन जस्तो केही चिज घुमेको अनुभव हुने, हल्का दुख्ने हुन थाल्यो। मलाई बिस्तारै गाल्दै थियो। हिँडडुल गर्न गाह्रो हुन थाल्यो। सकिनकी हिँड्थेँ। त्यतिबेला नै घरमा आमा बित्नुभयो। त्यतिबेला झन् मलाई गाह्रो भयो जुन स्वाभाविक थियो। म हाउस डाक्टरको मा गएँ। सिधै इमरजेन्सीमा पठाइदिनु भयो। आमा बितेको १३ दिनमा सन् २०१८ मार्च २८ मा मेरो अर्को अपरेसन गरियो, त्यस तीन घण्टा लामो अपरेसन थियो, दश दिन अस्पताल बसेँ र पत्ता लाग्यो ओभरियन अर्थात् डिम्बाशयको क्यान्सर !

त्यसबेला मैले भित्रबाट नै आफूलाई एकदम जमेको जस्तै अनुभव गरेँ। डाक्टर आउनुभयो; आँसु खसाल्दै मलाई अँगालो हाल्नुभयो र भन्नुभयो “सरी उर्मिला !” उहाँले मलाई हेर्नै सक्नुभएन। मलाई रुनु कि हाँस्नु भयो। के गर्ने केही सोच्नै सकिन्न। तर म हाँसेरै बसेँ; कुनै शब्द नै थिएन बोल्ने। बस! म हाँसिदिएँ उहाँका लागि। लगत्तै अर्को डाक्टर आउनुभयो र सोध्नुभयो “हाउ आर य' फिलिङ उर्मिला !?”  मैँले भनेँ “नाउ, आई एम फिलिङ गुड”। मेरो उत्तर सुनेर उहाँ चकित हुनुभयो। “आर यु गुड ?!” उहाँले फेरी दोहोर्‍याउनुभयो। मैले हाँसिदिएँ। उहाँले मलाई सम्झाउनु भयो। "यो क्यान्सरको उपचार हुन्छ। तिमी जर्मनीमा छौ। यहाँ निकै राम्रो उपचार छ। कति पनि पिर नमान। हामी सबै डाक्टरहरू तिम्रो साथमा छौँ। तिमी निकै युवा छौ। त्यसैले क्यान्सरलाई सजिलै जित्न सक्छौ।"

उहाँको कुरा सुनेपछि मैँले भनेँ"मसँग पैसा छैन उपचार गर्ने !" उहाँले भन्नुभयो "त्यसको चिन्ता नै नगर। तिम्रो उपचार सबै इन्सोरेन्सले गर्नेछ। तिम्रो इन्सुरेन्स छ। तिमी बलियो भएर क्यान्सरसँग लड्ने हिम्मत, साहस मात्र बढाइराख। तिमी चालिस वर्षमुनिको युवा भएकाले तिमीलाई त झन् विशेष हेरचार गर्नेछ। तिमीलाई घरमा सहयोग चाहियो भने, काउन्सिलसङ चाहियो भने पनि इन्सुरेन्सले सहयोग गर्ने छ।"

उहाँको यो कुराले मेरो मनको ठूलो बोझ घटेर गयो। मनमनै सम्झेँ 'सायद म पहिलो मान्छे थिएँ होला क्यान्सर हुँदा पनि खुसी हुने। किनकि मलाई क्यान्सर जर्मनीमा हुँदा भयो। त्यतिबेला नेपालमा थिएँ भने त्यो मेरो अन्तिम समय नै थियो किनकि मसँग पैसा थिएन उपचार गर्ने !'मृत्युलाई स्वीकार्नुको अर्को विकल्प नै हुँदैनथियो मसँग। मैँले सम्झेँ 'अबको यो मेरो जीवन बोनस को जीवन हो र यो बाँकी जीवनमा मैँले हिम्मत हारेर, दुखी भएर होइन चट्टान जस्तै बलियो भएर क्यान्सरको सामना गर्दै आफ्ना अधुरा रहरहरुलाई पुरा गर्नुछ।'

आमा बितिसक्नु भएको थियो। आमाको चिन्ता हुन्थ्यो अब त्यो पनि थिएन। मैँले आफूलाई निकै बलियो बनाएँ। क्यान्सर सुन्दा आँखाबाट एक थोपा पनि आँसु झरेन मेरो। त्यो अस्पतालको त्यो विभागको विभागीय प्रमुख आउनुभयो अङ्ग्रेजी बोल्ने नेपाल आएर जानुभएका अर्का डाक्टर साथमा लिएर। पहिले पनि उहाँले मलाई त्यसैगरी भेट्नुभएको थियो। उहाँले पनि निकै हिम्मत बढाउनुभयो। अनि त्यो अपरेसनको चार हप्तापछि फेरि अर्को मेजर अपरेसन ड्रेस्डेनमा हुने कुरा बताउनुभयो। मैँले केही पनि चिन्ता लिनु नपर्ने उहाँहरूले नै सबै कुरा मिलाउनु हुनेछ तर अपोइन्टमेन्ट लिएको दिन डाक्टर भेट्न ड्रेस्डेन जानुपर्ने कुरा भन्नुभयो। मैँले उहाँहरूले भने अनुसार गरेँ। मैले हाँसेर नै कुरा सुनिरहेँ। 

आमाको कुरा आएपछि म एकाएक भक्कान्निएँ: म रोएँ उहाँका अगाडि। म रोएको देखेर उहाँ त झन् खुसी पो हुनुभयो अनि भन्नुभयो "म थोरै भए पनि सफल भएँ उर्मिला !"

