नरेन्द्र ढकाल
गोरखा, फागुन ७ गते । गोरखा नगरपालिकामा निर्माण भएका दुई वटा सडकको तस्बिर अहिले भाइरल भएका छन् । बीच सडकमा रहेका विद्युतका पोल नहटाई ढलान गरिएका ती सडकको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको हो ।
वडा ६ पोखराथोक र वडा १० छेवेटारमा सो काम भएको हो । पोखराथोकमा ढुङ्गा छापेर ढलानको तयारी गरिएको छ भने छेवेटारमा ढलान भइसकेका अवस्थामा छ । ‘हामीले बारम्बार आग्रह गर्दा पनि विद्युतले पोल नसारिदिएपछि यो समस्या भएको हो’ वडा १० का अध्यक्ष प्रदीप कुँवरले भन्नुभयो, ‘मैले मात्र होइन, मेयर उपमेयरले पनि भन्नुभएको हो । वडाबाट विद्युतमा निवेदन समेत गएको छ ।’
पोखराथोकमा भने ढलान नभइसकेकाले विद्युतसँग समन्वय भइरहेको वडाध्यक्ष राजेन्द्रकुमार जोशीले बताउनुभयो । ‘पोललाई छेउमै पारेर सडक बनाउने भन्ने योजना थियो । तर बनाउँदै जाँदा बीचमा पर्ने अवस्था आएको छ’ उहाँले भन्नुभयो, ‘हामीले काम रोकेका छौँ, छिट्टै विद्युतसँग समन्वय गरेर पोल हटाउँछौ ।’
विद्युत प्राधिकरण, उपभोक्ता समिति र नगरपालिकाको आपसी समन्वय अभावमा सो समस्या भएको इन्जिनियर प्रकाश ढकालले बताउनुभयो । समस्या देखिएपछि समाधानका लागि नगरपालिकाले आवश्यक समन्वय र पहल गरेको उहाँको भनाइ छ ।
विद्युत प्राधिकरण गोरखाले भने विद्युतका पोल सार्ने मुख्य जिम्मेवारी नगरपालिकाकै भएको बताएको छ । पोल स्थानान्तरणका लागि बजेट नआउने भएकाले स्थानीय तहले समन्वय गरेमा विद्युत प्राधिकरणले सहयोग गर्ने विद्युत वितरण केन्द्र गोरखाका प्रमुख चिजबहादुर गुरुङले जानकारी दिनुभयो ।
‘म भर्खरै जिल्लामा नयाँ आएको हुँ, टाइममा समन्वय नहुँदा यस्तो भएको प्रारम्भिक जानकारी मिलेको छ,’ उहाँले भन्नुभयो, ‘हामी समन्वय गरेर उक्त समस्याको समाधान खोज्छौँ ।’ पोल सार्न ७० प्रतिशत लागत सम्बन्धित स्थानीय तह र बाँकी ३० प्रतिशत विद्युत प्राधिकरणले बेहोर्ने व्यवस्था रहेको उहाँले बताउनुभयो ।
पोल सार्न कार्यविधिअनुसार फारम भरेर केन्द्रमा पठाएपछि मात्र बजेट र कार्यक्रम आउने प्रावधान रहेको विद्युत प्राधिकरणले जनाएको छ ।