• १२ मंसिर २०८१, बुधबार

दिनभर बालाजु क्षेत्रमा तनाव : उपत्यकामा सवारी बन्द गर्ने व्यवसायीको निर्णय

blog

प्रहरीमाथि ढुंगा प्रहार गर्दै यातायात मजदुर । तस्बिर : सुजन गुरुङ

गोरखापत्र अनलाइन 

काठमाडौं, फागुन १ गते। बालाजुस्थित गोङ्गबु नयाँ बसपार्क क्षेत्र सोमबार दिनभर तनावग्रस्त बनेको छ। मजदुर कुटिएको भन्दै सुरु भएको विरोध प्रदर्शन चर्कँदै जाँदा उक्त क्षेत्रमा तनाव भएको हो। 

काठमाडौं प्रहरी परिसरका प्रवक्ता सिताराम रिजालका अनुसार सुरुमा ट्राफिक नियम मिच्दा हुने गरेको जरिवाना बढी भएको भन्दै विरोध भएको थियो। यातायात व्यवसायीसँग भएको वार्तापछि पनि मजदुरले आन्दोलन गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको हो। 

उहाँले भन्नुभयो, ‘ट्राफिक नियम मिच्दा हुने गरेको जरिवाना बढी भएको भन्दै सुरुमा विरोध भएको थियो। पछि वार्ता भएर आन्दोलन फिर्ता भएको थियो। फेरि मजदुरले आन्दोलन गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको हो।’

उहाँका अनुसार मजदुरले माइक्रो बस पार्कभित्र लान पाउनुपर्ने माग समेत राख्दै आएका छन्। उहाँले भन्नुभयो, ‘मजदुरले माइक्रोबस पनि बसपार्कभित्र नै लान पाउनुपर्ने माग राख्दै आएका छन्। प्रहरीले भीडलाई नियन्त्रणमा लिने प्रयास गर्दा झडप भएको हो।’ 

यस्तै मजदुरलाई आक्रमण भएको भन्दै नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात मजदुर सङ्घले विज्ञप्ति सार्वजनिक गर्दै विरोध जनाएका छन्।फागुन ३ गतेदेखि देशव्यापी रूपमा गरिने आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न गोङ्गबु बसपार्कमा जम्मा भएका मजदुरलाई नयाँ बसपार्कका  ठेकेदार कम्पनीका ३० व्यक्तिले आक्रमण गरेको जनाएको छ।


विज्ञप्तिमा भनिएको छ, ‘फागुन ३ गतेदेखि देशव्यापी गरिने आन्दोलका कार्यक्रम सार्वजनिक गर्ने क्रममा नयाँ बसपार्कमा भेला भएका मजदुरलाई ठेकेदार कम्पनी ल्हात्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवर, ल्होत्सेकै कर्मचारी पङ्कज मल्ल, हिमाल कुँवर लगायतका अपरिचित करिब ३० जनाको समूहले आक्रमण गरेको छ।’

व्यवसायीले मंगलबार उपत्यकाका सम्पूर्ण सवारी समाधान बन्द गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ। उपत्यका बाहिरको हकमा भने अर्को निर्णय नभएसम्मका लागि पूर्व निर्धारित कार्यक्रम यथावत् रूपमा सञ्चालन गर्न व्यवसायीले अनुरोध गरेका छन्।