• १३ साउन २०८१, आइतबार

सुख्खा बन्दरगाह त्रिदेशीय साझेदारीको रणनीतिअनुसार निर्माण हुन्छ : प्रधानमन्त्री प्रचण्ड

blog

कञ्चनपुरको महेन्द्रनगर सुक्खा बन्दरगाहको अवलोकन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : प्रदीपराज वन्त

महेन्द्रनगर, फागुन १ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकामा प्रस्तावित सुख्खा बन्दरगाह त्रिदेशीय रणनीति अनुसार निर्माण हुने बताउनुभएको छ । 

सोमबार यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सो बन्दरगाह निर्माणपछि सुदूरपश्चिम प्रदेशका साथै समग्र मुलुकको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।


“सुख्खा बन्दरगाह त्रिदेशीय साझेदारीको रणनीति अनुसार निर्माण हुनेछ”, उहाँले भन्नुभयो, “हामी भारत र चीनको विकासबाट लाभ लिने उपायको खोजीमा छौँ, यो रणनीति अघि बढाउन बन्दरगाहले सहयोग पुर्‍याउने विश्वास छ ।” उहाँले सुख्खा बन्दरगाहले नेपाल, भारत र चीन तीन वटै देशलाई फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले बन्दरगाह निर्माणलाई उच्च प्राथमिकता दिएको बताउनुभयो । उहाँले हालै यसको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए)को काम सकिएकाले समयमै निर्माण पूरा हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

“एमओयूमै भारत सरकारले तीन वर्षमा बन्दरगाह निर्माण गर्ने भनिसकेकाले मलाई निकै खुसी लागेको छ”, उहाँले भन्नुभयो, “यसबाट सुदूरपश्चिमका साथै मुलुकको विकासमा ठूलो योगदान पुग्नेछ ।”


दोधारा–चाँदनी नगरपालिका वडा नं १, २ र ३ मा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती वनक्षेत्रको जग्गा प्रयोग गर्ने गरी नेपाल इन्टरमोडल यातायात विकास समितिले सुख्खा बन्दरगाहको ईआईएमा सुझाव माग गरेको छ ।

प्रस्तावित आयोजनाले वन क्षेत्रको एक सय ८९ हेक्टर जग्गा भू–उपयोग परिवर्तन हुने भनी प्रस्ताव गरेको छ । सुख्खा बन्दरगाहमा  सडक, रेल्वे प्लेटफर्म, गोदाम, पार्किङ क्षेत्र, भन्सार, तौल पुल, कन्टेनर यार्ड, यात्रु टर्मिनल, पशुपन्छी/खाद्य जाँच केन्द्र प्रयोगशाला, बैङ्क, प्रहरी केन्द्र तथा प्रशासनिक भवन निर्माण हुनेछन् ।


जसमा गोदामको क्षेत्रफल आयाततर्फ सात हजार वर्गमिटर, निर्यातका लागि दुई हजार पाँच सय वर्गमिटर, रेल्वे वेयर हाउस १७ हजार पाँच सय वर्गमिटर र १० हजार वर्गमिटर क्षेत्रफलको कन्टेनर स्ट्याकिङ यार्ड निर्माण हुनेछ । उक्त अवसरमा प्रधानमन्त्री दाहालले महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको समेत निरीक्षण गर्नुभएको थियो ।