मेरो तेस्रो तथा ठूलो आठ घण्टाको अपरेसन सन् २०१८ मे ८ का दिन ड्रेस्डेन युनिभर्सिटी अस्पताल, जर्मनीमा भयो जहाँ एघार जनाको टिम थियो। मलाई कुनै प्रकारको दुःख अथवा डर केही थिएन। थाहा छैन किन म रमाइरहेकी थिएँ। फेरि त्यहाँ प्रायः सबै जना अङ्ग्रेजी बोल्नुहुन्यो। त्यसैले मलाई झन् रमाइलो लागेको थियो। अपरेसनपछि होस आउँदा नुहाएर निस्किए जस्तै हल्का भएको थियो। भोलिपल्ट डाक्टरहरूको टिम आउँदा म हाँसिरहेकी थिएँ। मलाई हाँसिरहेको देखेर डाक्टर पनि हाँस्दै सोध्दै हुनुहुन्थ्यो “आज किन यति धेरै खुसी छौ ?” मसँग केही उत्तर हुन्न थियो मात्र हाँसी दिन्थेँ।

अपरेसनको दुई दिनपछि अर्को एकजना डाक्टर आउनुभयो। मेरो छेउमा आएर बस्नुभयो अनि कुराकानी गर्न थाल्नुभयो। मेरो बालापन, पढाई, परिवारका बारेमा, जर्मनीको यात्रा सबै कुरा सोध्नुभयो। मेरो सपना, बिपना केही बाँकी नराखी सोध्न थाल्नुभयो। उहाँको हरेको प्रश्नको जवाफ मैँले हाँसी हाँसी खुसी हुँदै दिँदै थिएँ। झन्डै साढै दुई घण्टा जति कुराकानी भयो। मनमनै लाग्थ्यो कस्तो उहाँको काम नै रहेन छ कि क्या हो यतिका समय यहाँ कुरा गरेर बस्नुभयो। फेरि मेरो समय रमाइलो भएको थियो उहाँसँगको कुराकानीमा। 

म डरलाग्दो सपनामात्र देख्थेँ। उहाँले कसरी त्यसलाई सकारात्मक सपनामा बदल्ने भन्ने तरिका पनि सिकाउनुभयो। कुराकानी गर्दै जाँदा अन्तिममा आमाको कुरा आयो। आमाको कुरा आएपछि म एकाएक भक्कान्निएँ: म रोएँ उहाँका अगाडि। म रोएको देखेर उहाँ त झन् खुसी पो हुनुभयो अनि भन्नुभयो "म थोरै भए पनि सफल भएँ उर्मिला ! तिमी रुनु पर्छ। रोएपछि हल्का हुन्छ। पीडालाई भित्र दबाएर राख्नुहुन्न। भित्री पीडाले उपचार राम्रो लाग्दैन। तिमी ठूलो युद्ध मैदानमा छौ यतिबेला। तिमीले सबै हिम्मत रोगसँग लड्न लगाउनुपर्छ। म तिमीलाई रुवाउँछ नै आएको हुँ। तर निकै समय लाग्यो ! तर म खुसी छु किनकि सफल भएँ म तिमीलाई रुवाउँछ ! म साइक्याट्रिस हुँ यस विभागको ! यहाँ धेरै बिरामी तिमी जस्ता छन् ! अरूलाई फुल्याउन गाह्रो पर्छ तर तिमीलाई रुवाउन गाह्रो पर्‍यो मलाई ! तिमी धरै साहसिलो छौ ! तिमीले सजिलै क्यान्सरलाई जित्नेछौ !"

उहाँको कुरा सुने मलाई अब फेरि रुनु कि हाँस्नुभएको थियो। म रुन्चे हाँसो रुँदै थिएँ। फेरि तीन दिनपछि मलाई भेट्न आउने कुरा बताउँदै; मेरो सपनामा परिवर्तन आएको सुन्न चाहने इच्छा व्यक्त गर्दै उहाँ जानुभयो ! मलाई त्यो वार्तालाप तथा उहाँको व्यवहारले निकै समय शान्ति दिइरह्यो। भित्रैदेखि नै मैले हलुका महसुस गरिरहेँ। मलाई निकै फाइदा भयो। अब त झन् हृदयदेखि नै मुस्कुराउन थालेँ म ! मैले यति धेरै माया पाएँ त्यो अस्पतालमा कि एघार दिनमा घर जाने बेला मेरो आँखाबाट आँसु झरे अस्पताल छोड्नुपर्दा !

(चौसठ्ठीपटक किमेथेरापी दिएकी क्यान्सर पीडितको प्रा.डा उर्मिला प्याकुरेल आफैंले लेखेको हाँसो र रुवाइको यो आलेख सम्पादनसहित प्रस्तुत गरिएको छ। उहाँ स्तन, दुवै डिम्बाशय, पेट, कलेजो र फोक्सोको क्यान्सरलाई हिम्मतिली छोरीका रूपमा पटक पटक पछार्दै ४१ वर्षमा नै प्राध्यापक बन्नुभएको छ। हाल उहाँ त्रिभुवन विश्वविद्यालयको केन्द्रीय गणित विभागमा सबैभन्दा कान्छी प्राध्यापकका रूपमा कार्यरत हुनुहुन्छ। उहाँलाई क्यान्सरले छाडेको छैन।)

यो पनि पढ्नुहोस

क्यान्सरविरुद्ध प्रयास

यो पनि पढ्नुहोस

उपचार र मनोबलको लोभलाग्दो सफलता

लेखक बाट थप