• १२ मंसिर २०८१, बुधबार

कानुन निर्माणमा सहयोग गर्न आग्रह

blog

मकवानपुर समाचारदाता

हेटौँडा, फागुन ८ गते । बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले कानुन निर्माणमा सहयोग गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभएको छ । कमजोर र त्रुटिपूर्ण कानुन निर्माण हुँदा त्यसको भागीदार सञ्चारकर्मीसमेत हुने बताउँदै उहाँले कानुन निर्माणको समयमा हेर्न र त्रुटिरहित कानुन निर्माणमा सहयोग र सहजीकरण गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभयो । 

प्रेस सेन्टर नेपाल, जिल्ला समन्वय समिति मकवानपुरको हेटौँडामा भएको वार्षिक साधारण सभा तथा पत्रकार सम्मान कार्यक्रममा बोल्दै उहाँले तथ्यपरक भएर निष्पक्षताका साथ समाचार लेख्नुपर्ने बताउनुभयो । पछिल्लो समय सञ्चार क्षेत्र र सञ्चारकर्मी आफँै समस्यामा रहेको बताउँदै उहाँले सञ्चारकर्मीको क्षमता अभिवृद्धिलगायतका सवालमा प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो । बागमती प्रदेशका प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामीले हामी सबै आस र त्रासमा बाँचेका छौँ भन्दै पत्रकारले सरकारका काममा हुने गल्ती कमजोरीलाई स्वतन्त्र भएर औँल्याउन सक्नुपर्नेमा जोड दिनुभयो । 

प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष एवं बागमती प्रदेश इन्चार्ज लक्ष्मण खड्काले पछिल्लो समयमा पत्रकारिता पेसाबाट पलायन हुने क्रम बढेको भन्दै पत्रकारिता क्षेत्रको विकासका लागि तीनै तहको सरकारको सहयोग आवश्यक भएको बताउनुभयो । 

प्रेस सेन्टर नेपाल, जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष अञ्जली थापाको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकारहरू राममणि दाहाल, भानुभक्त आचार्य, बालकृष्ण अधिकारी, तिलक अधिकारी र भावना रिजाललाई सम्मान गरिएको थियो । साथै कार्यक्रममा सेन्टरले पाँच महिला पत्रकारलाई सुत्केरी प्रोत्साहनसहित नगद प्रदान गरेको छ ।