धनगढी समाचारदाता
धनगढी, फागुन १३ गते । चिटिक्क सिँगारिएको डोला थियो। त्यसभित्र गलाभरि पैसाको माला लगाउनुभएका ‘दुल्हेराजा’ । डोलाको पछिपछि परम्परागत वेशभूषामा सजिएका महिला, युवकयुवतीसहित बालबालिका पनि बाजागाजाको तालमा नाचिरहेका थिए।
सुदूरपश्चिम प्रदेशको तराईवासी, आदिवासी, जनजाति र रानाथारू समुदायको विवाहमा देखिएको दृश्य हो, यो। विवाहमा बेहुला (दुलहा)लाई डोला र बेहुली (दुलही)लाई डोलीमा बोक्ने रानाथारू समुदायको पुरानो चलन हो। डङ्गौरा, देउखरिया थारूले डोलाडोलीमा बेहुलाबेहुली बोक्ने चलनलाई मास्दै गएका बेला रानाथारू समुदायले भने आफ्नो पुरानो परम्परालाई जोगाएर राखेको छ।
यो चलनलाई जीवन्त राख्नका लागि रानाथारू समुदायले हरेक विवाहमा डोलाडोलीको अनिवार्य रूपमा प्रयोग गर्दै आएको छ। युवा पुस्तामा यो संस्कृति, संस्कार पुस्तान्तरण गर्ने उद्देश्यसाथ दुलहालाई डोला र दुलहीलाई डोलीमा बोक्ने परम्परा नछोडेको धनगढी उपमहानगरपालिका–८, धनगढी गाउँका लालमणि राना बताउनुहुन्छ।
उहाँले भन्नुभयो, “हाम्रो जुन संस्कृति छ, त्यो युवा पुस्तालाई देखाउन र अपनाउनका लागि हामीले विवाहमा डोलाडोलीको प्रयोग गर्न छोडेका छैनौँ।” उहाँका अनुसार प्रयोग गरेर नदेखाउँदासम्म युवा पिँढीले परम्परागत संस्कृति, चालचलनलाई सजिलै स्वीकार्ने वा बुझ्ने अवस्था छैन। उहाँले भन्नुभयो, “त्यसैले हाम्रो समुदायको हरेक विवाहमा यसको प्रयोग हुन्छ।”
डङ्गौरा, देउखरिया थारूमा आधुनिकताको प्रभाव बढ्दो छ। यो समुदायका थारूले आफ्नो आर्थिक हैसियतअनुसार विवाहमा ठुल्ठूला सवारीसाधनको प्रयोग गर्न थालेका छन्। डोलाडोली चढ्नुको सट्टा दुलहादुलही झकिझकाउ पारिएको कार चढ्ने गर्छन्। पहिले दुलहा डोलामा र दुलही डोलीमा छुट्टाछुट्टै बेहुलाको घरसम्म पुग्ने चलन थियो। अहिले कारमा दुवै सँगै बसेर पुग्छन्।
रानाथारू समुदायका अगुवाका अनुसार रानाथारू समुदायको विवाहमा कारको प्रयोग पनि नहुने होइन तर कार चढ्नुभन्दा पहिले दुलहा डोला र दुलही डोलीमा बसेर केही दूरी पार गर्नैपर्छ। धनगढी उपमहानगरपालिका–७, मनहेराका झगरु रानाले भन्नुभयो, “पचास मिटरसम्म भए पनि दुलहादुलही डोलाडोलीमा चढ्नुपर्छ।” रानाथारू समुदायले बेहुलालाई राजा मान्ने गर्दछ। त्यसैले बेहुलाहरूलाई ‘दुल्हेराजा’ भनिन्छ र डोला पनि राजा बस्ने ठाउँ जस्तै सिँगार्ने चलन छ। डोलाको सबैभन्दा माथि लोटा र मयूरको प्वाँख राखेर श्रीपेच बनाइएको हुन्छ। त्यस्तै डोलालाई मुर्छा, कतारो, छट्री, मयूरको प्वाँख, बेलुनलगायतले सजाइने गरिन्छ। विभिन्न किसिमको कपडा प्रयोग गरेर डोला बनाउने र सजाउने गरिएको रानाले बताउनुभयो।
उहाँका अनुसार बेहुला बोक्ने डोला खाटमा बनाइन्छ। जसमा बाँस र बोक्नका लागि काठ प्रयोग गरिएको हुन्छ। डोलालाई बेहुलाका भिनाजुहरू वा बहिनी ज्वाइँहरूले बोक्ने गर्छन्। “विवाहमा डोला बोक्ने जिम्मेवारी भिनाजु र दुलहाका बहनुइँ (बहिनी ज्वाइँ)हरूको मात्रै हो,” रानाले भन्नुभयो।
बेहुलाको भिनाजु वा बहिनी ज्वाइँ नभएको खण्डमा मात्रै अरूले डोला बोक्ने गरेको जनाइएको छ। ठीक यसैगरी दुलही बोक्नका लागि डोली तयार गरिएको हुन्छ तर डोलीमा श्रीपेच भने नहुने गरेको लालमणिको भनाइ छ। बेहुलीका दाजुभाइले डोली बोक्ने चलन रहेको धनगढी गाउँका फिरङ्गी राना बताउनुहुन्छ। “टाढा लैजानू छ भने गाउँका अन्य मान्छेले पनि पालैपालो डोली बोक्ने गर्छन्,” उहाँले भन्नुभयो।