• १० मंसिर २०८१, सोमबार

प्रजातन्त्र दिवस विशेष

क्रान्तिका योद्धा

blog

बलदेव भट्ट ‘रिचपल्या’को जन्म १९६७ सालमा हालको दशरथचन्द नगरपालिका–५, रिचपला गाउँमा भएको थियो । गाउँको नाम जोडेर उहाँलाई बलदेव भट्ट ‘रिचपल्या’ भनिएको हो । उहाँका बुवाको नाम माधव भट्ट र आमाको नाम पार्वती भट्ट हो । जीविका चलाउन उहाँ खेतीपाती र पशुपालन गर्नुहुन्थ्यो । त्यतिबेला बजारमा लगेर दूध बेच्ने चलन बैतडीमा थिएन । रिचपला गाउँका बलदेव भट्टले बजारमा दूध बेच्न सुरु गरेर आफ्नो गाउँलाई बैतडीकै पहिलो दूध बेच्ने गाउँका रूपमा चिनाउनुभयो । 

आफ्नो गाउँबाट दूध बेच्न सुरु गरेपछि उहाँलाई सबैले ‘रिचपल्या’ भनेर सम्बोधन गर्न थालेका थिए । समाजमा हुने शोषण, दमन र अत्याचारविरुद्ध खरो बोल्ने उहाँको स्वभाव रहेको चिन्नेजान्ने गाउँलेको भनाइ छ । खेतीपाती गर्न पर्याप्त जग्गा नभएपछि जीविका चलाउन उहाँलाई धौधौ प¥यो । त्यसैले परिवारसहित उहाँ बैतडीबाट दार्चुलाको जेबलधारको थाम भन्ने ठाउँमा बसाइँ सर्नुभयो । यो ठाउँ हाल दार्चुलाको शिखर गाउँपालिकामा पर्छ । त्यहाँ गएपछि उहाँ हुलाकको जागिरे हुनुभयो । अनि डाँक बोकेर जीविका चलाउन थाल्नुभयो । बलदेव भट्ट ‘रिचपल्या’का बारेमा यहाँ यसरी उल्लेख गर्नुको मुख्य कारण उहाँ प्रजातन्त्रको गीत गाउनुहुन्थ्यो । २०१७ सालमा राजनीतिक दलमाथि प्रतिबन्ध लाग्यो । द्वारिकादेवी ठकुरानीलगायतलाई अराष्ट्रिय तìवको आरोप लागाएर सर्वस्वहरण गरियो । ठकुरानीको सर्वस्वहरण गर्ने कुराको त्यतिबेला बैतडी र दार्चुलामा ठूलै विरोध भयो । सर्वस्वहरण गर्ने कुराको कडा विरोध गर्नेहरूमा बलदेव भट्ट ‘रिचपल्या’, बैतडीको मणिलेक काँणा हाइस्कुलका हेडमास्टर रमेशचन्द्र जोशी र द्वारिकादेवीका भतिजा मीनबहादु चन्द मुख्य हुनुहुन्थ्यो । 

द्वारिकादेवी ठकुरानी, मीनबहादुर चन्द र रमेशचन्द्र जोशीलाई पक्राउ गर्न तत्कालीन डडेल्धुरा गौँडाका बडाहाकिमले वारेन्ट जारी गरेपछि द्वारिकादेवीलगायत प्रजातन्त्रवादीहरू भारत जानुप¥यो । बलदेव भट्ट ‘रिचपल्या’ पेसाले सरकारी जागिरे भए पनि उहाँ नेपाली कांग्रेसको सम्पर्कमै हुनुहुन्थ्यो । परेको बेला जागिर छोडेर लडाइँमा लाग्ने उहाँको विचार थियो ।

