• १० मंसिर २०८१, सोमबार

एक गुमनाम चित्रकार

blog

हरिप्रसाद वैद्यको नाम र कामसँग नेपाली समाज विरलै परिचित होलान् । भाइलेन वादनका एक नामुद कलाकारको परिचय चित्रकलामा पनि उत्तिकै गहकिलो रहेको छ । कलामा उहाँले उहिल्यै अनेकौँ काम गर्नुभयो तर उहाँको कामलाई अहिले हेर्नुपर्ने अवस्था आयो । चर्चा नखोज्ने काममै तल्लीन भइरहने अधिकांश नेपाली कलाकारको नियति–दोष नै यही हो । 

कलाकारले गरेको कामको खोजी तथा मूल्याङ्कन राज्यले गर्नुपर्ने हो । कलाकारले चर्चा, पुरस्कार, सम्मानको पछि लाग्ने होइन । जीवनभरि कलासाधनामै मरिमेट्ने कतिपय कलाकारका कामको ख्याति विदेशसम्म फैलिएको हुन्छ तर आफ्नै देशमा गुमनाम भएर बाँच्नुपर्ने बाध्यता विद्यमान छ । अझ मृत्युपश्चात् त उनीहरूको नामोनिसानै बाँकी रहँदैन । यो दुर्भाग्यको कुरा हो । अन्ततः यही नियति–दोषको सिकार र दुर्भाग्यको चोटमा चित्रकार हरिप्रसाद वैद्य पनि पर्नुभयो । 

ढिलै भए पनि वैद्यको योगदानलाई सार्वजनिक गरेर अलिकति भए पनि आत्मसन्तोषको वातावरण बनेकोमा उहाँलाई पनि खुसी लागेको छ । किनभने गत २०७९ साल वैशाख १०–१२ मा उहाँले अहिलेसम्म सिर्जना गर्नुभएका ५२ वटा चित्रको प्रथम एकल कलाप्रदर्शनी भयो । नेपाल कला परिषद, बबरमहलमा नेवाः ग्वहालि पुचःले आयोजना गरेको यो प्रदर्शनीसँगै ८६ वर्षे कलाकार वैद्यको सिर्जनात्मक योगदानको चर्चा गर्दै उहाँलाई सम्मानसमेत गरिएको थियो । उहाँले जीवनका विभिन्न कालखण्डमा प्राप्त गरेका सम्मानपत्र र पुरस्कार पनि प्रदर्शनीमा राखिएको थियो ।

उहाँ भन्नुहुन्छ, “मेरो कामको खोजी र मूल्याङ्कन राज्यले कहिल्यै गरेन तर समाजले गरिदियो । समाजमा मलाई यो उमेरमा पनि यत्तिका काम गर्न सक्ने भनेर चिनाइदियो, यसमा मलाई अत्यन्तै खुसी लागेको छ । मैले उमेरमा आफूले जानेको, सिकेको र सकेको काम गरेँ । ती काम देखेर दर्शकले मलाई बधाई र शुभकामना दिनुभयो ।” 

त्यो समयमै आफूले यस्तो प्रोत्साहन र प्रेरणा पाएको भए अझ यसमा गहिरिएर लाग्ने उहाँको भनाइ छ । यो उमेरमा यति हुनु पनि सन्तोषकै कुरा हो । उपत्यकाको संस्कृति, नेपाली भूदृश्य र मानवीय मनोभाव झल्काउने चित्र त्यो प्रदर्शनीमा राखिएको थियो ।

वि.सं. १९९३ मा काठमाडौँको टेङ्गल टोल रक्तकालीमा उहाँको जन्म भएको हो । उहाँका बुवा रुद्र देवानन्द वैद्य र आमा नानीछोरी वैद्य हुनुहुन्छ । अहिले स्वयम्भू डल्लुको तुलसीधारा छेउमा उहाँको निवास छ । केही वर्षदेखि शारीरिक अस्वस्थताले कलाकर्ममा उहाँको संलग्नता टुटिसकेको छ । यद्यपि कला, सङ्गीत र साहित्यप्रति उहाँको अभिरुचि उहिलेदेखि अहिलेसम्म उत्तिकै प्रगाढ छ । 

२०११ सालतिर त्यो समयका चर्चित चित्रकार चन्द्रमानसिंह मास्केसँग उहाँले चित्रकलाको आधारभूत शिक्षा लिनुभयो । राणाविरोधी आन्दोलनमा सर्वस्वहरणसहित जेलनेल पर्नुभएका कलाकार मास्के गुरुसँगको सिकाइलाई उहाँले राम्रै उपयोग गर्नुभयो । गुरुको कलाशिक्षा र आफ्नै प्रयासमा आफूभित्र लुकेको चित्रकलाको प्रतिभा बाहिर ल्याउन सफल भएको उहाँ बताउनुहुन्छ । 

