• ११ मंसिर २०८१, मङ्गलबार

चलचित्रमा मौलिक कथावस्तुको अभाव : महानायक हमाल

blog

पत्रकार सम्मेलनमा महानायक राजेश हमाल। तस्बिर : लीलाधर वली

घोराही, फागुन ९ गते। महानायक राजेश हमालले नेपाली चलचित्रमा मौलिकतालाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ। चलचित्र पत्रकार सङ्घ नेपाल दाङ शाखाले घोराहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेपाली चलचित्रमा मौलिक कथावस्तुको अभाव देखिएको भन्दै मौलिकतासहित प्रविधिको विकासमा ध्यान दिन सके विश्व बजारमै स्थान पाउने सक्ने चलचित्र नेपालमै बन्न सक्ने बताउनुभएको हो। 

उहाँले विदेशीको नक्कल गरेर चलचित्र क्षेत्रको विकास नहुने भन्दै आफ्नै नेपाली समुदायका सुख, दुःख र जनजीवनसँग सम्बन्धित विषयवस्तुलाई गहन रूपमा उठाउनु आवश्यक रहेको बताउनुभयो। ‘हामी स्तरीयताको नाममा विदेशी चलचित्रको नक्कल गर्ने गरिरहेका छौँ। जसले गर्दा  हाम्रो चलचित्र क्षेत्र यता न, उताको हुन पुगेको छ’, महानायक हमालले भन्नुभयो, ‘जसले नेपाली चलचित्र क्षेत्रको विकास हुन सक्दैन। विदेशी फिल्मको नक्कल गर्ने परिपार्टी त्यागौँ।’ 

उहाँले प्रविधिको विकाससँगै चलचित्र क्षेत्रमा लागेका कलाकर्मीलाई चुनौती थपिएको भन्दै कलाकर्मीले पनि समय र प्रविधि अनुसार आफू परिवर्तन हुन सक्नुपर्ने बताउनुभयो। ‘हिजोका दिनमा हलमै पुगेर चलचित्र हेर्ने गरिन्थ्यो, प्रविधिको विकासले अहिले हातमा चलचित्र पुगिसक्यो’, उहाँले भन्नुभयो, ‘यो अवस्थामा चलचित्र क्षेत्रमा पनि परिवर्तन आउनुपर्छ। दर्शकको चाहना अनुसार प्रविधिको विकासलाई आत्मसाथ गरेर फिल्म बनाउनुपर्छ।’ 

हमालले दर्शकले कथावस्तु, अभिनयसँगै सन्देश खोजेको भन्दै त्यसमा आधारित रहेर चलचित्र बन्नुपर्ने बताउनुभयो। उनले कथावस्तुसँगै प्रविधिको विकासमा ध्यान दिन सके राम्रो फिल्म बनाउन सकिने बताउनुभएको थियो। फिल्मका लागि कथावस्तुसँगै नेपालमा स्तरीय क्षमतावान् कलाकार रहेको समेत बताउनुभएको थियो।