• ३१ वैशाख २०८१, सोमबार

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

blog

१. राजस्व सङ्कलनले नकारात्मक लय समातेसँगै सरकारले आ.व. २०७९÷८० को बजेटको आकार घटाउँदै कति कायम गरेको छ ? 

१५ खर्ब ४९ अर्ब ९९ करोड

आर्थिक सूचकहरूमा क्रमिक सुधार हुँदै गए पनि सरकारको लक्ष्यअनुसार स्रोतको सुनिश्चितता नहुँदा मध्यावधि समीक्षामार्फत सरकारले चालू आर्थिक वर्षको बजेट कटौती गरेको । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा वि.सं. २०७९ माघ २९ मा प्रतिनिधि सभामा बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन प्रस्तुत गर्दै बजेट दुई खर्ब ४४ अर्ब रुपियाँले घटाइएको । आन्तरिक तथा बाह्य कारणले बजेटको स्रोतमाथि दबाब परेपछि बजेटको अर्धवार्षिक मूल्याङ्कनमार्फत सरकारद्वारा सुरु विनियोजनको तुलनामा १३.५९ प्रतिशतले बजेट घटाइएको । बजेटको लक्ष्य र उद्देश्य पूरा गर्न प्रतिकूलता सिर्जना भएकाले बजेट संशोधन गरेर घटाउनु परेको साथै चालू आ.व.को बाँकी अवधिमा बजेट कार्यान्वयनलाई यथार्थपरक बनाउन पनि आकार घटाएको बताइएको । 

सरकारले आ.व. २०७९/८० का लागि रु. १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट विनियोजन गरेको थियो । 

चालू आ.व.को खर्चतर्फ सरकारले चालूतर्फको खर्च घटाएर १० खर्ब २१ अर्ब ९२ करोड रुपियाँ खर्च हुने संशोधित अनुमान गरेको । 

त्यस्तै पुँजीगततर्फ तीन खर्ब १३ अर्ब ८५ करोड रुपियाँ र वित्तीय व्यवस्थातर्फ दुई खर्ब १४ अर्ब २१ करोड रुपियाँ खर्च हुने अनुमान रहेको । 

आयातमा लगाइएको प्रतिबन्ध आर्थिक गतिविधिमा आएको सुस्तता र बाह्य कारणले आम्दानीको मुख्य स्रोत राजस्वमा दबाब परेको अर्थ मन्त्रालयको निष्कर्ष रहेको । 

यही आधारमा मन्त्रालयले राजस्वको सुरु अनुमानमा पनि संशोधन गर्दै आन्तरिक ऋणसहित १३ खर्ब ४१ अर्ब रुपियाँ उठ्ने संशोधित अनुमान गरेको । 

वैदेशिक अनुदान ३८ अर्ब ४५ करोड रुपियाँ र वैदेशिक ऋण एक खर्ब ७० अर्ब रुपियाँ खर्च हुने अनुमान रहेको । 

मन्त्रालयले चालू आ.व.को छ महिनासम्म सङ्कलित राजस्व लक्ष्यको तुलनामा २४.८ प्रतशतले कम र गत आ.व.को तुलनामा १५ प्रतिशतले घटेको जनाएको । आ.व. २०२४/२५ पछि दोस्रो पटक राजस्वको वृद्धि नकारात्मक भएको जनाइएको । 

बजेट (२०७९/८०) को संशोधित अनुमान


२. भारतको प्रसिद्ध टेलिभिजन अवार्ड दादासाहेब फाल्के अवार्ड (२०२३) बाट सम्मानित हुने नेपाली को हुन् ? 

हरिशरण सुवेदी

(विज्ञापन तथा मिडिया व्यवसायी सुवेदीलाई नेपालको टेलिभिजन उद्योगमा विशेष योगदान पु¥याएबापत सो अवार्ड प्रदान गरिएको ।)


३. वि.सं. २०७९ माघ २६ मा सुदूरपश्चिमको मुख्यमन्त्रीमा को नियुक्त भएका छन् ? 

कमलबहादुर शाह (नेपाली कांग्रेस)

यसअघि मुख्यमन्त्री नियुक्त राजेन्द्रसिंह रावलले विश्वासको मतका लागि प्रदेश सभामा राखेको प्रस्ताव बहुमतबाट अस्वीकृत भएपछि उनले सोही दिन पदबाट राजीनामा दिएका थिए । राजीनामा दिएपश्चात् माघ २६ कै दिन प्रदेशप्रमुख देवराज जोशीले शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका । 

नवनियुक्त मुख्यमन्त्री शाहले एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ । 

सुदूरपश्चिम प्रदेश सभामा सत्ता गठबन्धनको बहुमत हुँदाहुँदै पनि सत्ता गठबन्धनमै रहेको नागरिक उन्मुक्ति पार्टीले मत नदिँदा रावलले विश्वासको मत प्राप्त गर्न नसकेका । 


४. राष्ट्रिय कफी दिवस कहिले मनाइन्छ ? 

