कावासोती समाचारदाता
कावासोती, फागुन ३ गते । गण्डकी प्रदेश कृषि, ऊर्जा तथा जलस्रोतमन्त्री वेदबहादुर गुरुङले मानवीय क्रियाकलापका कारण प्राकृतिक सम्पदामा ठूलो असर परेको बताउनुभएको छ। जलाधार क्षेत्रमा बढ्दै गएको प्रदूषण रोक्न पानीसँग जोडिएका धर्म, संस्कार रीतिरिवाज एवं संस्कृति उजागर गर्नुपर्ने धारणा पनि उहाँको छ। नारायणी जलाधार संरक्षण गर्न आयोजित नारायणी नदी सम्मेलनमा उहाँले सो विचार व्यक्त गर्नुभएको हो।
उहाँले नदीजन्य वस्तुको उत्खनन तथा नदीक्षेत्रमा उद्योग र कारखाना सञ्चालन, जलवायु परिवर्तन, नदी संरक्षण तथा संवद्र्धन एवं जैविक विविधताका विषयमा सबै सचेत बन्नुपर्ने बताउनुभयो।
पूर्वमन्त्री गणेश शाहले नदी आमा समान गङ्गाको रूपमा लिइने र आमाले जस्तै पोषण दिइरहने भएकाले यसको संरक्षण जरुरी रहेको भन्दै प्रदेश सरकारले नीति बनाउँदा सरंक्षण कार्यलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. महेश्वर ढकालले नेपालजस्तो भूपरिवेष्ठित राष्ट्रमा पानीको महत्व अति नै रहेको चर्चा गर्दै पानीलाई सार्वजनिक सम्पत्तिका रूपमा लिँदै नारायणी, राप्ती र रिउलगायतका नदीमा हुने अवैध क्रियाकलाप र नदी दोहन रोक्नुपर्नेमा जोड दिनुभयो।
गाउँपालिका महासङ्घका केन्द्रीय अध्यक्ष एवं हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बाढीका कारण नदीजन्य पदार्थ भारततर्फ बगेर खेर गएको जनाउँदै त्यस्ता पदार्थको उपभोग एवं सदुपयोग गर्न मिल्ने ऐनको व्यवस्था गर्नुपर्ने बताउनुभयो।
नारायणी जलाधार क्षेत्रले नवलपुर, चितवन र मकवानपुर गरी चार लाख ६८ हजार हेक्टर क्षेत्रफल ओगटेको छ। नदीबाट ११ लाख व्यक्ति लाभान्वित छन्।
खानेपानीको आधार, बिजुली बत्ती, कृषि सिँचाइ, पर्यटन, धार्मिक अनुष्ठान, जलचरको बासस्थानलगायत जनजीविकाको आधार भएकाले पानीको व्यवस्थापन तथा संरक्षणका सम्बन्धमा बहस भइरहेको छ।