राधाकृष्ण डुम्रे
वालिङ, फागुन १ गते । स्याङ्जाको वालिङ नगरपालिकाले बजारमा अव्यवस्थित रुपमा रहेका टेलिफोन तथा इन्टरनेटका तार व्यवस्थापन गर्न सुरु गरेको छ । नगरपालिकाले वालिङकामोड, मिर्दी बजार, तल्लो वालिङ, भकुण्डेलगायतका ठाउँमा अव्यवस्थित रुपमा रहेका तारहरु व्यवस्थापन गरिएको हो । बजारका अन्य क्षेत्रमा रहेका तारहरु समेत क्रमशः व्यवस्थापन गरिँदै लगिने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले पटक–पटक अनुरोध गर्दा बेवास्ता गरेपछि गत भदौमा सम्बन्धित सङ्घसंस्थालाई ३५ दिनभित्र अव्यवस्थित तार हटाउन पालिकाले निर्देशन दिएको थियो ।
केवल, इन्टरनेट तथा टेलिफोन सेवा प्रदायक संस्थाहरुले छरपस्टरुपमा राखिएका तारहरुले बजार नै कुरुप देखिएको भन्दै गुनासो आएपछि पालिकाले यसतर्फ काम सुरु गरेको हो । बिजुलीका पोल र छरपस्ट तारहरुका कारण दुर्घटनाको खतरासमेत थियो ।
पटक–पटक अनुरोधलाई बेवास्ता गरेपछि तार व्यवस्थापन गर्न बाध्य भएको नगर प्रमुख कृष्ण खाँणले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘छरपस्ट तारका कारण दुर्घटनाको जोखिम बढेपछि हामीले सरोकारवालाहरुलाई निर्देशन दिएका थियौं । तर, उनीहरुले बेवास्ता गरेपछि नगरपालिकाले नै तारहरु हटाउने काम सुरु गरेको हो ।’’ केवल तथा इन्टरनेटको नियमितताका लागि अर्काे विकल्प खोज्न व्यवसायीलाई भनिएको खाँणको भनाइ छ ।
नगरपालिकाले बजारलाई सफा र व्यवस्थित गराउनका लागि विभिन्न काम सुरु गरेको नगरउपप्रमुख कविता तिवारीले जानकारी दिनुभयो । अव्यवस्थित पार्किङ बाहिरसम्म समान निकालेर बिक्रीका लागि राख्ने जस्ता कार्यलाई निरुत्साहित गर्न लागि परेको उपप्रमुख तिवारीको भनाइ छ ।