पर्वत समाचारदाता
पर्वत, फागुन १ गते । पर्वतमा आगामी फागुन ११ गतेदेखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ। स्वास्थ्य कार्यालयका निमित्त प्रमुख सन्तोष पौडेलले यस वर्ष अन्तिम चरणमा औषधि खुवाउन थालिएको जानकारी दिनुभयो।
२०६४ सालबाट सो औषधि सेवनको थालनी गरिएको थियो। स्वास्थ्य कार्यालयको फितलो अनुगमन र स्वास्थ्यकर्मीको लापरबाहीका कारण पर्वतमा अभियान सुरु भएको १३ वर्षसम्म हात्तीपाइले रोगको निवारण हुनसकेको छैन। १३औँ चरणमा पनि प्रभावकारी नभएपछि यस वर्ष १४औँ चरणमा हात्तीपाइले रोगविरुद्धको आम औषधि खुवाइने भएको छ।
औषधि लिएर गएका स्वास्थ्यकर्मीले हातहातमा औषधि लिने तर खाए/नखाएको अनुगमन नहुँदा अभियान प्रभावकारी हुन नसकेको गुनासो आएको छ। सामान्यतः तीनदेखि पाँच चरणसम्म नियमित अभियान चलाएर निवारण गर्ने गरिएको भए पनि पर्वतमा भने १३ पटकसम्म खुवाउँदासमेत प्रभावहीन भएको हो।
हात्तीपाइले अभियानका सम्पर्क व्यक्ति तेजप्रसाद सुवेदीका अनुसार हात्तीपाइले रोगको पूर्व परीक्षणमा ०.४ प्रतिशत जनसङ्ख्यामा यस रोगको जीवाणु देखिएको हुनाले यस वर्ष अन्तिम चरणमा आम औषधि खुवाउन लागिएको हो।
गत मङ्सिरमा यस जिल्लाको बढी जोखिम रहेको कुश्मा नगरपालिका–१ पाङमा ३२० जनाको नमुना परीक्षण गरिएकोमा एक जनामा हात्तीपाइलेको जीवाणु भेटिएको थियो। बिहादी गाउँपालिका–२ बर्राचौरमा ३१९ जनाको परीक्षण गरिएकोमा एक जनामा जीवाणु भेटिएको सुवेदीले जानकारी दिनुभयो।
गतवर्ष फलेवास नगरपालिका–५ खानीगाउँ पूर्व परीक्षणमा सफल भएको थियो। हात्तीपाइलेको जीवाणु एक प्रतिशतभन्दा कम जनसङ्ख्यामा देखिएमा रोग निवारण भएको मानिन्छ।
पर्वतमा ०.४ प्रतिशत सङ्क्रमण भएको हुनाले औषधि खुवाउने अभियान सफल भएको स्वास्थ्य कार्यालयको दाबी छ। हात्तीपाइले रोगविरुद्धको औषधि कुल जनसङ्ख्या एक लाख ३२ हजारमध्ये गर्भवती, सात दिनको सुत्केरी, जटिल बिरामी र दुई वर्षमुनिका बालबालिकाबाहेक सबैलाई खुवाइने भएको छ।
हालसम्म तीन पटक पूर्वपरीक्षण भइसकेको छ। स्वास्थ्य कार्यालयका अनुसार यस पटक १४औँ चरणको औषधि खुवाइसकेपछि पनि पुनः छ महिनामा ‘प्री टास्क’ गरिन्छ। यसरी गरिएको परीक्षणमा सफल भएमा मात्रै अभियान सम्पन्न हुने कार्यालयले जनाएको छ।
यस पटक पनि सफल हुन नसकेमा १५औँ चरणमा अहिले खुवाइने औषधिको दोब्बर मात्रा खुवाउनुपर्ने बाध्यता रहेकाले स्वतःस्फूर्त औषधि सेवन गर्न आग्रह गरिएको कार्यालय प्रमुख पौडेलले बताउनुभयो। औषधि खुवाउनका लागि कार्यालयबाट खटिएका स्वास्थ्यकर्मी, गाउँगाउँमा रहेका स्वास्थ्य संस्थाका कर्मचारी र स्वास्थ्य स्वयंसेविकाहरू परिचालन गर्ने गरिएको छ। अनुगमन गर्नका लागि अनुगमन संयन्त्र बनाइने गरेको भए पनि गाउँगाउँमा गएर निगरानी भने नहुने स्वास्थ्यकर्मीहरू बताउँछन्।