• १६ चैत २०८०, शुक्रबार

आईसीसी लिग–२ : नामिबियामाथि नेपालको सानदार जित

blog

नामिबियाको विकेट लिएपछि नेपालका खेलाडी । तस्बिर : क्यान

काठमाडौं, फागुन ६ गते । ओपनर आसिफ शेख र ज्ञानेन्द्र मल्लले कीर्तिमानी साझेदारी गरेपछि नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा नामिबियामाथि सानदार जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा नेपालले नामिबियालाई तीन विकेटले हरायो ।


जारी लिगमा नेपालको यो लगातार तेस्रो जित हो । जितका लागि नामिबियाले दिएको दुई सय ७५ रनको लक्ष्य पछ्याएको नेपालले ४७.३ ओभरमा सात विकेटको क्षतिमा दुई सय ७८ रन जोड्दै लक्ष्य पूरा गरेको हो । 


नपालको जितमा आसिफ र ज्ञानेन्द्रले कीर्तिमानी शतकीय साझेदारी गर्नुभयो । आसिफले सर्वाधिक ८१ रन बनाउनुभयो । उहाँले ९८ बलमा आठ चौका र दुई छक्काको सहयोगमा उक्त रन जोड्नु भएको हो । ज्ञानेन्द्रले ७४ बलमा पाँच चौका र तीन छक्काको सहयोगमा ६५ रन बनाउनुभयो । 


दोस्रो विकेटका लागि ज्ञानेन्द्र र आसिफले एक सय ३९ रनको कीर्तिमानी साझेदारी गर्नुभयो । यो नेपालबाट एकदिवसीयमा उच्च साझेदारी हो । यसअघि कुशल भुर्तेल र रोहित पौडेलको नाममा एक सय ३३ रनको शतकीय साझेदारी थियो । उहाँहरुले पनि नामिबियाविरुद्ध नै उक्त शतकीय साझेदारी गर्नुभएको थियो ।


यस्तै कुशल मल्लले ६२ रनको अर्धशतकीय पारी खेल्नुभयो । मल्लले ४९ बलमा ६ चौका र चार छक्काको सहयोगमा उक्त रन जोड्नु भएको हो । कप्तान रोहित पौडेलले ३९ रन बनाउनुभयो ।बलिङमा नामिबियाका रुबेल ट्रुम्पलम्यानले तीन विकेट लिनुभयो । बर्नाल्ड स्कर्टजले दुई तथा टाङ्गेनी लुङ्मेनी र पीक्की या फ्रान्सले एक एक विकेट लिनुभयो । 


यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा दुई सय ७४ रन बनाएको थियो । नामिबियाका लागि जान ग्रिनले ७५ रन बनाउनुभयो । उहाँले ६३ बलमा ११ चौका र एक छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस्तै पीक्की या फ्रान्सले ४९, लोहार्ड लौरेन्सले ४१, रुबेल ट्रुम्पलम्यानले २४, माइकल भानले २२, कार्ल ब्रिकस्टकले २० तथा कप्तान ग्रेर्हाड इरास्मस र जान निकोलले  १५/१५ रन जोड्नुभयो । 


बलिङमा नेपालका सन्दीप लामिछानेले तीन विकेट लिनुभयो । यससँगै विश्वकप लिग–२ मा सन्दीपले व्यक्तिगत ५० विकेट पूरा गर्नुभएको छ । करण केसीले एक विकेट झार्नुभयो । जारी सिरिजका नेपालको यो लगातार तेस्रो जित हो । यसअघि पहिलो खेलमा नेपालले नामिबियालाई दुई विकेट र शुक्रबार स्कटल्यान्डलाई तीन विकेटले पराजित गरेको थियो ।


सिरिजमा नेपाल २७ खेलबाट २४ अङ्क जोड्दै छैटौँ स्थानमा छ । ३३ खेलबाट ३७ अङ्क बनाएको नामिबिया तेस्रो स्थानमा छ । सिरिज च्याम्पियन बनिसकेको स्कटल्यान्डले ३४ खेलबाट ४८ अङ्क बनाएको छ । नेपालले अर्को खेल फागुन ९ गते स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । सात टोली सहभागी सिरिजमा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोलीले विश्वकपमा स्थान बनाउनेछ ।