• ११ मंसिर २०८१, मङ्गलबार

कमजोर कथा चलचित्र शेहजादा

blog

सुकृत नेपाल

काठमाडौँ, फागुन ९ गते । ‘शेहजादा’ अल्लु अर्जुन अभिनीत तेलुगु चलचित्र ‘अला वैकुन्थापुरमुलु’को हिन्दी रिमेक हो । त्रिविक्रम श्रीनिवासको कथालाई रोहित धवनले रूपान्तरण गरेका हुन् । रणदीप (रोनित रोय) र वाल्मीकि (परेश रावल) दुई मिल्ने साथी हुन् । दुवै व्यापारी आदित्य जिन्दल (सचिन खेडेकर)को कम्पनीमा काम गर्छन् । रणदीपले पछि आदित्यकी छोरी इसु (मनीषा कोइराला)सँग विवाह गर्छन् र उनको व्यापार पनि राम्रो हुँदै जान्छ । यता वाल्मीकि भने खासै माथि उठ्न सक्दैनन् । उनी गरिबीसँग नै लड्रिहन्छन् । दुवैको सन्तान एउटै अस्पतालमा एकै दिन जन्मिन्छन् । वाल्मीकिले आफ्नो गरिबीका कारण रणदीपको छोराको ठाउँमा आफ्नो छोरालाई अस्पतालमा राखिदिन्छन्, त्यसपछि कथा २५ वर्ष अगाडि बढ्छ । 

समय बित्दै जान्छ । बन्टु (कार्तिक आर्यन) हुर्किन्छन् । त्यो समयमा उनको नक्कली बुवा वाल्मीकिले उनलाई कहिल्यै माया दिँदैनन् । जब उनले वाल्मीकि आफ्नो वास्तविक पिता होइनन् भनेर थाहा पाउँछन्, त्यसपछिको एउटा घटनाले उनको जीवन पूर्ण रूपमा परिवर्तन हुन्छ । बन्टुलाई जब सबै कुरा थाहा हुन्छ, उनी आफ्नो घर जान्छन् । त्यसपछि उनको जीवन ‘शेहजादा’को ढङ्गबाट चल्छ कि चल्दैन ? के बन्टु आफ्नो आमाबुवाबाट त्यही माया पाउँछन्, जुन उनलाई वाल्मीकिले दिन्थे । यिनै विषयभित्र रुमलिएको छ, चलचित्र ‘शेहजादा’ ।  

बन्टुको भूमिकामा कलाकार कार्तिकले हँसाउने, रुवाउनेजस्तो अभिनय गर्ने प्रशस्त अवसर पाएका छन् । उनी यस चलचित्रमा पनि आफ्नो परिचित शैलीमा देखिएका छन् । उनी चलचित्रमा एक्सनको अवतारमा जमेका छन् । त्यस्तै नायिका कृतिको भूमिका खासै ठूलो छैन । उनको अभिनयले उनलाई चलचित्रमा केही संवाद, गीत वा नृत्य गर्न मात्रै ठाउँ दिइएको हो कि भन्ने भान हुन्छ । उनको चरित्र खासै राम्रोसँग निर्माण भएको छैन । वाल्मीकिको भूमिकामा देखिएका परेश रावलको अभिनय सामान्य दृश्यहरूमा पनि प्रभाव पार्ने खालको छ । सचिन खेडेकरको काम उल्लेखनीय छ । मनीषा कोइराला, रोनित राईलगायतका कलाकारले आफ्नो भूमिकामा न्याय गरेका छन् ।

चलचित्रलाई रोहित धवनले निर्देशन गरेका हुन् । यसअघि नै भनिएको थियो, यो पारिवारिक मनोरञ्जनात्मक चलचित्र हो र रोहित यस बिन्दुसम्म जीवित छन् । उनले चलचित्रमा मनोरञ्जनको मात्रा भरपूर दिएका छन् । चलचित्र रिमेक नै भए पनि यसमा रोहितको मेहनत स्पष्ट देखिन्छ । समग्रमा रोहितले चलचित्रलाई आफ्नै शैलीमा पर्दामा उतारेका छन् ।

पारिवारिक मनोरञ्जनकर्ताका रूपमा चिनिने शेहजादासँग एक्सन, रोमान्स, कमेडी, नाटक, नृत्य गीतका भव्य सेटहरू छन् । चलचित्रमा मसला प्रचुर मात्रामा छ तर सही मात्राको कथा पस्कन नसक्दा निर्देशकले कथा स्वादिष्ट बनाउन सकेका छैनन् । चलचित्रका निर्माता पनि कार्तिक आर्यन नै हुन् । निर्माता भएकै कारण पूरै चलचित्रमा उनको वर्चस्व देखिन्छ । बाँकी पात्रको पूर्ण विकास हुन नसक्दा चलचित्रको स्वाद केही बिग्रिएको हो कि जस्तो लाग्छ ।