• १२ मंसिर २०८१, बुधबार

गाँजा ओसारपसारमा कार प्रयोग

blog

मकवानपुर समाचारदाता 

हेटौँडा, फागुन ५ गते । जिल्ला प्रहरी कार्यालय मकवानपुरले गाँजा ओसार्न प्रयोग गरिएको क्रेटा कारसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरस्थित भित्री सडकखण्डको कुवापानीबाट बस्तीपुरतर्फ आउँदै गरेको बा. २१ च ९३२६ नं. को क्रेटा कार र ना. २१ प १०९० नं. को मोटरसाइकलसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उक्त क्रेटा कार र मोटरसाइकल जाँच गर्ने क्रममा कारभित्रबाट गाँजा ४५ किलोग्राम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

कारसहित कारचालक पर्सा जिल्ला बहुदरमाई नगरपालिका वडा नं. ४ का करिब २० वर्षीय व्रजेशकुमार तेली, कारमा रहेका सोही पालिकाको वडा नं. ९ का करिब ४० वर्षीय नैमोदिन देवान, १९ वर्षीय छोटु गुप्ता कलुवार, वडा नं. ७ का २२ वर्षीय सन्तु राउत कुर्मीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

यसैबीच मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ९ स्थित ज्यामिरेबाट गाँजा फेला परेका ट्रकका चालक फरार रहेकोमा प्रहरीले बिहीबार हेटौँडा उप–महानगरपालिका वडा नं. १ हेटौँडा अस्पताल अगाडिबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गत सोमबार ना. ६ ख ४५२० न. को डिब्बा ट्रकको क्याबिनभित्र १५८ के.जी. गाँजा फेला परेको र चालक भने फरार रहेकोमा खोजतलास गर्ने क्रममा ट्रक चालक थाहा नगरपालिका वडा नं.३ गोपाली गाउँका २७ वर्षीय रसाल गोपालीलाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको छ । प्रहरीले यसअघि नै ट्रकका सहचालक थाहा नगरपालिका वडा नं. ३, गोपालीगाउँका १८ वर्षीय विशाल गोपालीलाई नियन्त्रणमा लिएर अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरेको थियो ।