वैद्य भन्नुहुन्छ, “यसै क्रममा अस्ट्रेलियाका विभिन्न चर्चित वरिष्ठ सङ्गीतकारसँगै त्यहाँका मुख्य सहरमा आफ्ना चित्रकला र परम्परागत नेपाली सङ्गीत प्रस्तुत गरेको थिएँ । २०३९ सालतिर आयोजना गरिएको ‘अन्तर्राष्ट्रिय साँझ’को नाममा आफ्नो कला र सङ्गीतको परिचय गराउन पाउँदा ठूलो सन्तुष्टि र सफलता मिलेको अनुभूति भएको थियो तर अफसोस मैले त्यहाँ प्रदर्शनीमा राखेका चित्रले भरिएको बाकस युरोपमा हराउँदा मेरो जीवनभरिकै सम्पत्ति मैले गुमाउन पुगेको थिएँ ।” 

नेपाली चित्रकलाको क्षेत्रमा कलाकार हरिप्रसाद वैद्यको योगदानलाई सम्झिने र यसको कदर समयले गर्ला वा नगर्ला तर उहाँको कलासाधना र कलासिर्जनाको पाटो उल्लेखनीय रहेको छ । विशेषगरी नेपाली कला र सङ्गीत संस्कृतिको क्षेत्रमा उहाँको निःस्वार्थ समर्पण महìवपूर्ण रहिआएको छ । उहाँले आजभन्दा पाँच दशकअघि नै त्यो बेलाको प्रकृति र दृश्यलाई ‘ल्यान्डस्केप’मा उतार्नुभयो । ती चित्र हेर्दा काठमाडौँको बदलिँदो स्वरूपको तुलना सहजै गर्न सकिन्छ । त्यसैगरी उहाँले ‘पोट्रेट’ कलामा पनि आफ्नो शिल्प–दक्षता प्रस्तुत गर्नुभयो । जलरङमा आफ्नै मातापिताको ‘पोट्रेट’ चित्रले यसको पुष्टि गर्छ, जसमा व्यक्तिको स्पष्ट पहिचान झल्किनुका साथै कलाकारी दक्षता पनि देख्न सकिन्छ । आपूmले बनाएका चित्रबारे उहाँ भन्नुहुन्छ, “मैले बनाउने चित्रको विषय प्रकृति र जनजीवन हो । मैले त्यसमा बाह्य अवस्थाको सट्टा भित्री सूक्ष्मता र भित्री अनुभूति वा मानसिकताको खोजीमा केन्द्रित भएर कला सिर्जना गर्ने गर्छु । मेरा कलाका प्रशंसकले पनि यसै भन्नुहुन्छ । यसले जीवनको अध्ययन र सांस्कृतिक सभ्यता बुझ्न मद्दत गर्छ भन्ने मलाई लाग्छ । मैले आफ्ना चित्रमा पानी रङ, चारकोल, पेस्टल र तेल रङ प्रयोग गरेर चित्र बनाउने गछुर्् ।” 

चित्रकार वैद्य भाइलेन वादनमा पनि पोख्त कलाकार हुनुहुन्छ । उहाँका अनुसार २०१२ सालमा काठमाडौँ, भीमसेन टोलका वरिष्ठ सङ्गीतज्ञ कृष्णलाल तण्डुकारसँग पियानो वादन र प्रशिक्षण लिनुभयो । सङ्गीतज्ञ गुरुसँग आफूले यस विधामा राम्रो दक्षता हासिल गरेको उहाँ बताउनुहुन्छ । भाइलेन वादनका रूपमा उहाँले देश–विदेशमा आफ्नो प्रतिभा प्रस्तुत गर्नुभयो । खासगरी भारत, चीन, अस्ट्रेलिया र युरोपका विभिन्न ठाउँमा आफूले भाइलेन वादनका माध्यमबाट नेपाली सङ्गीत प्रस्तुत गरेर नेपाललाई चिनाएको उहाँ बताउनुहुन्छ । 

चित्रकला र सङ्गीतकलाका साथै सम्पदा संरक्षणमा पनि उहाँ उत्तिकै क्रियाशील हुनुहुन्छ । नेपाली वास्तुकलाका ज्ञाता र प्रवद्र्धकका रूपमा पनि उहाँ चिनिनुहुन्छ । पुराना मठमन्दिर, फल्चा र कलात्मक घरको जीर्णोद्धार, पुनर्निर्माण तथा निर्माणमा उहाँको योगदान रहेको छ । 

यसबारे थप जानकारी दिँदै वास्तुविद् वैद्य भन्नुहुन्छ, “मैले इन्द्रचोकको आकाश भैरवको घर, महाबौद्धको क्वाःपाः छेँ, मखनको वडाछेँ, नारायण मन्दिर, गणेश मन्दिर र बाङ्गेमुडाको नासः द्यलगायत मन्दिर तथा विहार निर्माणमा सहयोग गरी सम्पदा संरक्षणमा आफूले सकेको काम गरेको छु ।”