• १३ साउन २०८१, आइतबार

राप्रपाका चार मन्त्रीद्वारा राजीनामा

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राजीनामा बुझाउनुहुँदै उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं, फागुन १३ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिनुभएको छ ।

राप्रपाको तर्फबाट सरकारमा सहभागी उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले मन्त्री पदबाट राजीनामा दिनुभएको हो ।

उहाँहरूले शनिबार दिउँसो बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष  राजीनामा बुझाउनुभएको छ ।


आजै बिहान पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई लिएको समर्थन फिर्ता लिएसँगै उहाँहरूले राजीनामा दिनुभएको हो ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बैठकले गत पुस १० गते राष्ट्रियता, विकास, सुशासन र सेवाप्रवाहसँग सम्बन्धित विषयवस्तुमा केन्द्रित हुनेगरी समर्थन गरेपनि  राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक परिस्थितिमा हठात परिवर्तन हुँदा विद्यमान अवस्थामा राप्रपा सरकारमा रहिरहनु अनुपयुक्त नहुने ठहरसहित सरकारबाट बाहिरिएको बताउनुभयो ।

पार्टीले प्रदेश सरकारमा दिएको समर्थन फिर्ता लिनुका साथै प्रदेश सरकारबाट पनि बाहिरिने निर्णय गरेको छ ।