• २५ जेठ २०८२, आइतबार

जरिवाना तिर्न नसकेर साउदीको जेलमा रहेका कार्कीलाई छुटाउन प्रधानमन्त्रीको पहल

blog

साउदी जेलमा जरिवाना तिर्न नसकेर जेल जीवन बिताइ रहेका छोरा दिनेशको रिहाइको पहलका लागि प्रधानमन्त्री समक्ष माग गर्दै बुबा गणेशकुमार कार्की । तस्बिर: प्रधानमन्त्रीको निजी सचिवालय

कोकिला भण्डारी

धनकुटा, फागुन १० गते । डेढ वर्षदेखि साउदीको जेलमा रहेका धनकुटा फलामेटार निवासी दिनेश कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । दिनेशका बुबा गणेशकुमार कार्कीले बालुवाटारमा प्रधानमन्त्रीसँग भेट गरी अनुरोध गरेपछि उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको हो । 

प्रधानमन्त्री दाहालले कार्कीलाई जेलमुक्त गरी नेपाल ल्याउने कार्यको तत्काल पहल गर्न परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण समेत गराए । भेटमा प्रधानमन्त्रीले वर्तमान सरकार विदेशमा रहेका नेपाली श्रमिक तथा कामदारको हकहित र सुरक्षामा सबैभन्दा बढी संवेदनशील रहेको बताउनुभयो । विदेशमा रहेका नेपालीहरूले राष्ट्रिय अर्थतन्त्रको ठुलो हिस्सा धानेका छन्, उनीहरूको हकहित र सुरक्षाको प्रबन्ध गर्नु राज्यको जिम्मेवारी भएको बताउनुभयो । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको आत्म स्वाभिमान र उहाँहरूले आर्जन गरेको पुँजी, सीप र प्रविधिलाई नेपालको हित अनुकूल परिचालन गर्न सरकार प्रतिबद्ध रहेको स्मरण गराउनुभयो । 

चौबिसे गाउँपालिका वडा नं. ४ का २९ वर्षीय कार्की जरिवाना रकम तिर्न नसक्दा विगत डेढ वर्ष देखि साउदीमा जेल जीवन बिताइ रहेका छन् । वैदेशिक रोजगारीको सिलसिलामा उनी साउदीको अल हवाला फर ट्रेनिङ एन्ड इन्डस्ट्री कम्पनीमा ट्रेलर चालकको रूपमा काम गर्न पाँच वर्ष अघि पुगेका थिए ।

देश तथा विदेशमा रहेका नेपाली दाजुभाइले दिनेशलाई छुटाउन आर्थिक सहयोग गरिरहेका छन् । दिनेशको आमा दुर्गाकुमार कार्कीको नाममा माछापुच्छ्रे बैङ्क धनकुटा शाखामा खाता खोलिएको छ । उक्त खातामा हालसम्म पाँच लाख पाँच हजार सहयोग रकम जम्मा भइसकेको छ ।