• १३ साउन २०८१, आइतबार

संसद्लाई सही ढङ्गले सञ्चालन गर्न भूमिका निर्वाह गर्छु : सभामुख घिमिरे

blog

बिर्तामोड नगरपालिकाको सम्मान ग्रहण गर्नुहुँदै सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगर । तस्बिर : विष्णुप्रसाद पोखरेल

विष्णुप्रसाद पोखरेल

दमक, फागुन ५ गते । सभामुख देवराज घिमिरेले राजनीतिक विसङ्गतिलाई हटाएर संसद्लाई सही ढङ्गले सञ्चालन गर्न आफूले भूमिका निर्वाह गर्ने बताउनुभएको छ । बिर्तामोड नगरपालिकाद्वारा यहाँ आयोजित सम्मान कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

सभामुख निर्वाचित भएपछि बिहीबार अपराह्न आफ्नो निर्वाचन क्षेत्रमा आउनुभएका सभामुख घिमिरेले संविधान संशोधनदेखि सरकारका हरेक कामलाई सही ढङ्गले सफल बनाउने प्रतिबद्धता जनाउनुभयो ।

मुलुक प्रतिकूल अवस्थामा रहेका बेला महत्त्वपूर्ण जिम्मेवारी आफ्नो काँधमा आएको पनि उहाँले चर्चा गर्नुभयो । यो कठिन घडिमा मैले पाएको जिम्मेवारीलाई जनअपेक्षाअनुसार पूरा गरेर देखाउँछु, उहाँले भन्नुभयो । राष्ट्रपति निर्वाचनदेखि लिएर अन्य महत्त्वपूर्ण कामलाई कुशलतापूर्वक सम्पन्न गर्ने उहाँको प्रतिबद्धता छ । 

दैनिक जीवन कष्टकर बनेको र आर्थिक अवस्था पनि बिग्रेको यो अवस्थालाई सामान्यीकरण गर्नलाई आफूले खेल्न सक्ने भूमिका खेल्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । सबै राजनीतिक दलहरूले मुलुकको समस्या समाधानका लागि अग्रसर हुनुपर्छ र त्यसै अनुसारको भूमिका निर्वाह गर्नुपर्छ, उहाँको सुझाव छ । 

यसैबीच सभामुख घिमिरे र उपसभामुख इन्दिरा रानामगरलाई बिर्तामोड नगरपालिकाले सम्मान गरेको छ ।  बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतरा प्रसाईँ, उपप्रमुख नगेन्द्र सङ्ग्रौला लगायतले नगरपालिकाको तर्फबाट सभामुख घिमिरे र उपसभामुख रानामगरलाई सम्मान गर्नुभयो ।