• १२ मंसिर २०८१, बुधबार

वैदेशिक रोजगारी त्यागेर रिसोर्ट सञ्चालन

blog

वीरबहादुर चन्दले शुरु गर्नुभएको कालीगण्डकी रिसोर्ट । तस्बिर : अमृतप्रसाद पौडेल

अमृतप्रसाद पौडेल

म्याग्दी, फागुन ७ गते । २०५६ देखि वैदेशिक रोजगारीमा विभिन्न देशहरूमा पुगेर २०७३ मा नेपाल फर्केपछि वीरबहादुर चन्दले कालीगण्डकी रिसोर्ट सुरु गर्नुभयो । चन्दले लामो वैदेशिक यात्रापछि बेनी–जोमसोम सडकखण्ड अन्तर्गत रघुगंगा गाउँपालिका –३ घुमाउने तालमा कालिगण्डकी रिसोर्ट एण्ड एचवीसी स्वीमिङ पुल प्रालि सञ्चालनमा ल्याउनुभयो । 

२०७३ मा वैदेशिक रोजगारीलाई बिटमार्दै नेपाल फर्किनुभएका चन्दले २०७४ कात्तिकबाट उक्त रिसोर्ट सुरु गर्नुभएको थियो । परिवारका सदस्यहरूको मेहनतले गर्दा व्यवसाय पनि फष्टाएको चन्दको भनाइ छ । चन्दसँग उहाँकी पत्नी, भाइ र छोराले पनि रिसोर्टमा साथ दिनुभएको छ । 

१० रोपनी क्षेत्रफलमा फैलिएको संरचनाभित्र झण्डै २ रोपनी क्षेत्रफलमा माछापोखरी छ । माछा पोखरीमा कमनकार्प र ग्रासकार्प माछा पाल्दै आउनुभएका उहाँले पाहुनाको चाहनाअनुरूप सबैजसो स्थानीय उत्पादन नै खुवाउने गर्नुहुन्छ । 

चार वटा कटेज, दुई वटा स्वीमिङ पुल, सेमिनार हल तथा उत्कृष्ट तवरले सजावट गरिएको डाइनिङ हलसहितको रिसोर्टमा १२ वटा सुविधासम्पन्न कोठाहरू रहेको चन्दको भनाइ छ ।

म्याग्दी सदरमुकाम बेनीदेखि ५ किलोमिटर उत्तरमा बेनी–जोमसोम सडकखण्ड अन्तर्गत पर्ने उक्त रिसोर्टमा आफ्नै पोखरीमा उत्पादित माछा, हाँस, बँदेल, लोकल कुखुरा तथा हिमाली च्याङ्ग्राको परिकार हरेक दिन उपलब्ध गराइने उहाँको भनाइ छ । साथै नजिकै रहेको १४ रोपनी क्षेत्रफलमा पोल्टीफार्म तथा तरकारी खेती पनि आफ्नै परिवारले गर्ने हुँदा रिसोर्टमा आवश्यक सामग्रीहरू अधिकांश आफ्नै उत्पादनबाट नै पुग्ने उहाँको भनाइ छ ।

२०७४ मा ५५ लाखको लागतमा भौतिक संरचना निर्माण गरेर व्यवसाय सुरु गर्नुभएका चन्दले हालसम्म पूर्वाधार निर्माणमै २ करोड ७५ लाखभन्दा बढी खर्च गरिसकेको उहाँको भनाइ छ । मूल्य अभिवृद्धिकर भ्याटमा दर्ता गरेरै सुरु गर्नुभएको व्यवसायमा अहिले ११ जनाले रोजगार पाउनुभएको छ ।

परिवारकै ४ सदस्यसहित अन्य ८ जनाले अहिले रिसोर्टमा रोजगार पाउनुभएको चन्दको भनाई छ । वैदेशिक रोजगारीबाट फर्केका युवाहरूले आफ्नै ठाउँमा सफल तवरले व्यवसाय गरेर उदाहरणीय काम गरेको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो । चन्दजस्तै अन्य धेरै युवाहरू स्वदेशमै स्वरोजगार हुन सक्ने भएकाले आफ्नै ठाउँमा फरक व्यवसाय गरेमा सफल हुने उहाँको भनाइ छ ।