राजु लामिछाने
रुकुमपश्चिम, फागुन ११ गते । बिहानै उठेर छिनो, गल र घन समाउनु ७१ वर्षीय धनसिंह पुनको दैनिकी बनेको छ। यो कर्म ५६ वर्षदेखि निरन्तर चलिरहेको छ। घरनजिकै रहेको गोइरीको ढुङ्गाखानीबाट ढुङ्गा निकाल्नु र विभिन्न आकारमा ढाल्नु धनसिंहको दैनिकी बन्दैआएको छ।
रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८, गोइरीका धनसिंहले ढुङ्गा निकाल्ने कर्मबाट प्रशस्तै धन नकमाए पनि रोजगारीका लागि विदेश धाउनु परेको छैन। यही ढुङ्गा निकाल्ने कर्मबाटै धनसिंहले परिवारको लालनपालन, घरखर्च, छोराछोरीको उच्च शिक्षा खर्च जुटाउँदै आउनुभएको छ।
घरको छानो छाउन, भान्छामा सिलौटोका रूपमा प्रयोग गर्न र सजावटका सामग्री बनाउन प्रयोग भइरहेको छ। यसका साथै पछिल्लो समय मार्बल र टायलका रूपमा प्रयोग हुन थालेको छ।
गोइरीकै ६१ वर्षीय खिमे घर्ती ढुङ्गाखानीमै काम गरेर घरखर्च जुटाउँदै आउनुभएको छ। उहाँका दुई छोरा, एक छोरीले बुवाको कमाइबाटै उच्च शिक्षा पूरा गरेका छन्।
घर्तीले भन्नुभयो, “कालापहाड जानु परेको छैन, सिङ्गो जीवनभर ढुङ्गाखानीमै काममा बिताएको छु।” घर बनाउने, जग्गा जोड्ने, सन्तान पढाउने मुख्य आयस्रोत नै यही ढुङ्गाखानी भएको घर्तीले बताउनुभयो।
गोइरी गाउँवासीको जीविकोपार्जनको मुख्य स्रोत ‘ढुङ्गाखानी’ नै हो। खानीले यहाँका करिब एक सय घरपरिवारको दैनिकी प्रत्यक्ष रूपमा धानेको छ। ढुङ्गाखानी सञ्चालक मिसरकुमार मल्लले यस पटक करिब ७५ जना दक्ष मिस्त्री र २३ जना कामदारले खानीमा काम गरिरहेको जानकारी दिनुभयो। उहाँका अनुसार यस मौसममा ढुङ्गा निकालिरहेका १५ वटा खानीमा कम्तीमा पाँच जनाका दरले मिस्त्री र अन्यले काम गरिरहेका छन्। हरेक वर्षको मङ्सिर महिनादेखि जेठसम्म ढुङ्गाखानीमा काम हुने गर्दछ। अन्य महिना वर्षायामका कारण काम हुँदैन।
बिक्रीका लागि तयार भएका ढुङगाको आकार हेरेर मूल्य निर्धारण हुने गरेको छ। हाल ७० रुपियाँ प्रतिगोटाको दरले ढुङ्गा बिक्री हुने गरेको छ। यही मूल्यबाट जग्गाधनी, खानीमा काम गर्ने श्रमिक, लोड/अनलोड खर्च र स्थानीय सरकारलाई कर तिर्नुपर्छ। एक जना कामदारले दैनिक एक हजारदेखि पाँच हजार रुपियाँसम्म आम्दानी गर्ने गरेका छन्। यो पनि समग्र ढुङ्गाको व्यापार हेरेर घटबढ हुने गर्दछ। पुनले आफूले काम सुरु गर्दा ताका एक सयवटा ढुङ्गालाई १० रुपियाँमा बेच्ने गरेको बताउनुभयो।
ढुङ्गाखानी व्यक्तिको जग्गामा रहेको छ। यस वर्ष पाँच जनाको जग्गामा रहेको १५ वटा खानीबाट ढुङ्गा निकालिएको छ। अन्य जग्गामा भएका खानी कुनैमा ढुङ्गा सिद्धिएका छन्। कुनै माटोले पुरिएका छन्। खानी सञ्चालक मिसर मल्लका अनुसार खानी सञ्चालन गर्नलाई गरिएको लगानी बढी हुँदा सोचेजस्तो आम्दानी हुन सकेको छैन।
ढुङ्गाखानीबाट यस वर्ष करिब एक लाख ५० हजार ढुङ्गा बिक्री हुने अनुमान गरिएको छ। चौरजहारी नगरपालिका प्रमुख पुष्प बादीले गोइरी र गडीमालिकामा भएको ढुङ्गाखानी स्थानीयको रोजगारको प्रमुख स्थल भएको बताउनुभयो। दुवै खानीमा गरेर करिब १५० व्यक्तिले रोजगार पाएको बताइन्छ।