• ८ मंसिर २०८१, शनिबार

डढेलो निभाउन समस्या

blog

रसुवा,  फागुन  ५ गते । लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय ब्रावाल नजिकको जङ्गलमा डढेलो लागेपछि सरकारी भवनको सुरक्षार्थ अग्नि रेखा निर्माण गरिएको छ । गोसाईंकुण्ड गाउँपालिका–६ धुञ्चेबाट सवा किलोमिटर दक्षिण ब्रावाल भिरमा आज  अचानक लागेको डढेलो नियन्त्रणभन्दा बाहिर गएपछि  निकुञ्जको साथै नेपाली सेनाको ब्यारेक सुरक्षाका लागि संयुक्त सुरक्षा दस्ताले  अग्निरेखा तयार गरेको हो ।

डढेलो नियन्त्रण एवम् अग्नि रेखा निर्माणका लागि निकुञ्ज कार्यालयका  वन प्राविधिक,  विष्णु दल गण , सशस्त्र प्रहरी बल २० नम्बर गुल्म र नेपाल प्रहरीका सुरक्षाकर्मी परिचालन भएको रसुवाका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताउनुभयो । 

बढी भिरपाखो र निकुञ्ज स्थापना भएपश्चात् वि.सं २०३२ देखि सुरक्षित रहेको झाडी क्षेत्र भएकाले आगो निभाउन समस्या परेको जनाइएको छ ।  सुरक्षा अङ्गले पिक, साबेल, गल, घन, नम्बरको प्रयोग गरी सात सय मिटर भन्दाबढी अग्नि रेखा निर्माण गरिसकेको बताइएको छ । 

अग्नि रेखा निर्माण गरिएसँगै सरकारी संरचना सुरक्षित भएको सुरक्षाकर्मीले जानकारी दिएका छन् । यस्तै बुधबारदेखि गोसाईंकुण्ड जाने धार्मिक मार्गअन्तर्गत खन्तीको जङ्गल इलाका क्षेत्रमा लागेको डढेलोसमेत नियन्त्रणमा आउन सकेको छैन ।

डढेलोका क्षतिको विवरण अहिलेसम्म आङ्कलन नभएको र डढेलो नियन्त्रण गरेर मात्र लगत अद्यावधिक गरिने  निकुञ्जले जनाएको छ ।