• ९ पुस २०८१, मङ्गलबार

जनकपुरधाम व्यापार मेला आजदेखि सुरु

blog

तिरहुतियम गाछी परिसरमा आजदेखि शुरुभएको मेला । तस्बिर : लक्ष्मी चौधरी

लक्ष्मी चौधरी 

जनकपुरधाम, फागुन ५ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाममा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको ‘जनकपुरधाम व्यापार मेला–२०७९’ आज शुक्रबारदेखि सुरु भएको छ । जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको व्यापार मेला सुरु भएको हो । 

उक्त व्यापार मेला मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले उद्घाटन गर्नुभएपछि मेला सुरु प्रारम्भ भएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठले बताउनुभयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारी र प्रतिष्ठानबीच अनुभव आदानप्रदान भई व्यापार, व्यवसायको विकासमा थप टेवा पुग्ने विश्वासका साथ व्यापार मेला आयोजना गरिएको उहाँले बताउनुभयो । 

व्यापार मेला फागुन ५ गतेदेखि १४ गतेसम्म जनकपुरधामको ऐतिहासिक तिरहुतिया गाछीमा आयोजना हुने सङ्घका अध्यक्ष महासेठले जानकारी दिनुभयो । मेलामा स्वदेशी तथा स्थानीय उत्पादनहरू राखिने छन् भने सार्क राष्ट्रहरू भारत, पाकिस्तान र बङ्गलादेशका विभिन्न क्षेत्रका व्यापारीको सहभागिता समेत रहने अध्यक्ष महासेठले बताउनुभयो ।

मेलामा एक सय ५० भन्दा बढी प्रदर्शनी कक्ष रहने आयोजकले जनाएको छ । मेलामा एक लाख जनाभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको सङ्घका महासचिव मनोजकुमार साहले बताउनुभयो ।