केदार तिमल्सिना
काभ्रेपलाञ्चोक, फागुन ७ गते । बागमती प्रदेश सरकारले अघि बढाएको ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’ काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका –४ मा रहेको मेथिनकोट प्रादेशिक अस्पतालमा सुरु भएको छ । आइतबार प्रदेश स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले एक कार्यक्रमबीच ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’ को शुभारम्भ गर्नुभयो ।
स्वास्थ्यमन्त्री श्रेष्ठले बागमती प्रदेश सरकारको माइलस्टोन प्रोग्रामको रुपमा ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’ रहेको चर्चा गर्नुभयो । उहाँले प्रदेश स्थापना भएको ६ वर्ष पूराहुँदा समेत प्रदेशको स्वास्थ्य नीति निर्माण गर्न नसकिएको बताउँदै चालु आर्थिक वर्षभित्र प्रदेशको स्वास्थ्य नीति तयार गर्ने उद्देश्यले प्रदेश स्वास्थ्य सचिवको संयोजकत्वमा समिति गठन गरिएको बताउनुभयो ।
यसै वर्षभित्र समितिले नीति तयार गर्ने उहाँको भनाइ छ । मन्त्री श्रेष्ठले आफुले मन्त्रीको पदभार ग्रहणगरेको दिन प्रदेशभित्रका लोपोन्मुख, सिमान्तकृत र आश्रित नागरिकको स्वास्थ्य बीमा बापतको प्रिमियम प्रदेश स्वास्थ्य मन्त्रालयले तिर्ने प्रतिवद्धता गरेको बताउनुभयो ।
अस्पतालमा आउने बिरामीलाई नम्र र सम्मानित व्यवहार गर्न चिकित्सक र स्वास्थ्यकर्मीलाई उहाँले निर्देशन दिनुभयो । “अस्पतालमा उपचारका लागि आउने बिरामीहरुलाई निःशुल्क उपचार सेवा दिनुहोला, अस्पतालमा यो आषधि छैन, त्यो औषधि छैन भनेर न बस्नुहोला” मन्त्री श्रेष्ठले निर्देशन दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले मेथिनकोट अस्पतालले गुणस्तरीय सेवा प्रदान गर्दैआएको बताउनुभयो । कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद खनालले अस्पतालको भौतिक संरचना पर्याप्त नहुँदा सेवा प्रवाहमा समस्या भएको बताउनुभयो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पुरुषोत्तमराम सेढाईले पछिल्लो समय जिल्लामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो रुपमा रहेको बताउनुभयो । ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’ को शुभारम्भ गर्नुहुँदै बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ । तस्विर : केदार तिमल्सिना