• १३ साउन २०८१, आइतबार

राष्ट्रपतिको प्रस्ताव आएको छैन : एकीकृत समाजवादी

blog

पत्रकारसँग कुरा गर्नुहुँदै नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल ।

काठमाडौं, फागुन १० गते। नेकपा (एकीकृत समाजवादी) को बुधबार बसेको सचिवालय बैठकमा राष्ट्रपति निर्वाचन सन्दर्भमा छलफल भएको छ। 

आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकपछि राष्ट्रपतिमा एकीकृत समाजवादीको उम्मेदवारको प्रस्ताव आएको भन्ने जिज्ञासामा सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीलाई कसैले पनि राष्ट्रपतिको प्रस्ताव नगरेको बताउनुभएको छ। 

सञ्चारकर्मीसँग कुरा गर्दै समाजवादीका सम्मानित नेता खनालले बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले अहिलेको परिस्थितिको सन्दर्भमा र भेटघाटको सन्दर्भमा जानकारी गराउनुभएको उल्लेख गर्नुभयो। 

उहाँले भन्नुभयो, “हामीले भर्खरै सचिवालय बैठक सम्पन्न गरेका छौँ। अध्यक्षले अहिलेको परिस्थितिको सन्दर्भमा र भेटघाटको सन्दर्भमा जानकारी गराउनुभयो। तर राष्ट्रपतिको प्रस्ताव हाम्रो पार्टीलाई आएको भन्ने बारेमा रिपोर्टिङ भएन। त्यसैले हाम्रो पार्टीलाई राष्ट्रपति प्रस्ताव आएको भन्ने बाहिरको हल्ला मात्रै रहेछ।”

एकीकृत समाजवादीले यस सन्दर्भमा अन्य दलसँग छलफल गर्ने उहाँले बताउनुभयो। “राष्ट्रपति निर्वाचन अहिलेको सन्दर्भमा देशका लागि महत्त्वपूर्ण एजेण्डा हो, यसमा हाम्रो पार्टीले सरोकार राख्छ। हामी सबैले यसबारेमा कुरा गर्छौ।” 

यस्तै, आजको बैठकबारे जानकारी दिनुहुँदै उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहले निकालेको वक्तव्यप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो। उहाँले  प्रतिगामी हर्कत बढिरहेको सन्दर्भलाई मध्यनजर गर्दै देशका सबै अग्रगमन पक्षधर राजनीतिक दलसँग छलफल अघि बढाउन बैठकमा निर्णय भएको बताउनुभयो।

उहाँले भन्नुभयो, “केही दिन यता संविधानविरुद्धमा धेरै प्रकारका गतिविधि भइरहेको देखिन्छ। संविधानलाई अन्त्य गर्न र संविधानमा भएका व्यवस्थालाई समाप्त गर्न, हिन्दु राज्य, राजतन्त्रका लागि भनेर चलाइएका गतिविधिप्रति हाम्रो पार्टीको ध्यान गम्भीर ढङ्गले आकर्षित भएको छ।”