द्वारिकादेवीसँग प्रवास जानेमा दुर्गादत्त जोशी, मीनबहादुर चन्द र हेडमास्टर रमेशचन्द्र जोशी, बझाङका ओमजङ्ग सिंह, रामबहादुर हमाल हुनुहुन्थ्यो । ओमजङ्ग सिंहले मकरबहादुर स्वाँर, श्याम खतिवडा, शेरबहादुर शाहीलगायत आठ÷दस जना लडाकु जम्मा गर्नुभयो । क्रान्तिका लागि भनेर ओमजङ्ग भारतको पिथौरागढ हुँदै दार्चुला फर्किनुभयो । यतिखेर नै दार्चुलामा बलदेव भट्ट ‘रिचपल्या’सहित दार्चुला उकुका कर्णबहादुर पाल, पस्तीका काशीराम पन्त आदि मिलेर दार्चुला उकुका जनताबाट नगद र भरुवा बन्दुक सङ्कलन गरेर बझाङ कब्जा गर्ने योजना बनेको थियो । बलदेवले हुलाकीको जागिर छोडी सक्नुभएको थियो । ओमजङ्ग सिंह भने नेपाली कांग्रेसका लडाकुसहित बैतडीको पुरचौडी क्षेत्र हुँदै बझाङ प्रवेश गर्नुभयो । २०१७ साल पुसमा तत्कालीन सरकारले सुदूरपश्चिमका विभिन्न ठाउँमा सेनाको ब्यारेक स्थापना गरेको थियो । बैतडीको छेला भम्क पानीमाथि, डडेल्धुराको ऐसेलुघारी बस्ने कीर्तबहादुर विष्टको घरमा, धनगढीको बोराडाँडी र कञ्चनपुरको भगतपुरमा यी सेनाको ब्यारेक स्थापना गरिएको थियो ।

नेपाली काँग्रेसका लडाकु ओमजङ्ग सिंहलगायत व्यक्ति बझाङ पसेको तत्कालीन सरकारले थाहा पाएपछि पक्राउ गर्न सेना परिचालन ग¥यो । बैतडी, डडेल्धुरा र डोटीबाट सेनाले घेरा हाल्दा बझाङको हिमलेकको पाखोमा हिँड्दै गरेको अवस्थामा ओमजङ्ग सिंहलाई बैतडीबाट गएका सेनाले टाढाबाट गोली हानेर मारी भीरबाट फालिदियो ।

ओमजङ्ग सिंहको हत्या गरेर बझाङबाट सेना फर्किंदै थियो । क्रान्तिका लागि हतियार र नगद सङ्कलनमा रहनुभएका बलदेव भट्ट ‘रिचपल्या’, दार्चुला लेकमका काशीराम पन्त, उकुका कर्णबहादुर पाल, दामोदर जोशी र बैतडी पीपलकोटका रघुवीरशरण भट्टलाई सेनाले पक्राउ ग¥यो र बैतडी लग्यो । पक्राउ पर्दा रामचन्द्र हमाल चमेलिया नदीमा हामफालेर भाग्न सफल भए भने बहादुर खत्री पौडिन नसक्दा चमेलिया नदीमा डुबेर मृत्यु भएको भनाइ छ । पक्राउ परेका बलदेव भट्ट ‘रिचपल्या’सहितका चार जनालाई सिभिल कानुन लगाई बैतडी झ्यालखानामा थुनियो । 

बैतडी झ्यालखानामा थुनिएका बलदेव भट्ट ‘रिचपल्या’, काशीराम पन्त, कर्णबहादुर पाल, दामोदर जोशीलाई डोटी झ्यालखाना चलान गर्ने भनी बाहिर निकालियो । डोटी झ्यालखाना लैजान भनी सेनाले घेरा हाली बैतडीको कठपतेको बीच जङ्गलमा लगेर बलदेव भट्ट ‘रिचपल्या’सहितका चार जनालाई खाल्डो खन्न लगाइयो । खाल्डो खनिसकेपछि सेनाले एक–एक गरी गोली हानेर पुरेको ‘रिचपल्या’का नजिकका नातेदार एवं जानकार खिमानन्द भट्टले जानकारी दिनुभयो । 

बलदेव भट्ट ‘रिचपल्या’सहित चार जनाको निर्ममतापूर्वक हत्या भएपछि सरकारविरुद्ध चर्को आवाज उठ्यो । हत्याको खबर काठमाडौँसम्म पुगेपछि सरकारले डोटीका तत्कालीन बडाहाकिमलाई विशेष अधिकार दिएर जाँचबुझ गर्न बैतडी पठाइयो तर हत्याबारे कुनै प्रतिवेदन सार्वजनिक भएन । २०४६ सालको जनआन्दोलनपछि बनेको सरकारले बलदेव भट्ट ‘रिचपल्या’को परिवारलाई एक लाख २५ हजार रुपियाँ सहयोग गरेको थियो ।