मङ्सिर १

२०७९ को नारा : व्यावसायिक कफी खेतीमा जोड, गुणस्तरीय उत्पादन हाम्रो अठोट

राष्ट्रिय कफी दिवस वि.सं. २०६२ देखि मनाउन थालिएको । 


५. विश्व सिमसार दिवस कहिले मनाइन्छ ? 

फेब्रुअरी २

सन् २०२३ मा ‘वेटल्यान्ड रेस्टोरेसन’ नाराका साथ यो दिवस मनाइएको । 

विश्वमा यो दिवस सन् १९८५ देखि र नेपालमा १९९७ देखि मनाउन थालिएको । 

नेपालका १० सिमसार क्षेत्र रामसार सूचीमा सूचीकृत भएका । 

सन् १९७१ फेब्रुअरी २ मा इरानको रामसारमा यस सन्धिमा हस्ताक्षर भएको । 

नेपाल सन् १९८७ मा यस सन्धिमा आबद्ध भएको । 


६. परराष्ट्र मन्त्रालयमा ब्रेन गेन सेन्टरको स्थापना कहिले गरिएको हो ? 

वि.सं. २०७६ जेठ १७

विदेशमा रहेका नेपालीको ज्ञान, सीपलाई मुलुकको हितमा प्रयोग गर्ने उद्देश्यअनुरूप यो सेन्टरको स्थापना गरिएको ।


७. स्थानीय योजना निर्माण मञ्चको पाँचौँ अन्तर्राष्ट्रिय सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ? 

वि.सं. २०७९ माघ १९–२०, काठमाडौँ

‘एकीकृत र जलवायु अनुकूलन सहरी विकासका लागि स्थानीय योजना’ नाराका साथ सञ्चालन भएको सो सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका १३ मुलुकका सहरी परियोजनाकार, उच्चपदस्थ कर्मचारी र सम्बन्धित विषयविज्ञको सहभागिता रहेको । 

दिगो उत्थानशील र समावेशी समाज एवं सहरी बस्ती निर्माणका लागि हातेमालो गर्ने उद्देश्यका साथ जापान सरकारको अगुवाइमा सन् २०१८ मा स्थानीय योजना निर्माण मञ्च गठन भएको । मञ्चमा एसिया प्रशान्त क्षेत्रका नेपाल, भारत, चीन, भुटान, श्रीलङ्का, मलेसिया, भियतनाम, जापानलगायतका १३ देश आबद्ध रहेका । 

नेपालमा यो सम्मेलन पहिलो पटक आयोजना भएको । 


८. निर्वाचन आयोगले चितवन जिल्ला निर्वाचन क्षेत्र २ मा रिक्त रहेको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन कहिले गर्ने भएको छ ? 

वि.सं. २०८० वैशाख १०

(निर्वाचन आयोगको २०७९ माघ २९ मा बसेको बैठकले सो निर्णय गरेको ।)


९. बीपी स्मृति ट्रस्टद्वारा प्रदान गरिएको बीपी साहित्य सम्मानबाट सम्मानित हुने स्रष्टा को हुन् ? 

साहित्यकार कृष्णप्रसाद गौतम (पुरस्कार राशि ः रु. एक लाख एक हजार)

त्यसैगरी बीपी सेनानी पुरस्कार (पुरस्कार राशि ः रु. ५१ हजार) शान्ति कार्कीलाई प्रदान गरिएको । 


१०. सरकारले कैलालीस्थित गेटा मेडिकल कलेजलाई शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय कहिले गरेको हो ? 

वि.सं. २०७९ माघ २९

(२०७९ माघ २९ मा बसेको मन्त्रिपरिषद् बैठकले प्रस्तावित गेटा मेडिकल कलेजलाई शहीद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको ।)


११. अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण प्राप्त गर्न सफल पहिलो नगरपालिका कुन हो ? 

तिलोत्तमा नगरपालिका (रुपन्देही)


१२. नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको स्थापना कहिले भएको हो ?

वि.सं. २०३९ असोज ११


१३. भू–उपयोग ऐन, २०७६ अनुसार कृषि क्षेत्र भन्नाले के बुझिन्छ ? 

कृषिबाली उत्पादन, पशुपन्छीपालन, फार्म हाउस, मत्स्यपालन, माहुरीपालन, रेशमखेतीलगायत कृषिजन्य उत्पादन, बागवानी वा वनवाटिका, जडीबुटी र कृषि वनका लागि प्रयोग भएको वा हुनसक्ने जग्गा । 


१४. पर्यावरणीय संरक्षणका लागि ‘चिप्को आन्दोलन’ सञ्चालन गर्ने अभियन्ता को हुन् ?

