• १३ साउन २०८१, आइतबार

‘तत्कालीन र दीर्घकालीन आर्थिक कार्यक्रम ल्याउनुपर्छ’

blog

बुधबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्नुहुँदै नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महत । तस्बिर : केशब गुरुङ

काठमाडौं, फागुन १० गते । नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले मुलुकको गतिशील मार्गचित्र कोर्नका लागि तत्कालीन र दीर्घकालीन आर्थिक कार्यक्रम ल्याउन जरुरी रहेको बताउनुभएको छ ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्नुहुँदै सांसद महतले बढ्दो व्यापार घाटा न्यूनीकरण गर्न विद्युत् उत्पादन वृद्धि गरी यातायात र खाना पकाउने प्रविधिलाई विद्युत्मा रूपान्तरण गर्न आवश्यक रहेको बताउनुभयो ।

“२०४६ पछि हामीले पञ्चायतकालमा दुई प्रतिशतमा रहेको आर्थिक वृद्धि पहिलो चरणमा सात प्रतिशत पुर्‍यायौँ । अब दोस्रो चरणको आर्थिक वृद्धिको आवश्यकता छ । त्यसतर्फै सरकारले काम गर्नुपर्ने छ”, उहाँले भन्नुभयो, “व्यापार घाटा न्यूनीकरण गर्न विद्युत् उत्पादन वृद्धि गर्नुपर्ने छ । यातायात र खाना पकाउने प्रविधिलाई विद्युतमा रूपान्तरण  गर्न जरुरी छ ।” बर्खायाममा विद्युत उत्पादन बढेपनि हिउँदमा भारतबाट आयात गर्नुपर्ने अवस्था विद्यमान रहेको भन्दै ठूला जलाशययुक्त आयोजना निर्माण गर्न उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

“बर्खायाममा मात्र विद्युत उत्पादन बढेर हुँदैन, हिउँदमा अहिले पनि विद्युत अभाव छ”, सांसद महतले भन्नुभयो, “बर्खामा बेचेको बिजुलीबाट आएको खर्च हिउँदमा विद्युत किनेर सकिएको छ ।” हिउँदमा विद्युत्मा आत्मनिर्भर हुन जलाशययुक्त आयोजनाको तत्काल निर्माण गर्नुपर्नेमा जोड दिँदै उहाँले विद्युतमा आत्मनिर्भर भएसँगै व्यापार घाटा कम हुने, विदेशी मुद्रा सञ्चित बढ्ने बताउनुभयो । विद्युत् उत्पादन वृद्धि गरी यसको खपत र निर्यात गरेर वैदेशिक रोजगारीमा आधारित अर्थतन्त्रलाई सुधार गर्न सकिने उहाँको भनाइ छ ।

नेकपा (एमाले) का सांसद लीलानाथ श्रेष्ठले राष्ट्रिय गौरवका आयोजनाको अवस्था अत्यन्त नाजुक रहेको भन्दै ती आयोजनाको काम तोकिएकै समयमा सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । “के कारण आयोजना समयमै सम्पन्न हुनसकेका छैनन्”, उहाँले भन्नुभयो, “राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको निर्माण अविलम्ब अगाडि बढाउन सरकारसँग आग्रह गर्दछु ।” कार्ययोजना बनाएर विकास निर्माणको काम अघि बढाउन सरकारलाई सुझाव दिँदै गुणस्तरीय काम नगर्ने निर्माण व्यवसायीलाई  कारबाही गर्न उहाँले माग गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीले जनअपेक्षा पूरा गर्न संसदमा रहेका सम्पूर्ण दलहरू एकताबद्ध हुनुपर्ने बताउनुभयो । संविधान निर्माणमा एक भएका दलहरू संविधान कार्यान्वयनमा पनि एक हुनुपर्ने उहाँको भनाइ छ । “संविधान कार्यान्वयन हुन नसक्दा जनतामा निराशा देखिएको छ, प्रदेशको कार्यसम्पादन निराशाजनक छ, सङ्घीय कानुन बनाउनुपर्थ्यो, अघिल्लो संसद्ले सङ्घीय कानुन बनाउन सकेन । अहिले पनि महत्त्वपूर्ण विधेयक पेस हुनसकेका छैनन्”, उहाँले भन्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ड. तोसिमा कार्कीले स्वास्थ्य बीमा कार्यक्रम असफल हुने दिशामा अगाडि बढेको भन्दै बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गर्नुभयो । उहाँले वैज्ञानिक ढङ्गले शुल्क तोक्नाका साथै दाबी भुक्तानीको व्यवस्था मिलाउन आग्रह गर्नुभयो । उहाँले स्वास्थ्य बीमा कार्यक्रम लागू भएका देशभरका जुनसुकै स्वास्थ्य संस्थामा उपचार गर्नपाउने व्यवस्था गर्न माग गर्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर जबराले निर्माणाधीन बुटवल–नारायणगढ सडक कहालीलाग्दो अवस्थामा रहेकाले तत्काल निर्माण सम्पन्न गर्न आग्रह गर्नुभयो । बैङ्कको ब्याजदर बढ्दा उद्योगी व्यवसायी मारमा परेको जनाउँदै उहाँले वित्तीय क्षेत्रमा सुधारको योजना ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

