• १३ साउन २०८१, आइतबार

संरक्षित चरी बाघको छालासहित दुई पक्राउ

blog

चरी बाघको छालासहित पक्राउ परेकाहरु । तस्बिर : नेपाल प्रहरी

अविनाश चौधरी

धनगढी, फागुन १ गते । संरक्षित चरी बाघको छालासहित कैलालीमा दुई जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरीको आइआरटी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटेको प्रहरीको संयुक्त टोलीले सोमबार बिहान गोदावरी नगरपालिका –२ बसपार्कबाट छालासहित उनीहरूलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा अछामको चौरपाटी गाउँपालिका –५ का १८ वर्षीय सुवास बोहरा र सोही ठाउँका १७ वर्षीय सुनिल बोहरा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले जानकारी दिनुभयो । 

उहाँका अनुसार पक्राउ परेकाको साथबाट पुच्छरसहित तीन फिट लम्बाई र ५ इन्च चौडाइ भएको छाला बरामद गरिएको छ । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा राखेको छ । आवश्यक कारबाहीका लागि उनीहरूलाई डिभिजन वन कार्यालय कैलालीमा बुझाइने प्रहरी निरीक्षक साउँदले बताउनुभयो । 

पक्राउ परेकाहरूको साथबाट बरामद गरिएको छाला चरी बाघको रहेको वन्यजन्तु विज्ञ प्राध्यापक करनबहादुर शाहले बताउनुभयो । ‘चरी बाघ मारेर पैसा आउँदैन । बेकारमा मान्छेले वन्यजन्तु मार्छन्’ उहाँले भन्नुभयो, ‘त्यसरी मार्दा अब जेल बस्नु पर्ला ।’

चरी बाघलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ ।