काठमाडौं, फागुन १२ गते । अबदेखि काठमाडौं उपत्यकामा प्रतिघण्टा ५० किलोमिटरको गतिमा मात्रै सवारी साधन चलाउन पाइने भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक सूचना प्रकाशित गरी सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा उल्लेखित गति नियन्त्रणसम्बन्धी व्यवस्था र सडकको भौतिक अवस्थालाई दृष्टिगत गरी सवारी दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि उक्त नियम लागू गरिएको हो ।
सवारी तथा यातायात व्यवस्था ऐन र सडकको भौतिक अवस्थासमेतलाई ध्यान दिएर गाडी तथा मोटरसाइकलको अधिकतम गति प्रतिघण्टा ५० किलोमिटर तोकिएको उक्त सूचनामा उल्लेख छ । उपत्यकाभित्र चक्रपथ (रिङरोड) सँगै सर्भिस ट्रायकका लागिसमेत गति सीमा तोकिएबमोजिम कलङ्की–कोटेश्वर सडकखण्डको ट्रयाकमा प्रतिघण्टा अधिकतम ५० किलोमिटर र सर्भिस ट्रयाकमा प्रतिघण्टा अधिकतम २० किलोमिटर गति तोकिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
यसैगरी, कोटेश्वर–भक्तपुर सडकखण्डमा समेत प्रतिघण्टा ५० किलोमिटर गति तोकिएको छ । तोकिएको मापदण्डभन्दा बढी गतिमा सवारी साधन चलाउने चालकलाई उक्त ऐनमा उल्लेखभए बमोजिम कारबाही गरिने उक्त सूचनामा जनाइएको छ । रासस