जनता समाजवादी पार्टी नेपालका सांसद सुशीला श्रेष्ठले बढ्दो भ्रष्टाचार र बेथिति नियन्त्रणमा सबै दल एकताबद्ध हुनुपर्ने बताउनुभयो । कृषि उत्पादन वृद्धि गर्ने नाममा रासायनिक मलको जथाभाबी प्रयोग बढिरहेको जनाउँदै उहाँले रासायनिक मलको प्रयोगलाई हतोत्साहित गर्नुपर्ने बताउनुभयो ।

नेकपा (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाले पूर्वराजा ज्ञानेन्द्र शाहको वक्तव्य संविधानमाथि प्रहार गर्ने उद्देश्यले आएको बताउनुभयो । उहाँले सङ्घीयतामाथि आँच पुर्‍याउने गतिविधि र अभिव्यक्ति  स्वीकार्य नभएको बताउनुभयो । राजनीतिक स्थिरता र राष्ट्रिय समृद्धिका लागि एकजुट भएर अघि बढ्न सबै राजनीतिक दललाई उहाँले आग्रह गर्नुभयो ।

जनमत पार्टीका सांसद अनिता देवीले विभिन्न देशमा कारागार सजाय भोगिरहेका निर्दोष नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फर्काउन माग गर्नुभयो । उहाँले नागरिकता नपाएर नागरिक आफू नै देशभित्र अनागरिक बनिरहेकातर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद रामप्रकाश चौधरीले महँगी र भ्रष्टाचार नियन्त्रण गर्न, नागरिकलाई रासन कार्डको व्यवस्था गर्न माग गर्नुभयो । उहाँले हुलाकी राजर्मागको सर्लाही खण्ड निर्माण छिटो सम्पन्न गर्न माग गर्नुभयो ।

कांग्रेसका सांसद जीवन परियारले जातीय विभेद र छुवाछूत यथावत् रहेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले अन्तर्राष्ट्रिय महासन्धिमा गरेका हस्ताक्षर र राष्ट्रिय घोषणाअनुसार विभेद अन्त्यका लागि व्यावहारिक ठोस् कार्यक्रम र योजना ल्याउन आवश्यक भएको बताउनुभयो ।

एमालेका सांसद हेमराज राईले रोजगारी र उच्च शिक्षाका लागि बिदेसिने क्रम रोक्न ध्यानाकर्षण गराउनुभयो । उहाँले अस्थिर राजनीतिले पार्टीभित्र र जनतामा नैराश्यता पैदा गरेको बताउनुभयो । नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले संसद्को भूमिका प्रभावकारी नदेखिएको गुनासो गर्नुभयो । उहाँले नीतिगत भ्रष्ट्राचार नियन्त्रण, ऐन कानुन निर्माण र नीतिगत स्पष्टताका साथ सरकार अघि बढ्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले बैङ्क तथा लघुवित्तको चर्को ब्याजदरले सर्वसाधारण मर्कामा परेकातर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले नयाँ आविष्कार र खोजमा सरकारको लगानी बढाउन माग गर्दै राष्ट्रिय आविष्कार केन्द्रलाई  सहयोग गर्न समेत माग गर्नुभयो । 

कांग्रेसका सांसद शङ्कर भण्डारीले भूकम्पको चपेटामा परेको  सिरिया र टर्कीलाई नेपाल सरकारले थप सहयोग गर्नुपर्ने बताउनुभयो । एमालेका सांसद लालप्रसाद साँवा लिम्बूले सामाजिक र सांस्कृतिक विचलनका कारण सर्वसाधारणमा नैराश्यता बढेको बताउनुभयो । उहाँले बैङ्कले असुल्ने चर्को ब्याजदरका कारण उद्योग व्यवसाय धरापमा परेको भन्दै सरकारसँगै सम्बन्धित बैङ्कसमेत जिम्मेवार बन्नुपर्ने बताउनुभयो । रासस