• १३ साउन २०८१, आइतबार

राष्ट्रपति अत्यधिक मतले जित्छौँ : नेता सिटौला

blog

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला । फाइल तस्बिर

काठमाडौं, फागुन १३ गते । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रपतिमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको जित सुनिश्चित भएको दाबी गर्नुभएको छ ।

शनिबार पार्टीको केन्द्रीय सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै नेता सिटौलाले यस्तो दाबी गर्नुभएको हो ।

उहाँले पार्टीले वरिष्ठ नेता पौडेललाई सर्वसम्मतिले स्वीकार गरेको बताउनुभयो । राष्ट्रपतिमा आफ्नो चर्चा हुनु स्वाभाविक रहेको नेता सिटौलाको भनाइ छ । उहाँले शुक्रबार बैठकमा सहभागी ८ दलले नै पूर्णरुपमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने पनि बताउनुभयो ।

नेता सिटौलाले भन्नुभयो, ‘‘राष्ट्रपतिको उम्मेदवारमा रामचन्द्र पौडेल सर्वसम्मत हुनुभएको हो । मेरो पनि चर्चा थियो, त्यो स्वाभाविक पनि छ । सभापतिज्यूले प्रस्ताव राख्नुभयो, हामीले सर्वसम्मतले पास गरेका छौँ । अहिले गठबन्धनमा रहेका सबैको समर्थन रहन्छ । उहाँको विजय निश्चित छ । अत्यधिक मतले विजय निश्चित छ ।’’ नेता सिटौलाले राष्ट्रपतिमा पौडेल अत्यधिक मतले विजयी हुने दाबी गर्नुभयो ।