• १२ मंसिर २०८१, बुधबार

तातोपानी कुण्डमा स्नान गर्ने बढे

blog

दरबाङ समाचारदाता 

म्याग्दी (दरबाङ), फागुन ७ गते । म्याग्दीको बेनी नगरपालिका–४ स्थित प्राकृतिक तातोपानी कुण्डमा सात महिनाको अवधिमा नौ हजारभन्दा बढीले स्नान गरेका छन् । चालू आर्थिक वर्ष २०७९÷८० को साउनदेखि माघ महिनासम्म नौ हजार १९८ जनाले स्नान गरेका तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।

माघ महिनामा सबैभन्दा बढी दुई हजार ३८० जनाले स्नान गरेका छन् । तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यका अनुसार साउनमा २२४, भदौमा ४११, असोजमा एक हजार ९०२, कात्तिकमा एक हजार ५४८, मङ्सिरमा एक हजार ३१९ र पुसमा एक हजार ३८० जनाले स्नान गरेका छन् ।

बागलुङ, कास्की, मुस्ताङ, पर्वत, काठमाडौँ, चितवन, कपिलवस्तु, नवलपुर, गोरखा, लमजुङ, सुनसरी, रामेछाप, बर्दिया, गुल्मी, प्युठान, तनहुँ, स्याङ्जा, पाँचथर, मकवानपुर, रोल्पा, मोरङ, झापा, धादिङलगायत ३१ जिल्लाबाट स्नान गर्नेहरू आएका समितिले जनाएको छ ।

म्याग्दी नदीको किनारमा जमिनभित्रबाट बिरेनुनको गन्धसहित निस्कने ५० डिग्री सेल्सियस तातोपानी सङ्कलन गरिएको तलाउमा एक पटकमा ३५० देखि चार सय जनाले स्नान गर्न सक्ने क्षमता छ । सातदेखि १० दिन स्नान गर्नका लागि कुण्ड व्यवस्थापन समितिलाई प्रतिव्यक्ति ३५० रुपियाँ शुल्क तिर्नुपर्छ । बिरेनुनको गन्ध आउने पानी सङ्कलन गरिएको पोखरीमा स्नान गरे छाला, ग्यास्ट्रिक, बाथ, चोटपटक लागेको स्वास्थ्य समस्या निको हुने जनविश्वास छ । 

एक दिनमा दुई पटक दुई÷दुई घण्टाका दरले तातोपानीको कुण्डमा शरीरलाई डुबाएर स्नान गरेपछि बाहिर निस्किएर पाँच÷दस मिनेटसम्म पछ्यौरा, ब्ल्याङ्केट, प्लास्टिक, काम्लो आदि न्याना कपडा ओढेर शरीरबाट चिटचिट पसिना निस्कँदासम्म विश्राम गरिन्छ ।  छोटो समयका लागि स्नान गर्नेलाई छुट्टै पोखरी बनाइएको छ । त्यहाँ स्नान गर्न एक पटकका लागि प्रतिव्यक्ति दुई सय रुपियाँ शुल्क तोकिएको छ ।

महिला र पुरुषलाई फरक–फरक समय तालिका बनाएर स्नान गर्ने व्यवस्था मिलाइएको छ । दैनिक दुई/दुई घण्टाका दरले पुरुष र महिलालाई दुई/दुईवटा समूह बनाएर स्नान गर्ने व्यवस्था मिलाइएको तातोपानी कुण्ड व्यवस्थापन समितिका सहसचिव कुमार केसीले बताउनुभयो । 

स्नानका लागि आएका बिरामी र पाहुनाले तातोपानी बजारमा चहलपहल बढेको छ । तातोपानी कुण्डबाट आम्दानी भएको रकम कुण्डका कर्मचारीको तलब, सञ्चालन, पूर्वाधार निर्माण, विद्यालयलाई अनुदान र सामाजिक क्षेत्रमा खर्च गरिँदै आएको छ ।