• १२ मंसिर २०८१, बुधबार

मासु बेचेर दैनिक पाँच हजार रुपियाँ आम्दानी

blog

चरीकोट बजारमा सञ्चालित किस्मत मासु पसल । तस्बिर : बाबुराम शर्मा

बाबुराम शर्मा 

दोलखा, फागुन ७ गते । पढाइको सिलसिलामा सदरमुकाम चरीकोट पसेर व्यवसायमा लाग्नु भएका दोलखाको वैतेश्वर गाउँपालिका –८ क्षत्रपाका शान्तबहादुर जिरेलले सञ्चालन गर्नुभएको मासु पसलबाट दैनिक पाँच हजार रुपियाँ आम्दानी गरिरहनुभएको छ । 

गत महाभूकम्प तथा लगातारको कोरोनाको समयमा पनि मासु पसलबाट भने दैनिक दुई वटा खसी र दुई क्विन्टल कुखुराको मासु खपत भइरहेकाले त्यसबाट आम्दानी भइरहेको उहाँले बताउनुभयो ।  

सय वटा कुखुरापालनबाट सुरु गरेको व्यवसाय विस्तार गर्दैजाँदा डेढ दशकको अन्तरालमा उहाँ करोडौँको मालिक बन्न सफल हुनुभएको छ । उहाँले भन्नुभयो, “२०६४ मा २६ हजार ऋणबाट सयवटा कुखुरापालन गरिएको हो । एक वर्ष गरेको यो व्यवसायले ऋण तिरेर पनि उत्तिकै नाफा आएपछि झन् उत्साह बढेर लगनशील भई कुखुरापालनसँगै बङ्गुर पनि पालन सुरु गरेको हुँ ।”

किस्मत प्रालि कृषि फार्ममा बङ्गुर र किबीखेतीमा गरिएको छ । गाउँमा स्याउ खेती पनि प्रारम्भ गरिएको उहाँले बताउनुभयो । २०६६ मा मासु पसल र माछापालन पनि सुरु गरिएको हो । यिनै व्यवसायबाट उहाँले चरिकोट बजारमा करोडभन्दा बढीको लगानीमा किस्मत रेस्टुरेन्ट एन्ड गेष्ट हाउस सञ्चालनमा ल्याउनुभएको छ । 

उहाँले भन्नुभयो, “यिनै व्यवसायबाट लामो सङ्घर्षले यो अवस्थामा पुगिएकाले अब यिनैलाई ब्राण्ड बनाएर निरन्तरता दिने सोच पलाएको छ ।” अहिले अतीत सम्झँदा कहाली लाग्छ, यस्तो होला भनेर सोचेकै थिइनँ उहाँले भन्नुभयो । आफ्नै घरमा रहेको गेष्टहाउसबाट राम्रै आम्दानी छ । मासु पसलबाट पनि आम्दानी छ । व्यवसायलाई बङगुरपालनले ठूलो टेवा मिलेको उहाँले जानकारी दिनुभयो ।  

कृषि फार्म सञ्चालन रहेको स्थलमा १२ रोपनी उहाँको जग्गा छ । जसमध्ये एक रोपनी आफैँले जोडेको हो । उहाँले भन्नुभयो, “यहाँ बङगुरपालन तथा किवी खेती गरिएको छ । ११ रोपनी जग्गा वार्षिक १० हजारमा भाडामा लिएका छौँ ।” अहिले सबै आम्दानी र सम्पत्ति गर्दा तीन करोडभन्दा माथि रहेको छ । यसै व्यवसायले जिल्लाबाहिर समेत युवा व्यवसायी भनेर चिनाएको छ । यसबाट दाम र नाम दुवै फैलिएको छ । 

आर्थिक अवस्था कमजोर रहेका जिरेल दैनिक गुजारा चलाउन जिल्लाकै जनहित सहकारीमा अढाई हजारमा नोकरी गर्नहुन्थ्यो । कक्षा ११ अध्ययनका लागि सदरमुकाम छिर्नु भएका जिरेल नोकरीसँगै कुखुरा स्याहार्दै अघि बढ्नुभएको बताउनुभयो ।  

जिरेल कुखुरापालनबाट अरूको राहत होस् भनी अहिले चल्ला र दाना ढुवानी गर्दैआउनुभएको छ । उहाँले भन्नुभयो, “अब इच्छुक किसानलाई उकास्न लागेको छु । आफैँले दिएका चल्ला हुर्केपछि बजारको समस्या नहोस् भनी आफैँले लिन्छु ।” 

यिनै कुखुरा आफ्नै पसलमा मासुमा बिक्री हुन्छन् । व्यवसाय गर्ने सोच भएकालाई ठूलो लगानी छैन भन्दै आत्तिनु पर्दैन । उहाँले भन्नुभयो, “इच्छा र चाहना हुनेलाई लगानी कहिल्यै बाधक हुँदैन ।” 

३२ वर्षकै उमेरमा यो अवस्थामा आउनुभएका जिरेल यो व्यवसायलाई परिष्कृत एवम् विस्तार गर्दै लैजाने बताउनुभयो । उहाँका परिवारबाहेक प्रत्यक्ष सात जनालाई रोजगारी पनि दिन सफल हुनुभएको छ ।