• १७ असार २०८१, सोमबार

२०० मेगावाट विद्युत प्रवाहका लागि पूर्वाधार तयार

नयाँ मोदी– लेखनाथ १३२ केभी प्रसारण लाइन सञ्चालनमा

blog

नयाँ मोदी (पर्वत)–लेखनाथ (कास्की) प्रसारण लाइन निर्माण सम्पन्न । तस्बिर : नेपाल विद्युत् प्राधिकरण

काठमाडौं, फागुन ३ गते । नयाँ मोदी (पर्वत)–लेखनाथ(कास्की) प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । नयाँ मोदी–लेखनाथ प्रसारण लाइन आयोजनाअन्तर्गत ४३ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइन र मोदी गाउँपालिका–२ देउपुरमा १३२ केभी स्वीचिङ स्टेसन, कास्कीको माछापुच्छ्रे गाउँपालिका–४मा १३२ केभी लाहाचोक सबस्टेसन तथा लेखनाथ सबस्टेसनको स्वीचयार्डमा १३२ केभी लाइन बे निर्माण गरिएको छ ।

पर्वत, कास्कीलगायतका जिल्लाको विद्युत् आपूर्ति सुधार गर्न र मोदी, सेती, मादी तथा सर्दी नदीमा निर्माण हुने जलविद्युत् आयोजनाहरुको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाहका लागि नयाँ मोदी–लेखनाथ प्रसारण लाइन आयोजना निर्माण गरिएको हो ।

आयोजनाअन्तर्गत पर्वतको मोदी गाउँपालिका–२ देउपुरस्थित स्वीचिङ स्टेसनबाट लाहाचोकसम्मको १३२ केभी प्रसारण लाइन र लाहाचोक सबस्टेसन गत वर्षको पुसमै निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको थियो ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लाहाचोक–लेखनाथ खण्ड प्रसारण लाइन निर्माण सम्पन्न गरी मङ्गलबार चार्ज गरिएसँगै नयाँ मोदी–लेखनाथ १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न भएको बताउनुभयो ।

कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘‘कोभिड–१९ को महामारी, लाहाचोक–लेखनाथ खण्डअन्तर्गत माछापुच्छ्रे गाउँपालिका र पोखरा महानगरपालिको विभिन्न ठाउँका स्थानीय बासिन्दाबाट प्रसारण लाइनको रुट परिवर्तनको माग गर्दै अवरोध गर्दा निर्माण प्रभावित भएको थियो, आयोजना व्यवस्थापनको निरन्तरको प्रयास, स्थानीय तह, प्रशासनलगायत सबैको साथ र सहयोगमा समस्या समाधान गर्दै प्रसारण लाइन निर्माण सम्पन्न भएको छ ।’’

उहाँले थप्दै भन्नुभयो, ‘‘त्यस क्षेत्रमा निर्माणाधीन विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादित करिब २०० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा प्रवाह हुन सक्ने पूर्वाधार तयार भएको छ ।’’ जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत् नयाँ मोदी र लाहाचोक सबस्टेसनमा जोडी राष्ट्रिय प्रणालीमा प्रवाह गरिनेछ ।

लाहाचोक सबस्टेसनबाट कास्कीको माछापुच्छ्रे, अन्नपूर्ण गाउँपालिका र पोखरा महानगरपालिकामा  विद्युत् आपूर्ति दिइएको छ । यसबाट त्यस क्षेत्रको विद्युत् आपूर्ति गुणस्तरीय र भरपर्दो भएको छ । पोखराबाट त्यस क्षेत्रमा विद्युत आपूर्तिको लगिएको लाइन लामो हुँदा ट्रिपिङ, लो भोल्टेज लगायतका समस्या थियो । लाहाचोक सबस्टेशनवाट आपूर्ति दिँदा त्यस क्षेत्रको विद्युत सेवा सुधार भई उपभोक्ताले भरपर्दो तथा गुणस्तरीय विद्युत् पाएको र प्राविधिक चुहावट समेत घटेको आयोजना प्रमुख रोशन अग्रवालले बताउनुभयो ।

नयाँ मोदी–लेखनाथ प्रसारण लाइन आयोजनाअन्तर्गत १४० वटा टावर निर्माण गरिएको छ । लाहाचोक सबस्टेसनमा १३२/३३ केभी, ३० एमभिए र ३३/११ केभी, ८ एमभिएका पावर ट्रान्सफर्मरहरु रहेका छन् । सबस्टेसनमा स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि ३३ केभीका एकवटा लाइन बे र चारवटा ११  केभीका फिडरहरु निर्माण गरिएको छ ।

कुल अनुमानित लागत दुई अर्ब २४ करोड रुपियाँ रहेको आयोजनामा नेपाल सरकार तथा विद्युत प्राधिकरणको लगानी र आयात–निर्यात (एक्जिम) बैक, भारतको सहुलियतपूर्ण ऋण छ । प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि २०७५ असार ७ मा क्रमश: कलपत्रु पावर ट्रान्समिसन लिमिटेड, भारत र हिताची इनर्जी लिमिटेड (एबिबी), भारतसँग ठेक्का सम्झौता भएको थियो ।