सुन्दरलाल वहुगुणा

भारतको गडवाल क्षेत्रमा वन फँडानीविरुद्ध उनले सन् १९७३ तिर यो आन्दोलन सञ्चालन गरेका ।


१५. बेइजिङ प्लस २५ भन्नाले के बुझिन्छ ?

महिला सशक्तीकरणका सम्बन्धमा चीनको राजधानी बेइजिङमा २५ वर्षअघि सम्पन्न चौथो विश्व महिला सम्मेलनको पुनरवलोकनका लागि सन् २०१९ अक्टोबरमा काठमाडौँमा आयोजित बैठक 


१६. प्रमुख निर्वाचन आयुक्त वा निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता कति हो ?

स्नातक तह


१७. काठमाडौँको चोभारमा रहेको सुक्खा बन्दरगाह (ड्राइपोर्ट) लजिस्टिक हबका रूपमा कहिलेदेखि सञ्चालनमा ल्याइएको हो ? 

वि.सं. २०७९ माघ २७

व्यापार सहजीकरण गर्ने उद्देश्यसहित विश्व बैङ्कको सहयोगमा निर्माण भएको यो बन्दरगाह प्रभावकारी रूपमा सञ्चालनमा आउन नसकेपछि यहाँ निर्माण भएको पूर्वाधार प्रयोगमा ल्याउन पार्किङस्थल र गोदाम सञ्चालनमा ल्याइएको । 

यस सुक्खा बन्दरगाहमा रहेको आन्तरिक टर्मिनलमा १५० वटा सवारीसाधन पार्किङ क्षमता, एक हजार २९६ वर्गकिलोमिटर क्षमताको एउटा गोदामघर, ८० मेट्रिक टन क्षमताको सवारी नापतौल, लोड÷अनलोड सेड, 

चालक तथा कामदारका लागि शौचालय आदिको व्यवस्था रहेको । 

सुक्खा बन्दरगाहको ८५ रोपनी जग्गालाई लजिस्टिक हबका रूपमा विकास गरी सञ्चालनमा ल्याइएको । 

विश्व बैङ्कको एक अर्ब ५४ करोड रुपियाँ सहयोगमा निर्माण गरिएको सो बन्दरगाह वि.सं. २०७८ चैत २२ मा उद्घाटन भएको । 


१८. आन्तरिक राजस्व विभागले स्थायी लेखा नम्बर (पान) वितरणमा वायोमेट्रिक प्रणाली पहिलो चरणमा कहाँ लागू गरेको हो ?

काठमाडौँ उपत्यका 

पहिलो चरणमा काठमाडौँ उपत्यकाभित्रका करदाता 

सेवा कार्यालयमा आ.व. २०७७/७८ देखि यो प्रणाली सुरु गरिएको ।

हाललाई बिपान (व्यावसायिक स्थायी लेखा नम्बर) उपलब्ध गराउँदा मात्र यस्तो प्रणाली कार्यान्वयनमा ल्याइएको ।

वायोमेट्रिक प्रणाली बिस्तारै देशैभरका करदाता सेवा कार्यालयमा लागू गरिने ।


१९. लिम्वू भाषा कुन लिपिमा लेखिन्छ ?

सिरिजङ्गा

(यस लिपिको आविष्कार तेअङ्सी सिरिजङ्गाबाट भएको । उनको जन्म १७६० को दशकमा ताप्लेजुङ जिल्लाको तल्लेक भन्ने ठाउँमा भएको ।)


२०. अन्तर्राष्ट्रिय फौजदारी अदालतको प्रधान कार्यालय कहाँ रहेको छ ?

नेदरल्यान्डको द हेग

सन् १९९८ जुलाई १७ मा रोम सन्धिबाट यस संस्थाको अवधारणा पारित भएको तथा सन् २००२ जुलाई १ मा स्थापना भएको । 

कार्यालय सञ्चालनका भाषा : २ (अङ्ग्रेजी र फ्रेन्च)

आधिकारिक भाषाहरू : छ (अङ्ग्रेजी, फ्रेन्च, स्पेनिस, रसियन, चाइनिज र अरेविक) 

अन्तर्राष्ट्रिय फौजदारी अदालतको ‘चाइल्ड ब्रेन’ भनी चिनिने संस्था एमनेस्टी इन्टरनेसनल हो । 

अन्तर्राष्ट्रिय फौजदारी अदालतका सदस्य राष्ट्र १२३ रहेका । 

यस संस्थाको सदस्यबाट बाहिरिने राष्ट्र चार (बुरुन्डी, दक्षिण अफ्रिका, गाम्बिया र फिलिपिन्स) रहेका । बाहिरिने पहिलो राष्ट्र बुरुन्डी (सन् २०१६ अक्टोबर १७) र पछिल्लो राष्ट्र फिलिपिन्स (सन् २०१८ मार्च १७) रहेका । 

प्रस्तुतकर्ता : टंक के.सी.