चितवन समाचारदाता
चितवन, फागुन ४ गते । १२ बुँदे घोषणापत्र जारी गर्दै दुईदिने नारायणी नदी सम्मेलन सकिएको छ। स्वच्छ नदी, स्वस्थ जीवनका लागि घोषणापत्रमा नदीको स्वच्छता, संरक्षण र दिगोपनामा जोड दिइएको छ।
घोषणापत्रमा जलाधार क्षेत्रको संरक्षणका लागि जैविक एवं पारिस्थितिकीय प्रणालीमा आधारित क्रियाकलापमा जोड दिँदै नदीमा आश्रित जीव, समुदायको उत्थान एवं विकास गर्नुपर्ने औँल्याइएको छ। सांस्कृतिक क्रियाकलाप गर्दा स्वच्छतामा ध्यान दिने, संरक्षणमुखी कार्यक्रम सञ्चालन गर्ने र औद्योगिक क्षेत्रको प्रदूषण नियन्त्रणसम्मका विषय उल्लेख गरिएका छन्।
कार्यक्रमको समापनमा वक्ताहरूले अधिकारका कुरा उठाउँदै गर्दा कर्तव्य नभुल्न आग्रहसहित पालिकाहरूले जिम्मेवारी बोध गरी अघि बढ्नुपर्ने बताएका छन्। कार्यक्रममा गैँडाकोटका नगरप्रमुख मदनभक्त अधिकारीले घोषणापत्रमा भएका कुरा लागू गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो। नदीको माथिल्लो तटीय क्षेत्रमा गरिएको फोहोरले तल्लो तटीय क्षेत्र अझ बढी प्रभावित भएको बताउँदै उहाँले सरसफाइ कायम राख्न आग्रह गर्नुभयो।
सहमति संस्थाका अध्यक्ष होमनाथ सुवेदीले सचेतना फैलाउने, सिमसार क्षेत्रहरूको संरक्षण, नदीमा आश्रित तटीय क्षेत्रका परिवारको जीविकोपार्जन सुधार, पानीसँग सम्बन्धित जोखिम कम गर्नेलगायत क्रियाकलापसँगै तीनै तहका सरकारलाई घचघच्याउने काम गरेको बताउनुभयो। ग्रिन पिक्सेलका परामर्शकर्ता वासुदेव न्यौपानेले घोषणापत्रबारे जानकारी गराउनुभएको कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिककृत राजु घिमिरे, मध्यवर्ती समितिका अध्यक्ष प्रकाश ढुङ्गान, संरक्षणकर्मी राजेश शाहलगायत बोल्नुभएको थियो।
दुई दिनसम्म चलेको सम्मेलनमा कार्यपत्रहरू प्रस्तुत गरिएको थियो। डब्लूडब्लूएफ, जलाधार संरक्षण केन्द्र गण्डकी प्रदेश, गैँडाकोट नगरपालिका, त्रिभुवन विश्वविद्यालय वातावरण विभाग, लुथरनसँगको सहकार्यमा सहमतिको सिमसार क्षेत्र पुनस्र्थापना र नारायणी तटीय सामूहिक प्रयास तथा कार्ययोजना परियोजनाको आयोजनामा सम्मेलन भएको हो।